मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Sunday, 22 December, 2024
रोशन जनकपुरी
२o७८ कार्तिक ८ सोमबार o९:४८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

उत्सव, उल्लास र बजार

Read Time : > 4 मिनेट
रोशन जनकपुरी
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार o९:४८:oo

बजारवादले उत्सव र उल्लासलाई संवेदनाविनाको बजारको उत्सवमा परिणत गरिदिएको छ


बजार वस्तु बेच्ने थलो हो र बजारवाद एउटा प्रवृत्ति । यसले हरेक विचार, वस्तु, र व्यवस्थालाई खरिद–बिक्रीको साधनमा र मुक्त अर्थव्यवस्था र बजारलाई गति दिने नाममा सत्तालाई आफ्नो एजेन्टका रूपमा प्रयोग गरेर मानिसलाई नाफाको उपकरणका रूपमा हेर्छ । यसले प्रफुल्लता र आनन्दको माध्यम र अर्थ दुवैलाई मानवीय हार्दिकताभन्दा पनि आर्थिक मापकहरूको जिम्मा लगाइदिएको छ । 

सत्ता र पुरोहित वर्गको सहयोगले बजारबाट विकसित बजारवाद एउटा यस्तो विचारहीन व्यवस्था हो, जसले आफ्नो विस्तारसँगै मानवीय जीवनलाई आफ्नो पकडमा लिएर शोषण र छलको आर्थिक, वैचारिक र सांस्कृतिक आख्यान रच्दै जान्छ । बजारवादको सबैभन्दा ठूलो शत्रु विचार हो । त्यसैले यसले सबैभन्दा पहिलो निसाना यसैलाई बनाउँछ । यसका निम्ति उसले मानिसको मस्तिष्कमाथि कब्जा जमाउन रेडियो, टिभी, सामाजिक सञ्जाल तथा आधुनिक प्राविधिक विकास तथा आर्थिक र सामाजिक वृत्तिविकासको खोजीमा रहेको नागरिक समाजलाई चतुर्‍याइँपूर्वक प्रयोग गर्छ ।

अखबारहरूमा दसैँको विज्ञापन सम्झिनुस् । देवी दुर्गाको आकृति, एउटी लोभलाग्दी गोरी युवती, जसका कानमा जमरा र निधारमा रातो टीका, चंगा, पिङ । यतिसम्म दसैँको पारम्परिक चित्र त परिचित छ । तर, विज्ञापनमा दसैँ यतिमै रोकिन्न । कुनै बहुराष्ट्रिय ब्रान्डेड मदिरा वा कोकाकोला वा पेप्सीजस्तै पेयपदार्थ र विविध राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनीहरूका अनलाइन बजारहरूले घोषणा गरेको बम्पर छुटले सिर्जेको खरिद अफरका आकर्षण पनि दसैँको परिभाषामा सामेल हुन्छन् । तात्पर्य के हो भने दसैँ अब पुरातन मानसिकताको हिन्दू समाजको देवीहरूको पूजा मात्र होइन, विविध प्रकारका तामझाम, बिलासी वस्तुहरूको विज्ञापन र खरिद–बिक्रीको बम्पर बजार पनि हो, जसको व्यवस्थापनमा स्थानीयदेखि सत्ताको माथिल्लो स्तरका जनप्रतिनिधि, सरकार, प्रहरी, सेना, नागरिक समाज र सामाजिक संघसंस्था व्यस्त हुन्छन् । 

विगतका केही वर्षमा दसैँमा तराईका गाउँमा ‘जय माता दी’ लेखिएका फेटा बाँधेका केटाकेटी, युवायुवती, प्रौढ पुरुष र महिलासमेतले टाउकामा घैँटो राखेर कलशयात्रा गरिरहेको सयौँ र हजारौँको जुलुस फेसनजस्तै बढेको छ । यस्ता आयोजनमा पनि ठूलादेखि साना नेता या धनाढ्य समाजसेवीहरू प्रमुख अतिथि, विशेष अतिथि र अतिथिका रूपमा सहभागी हुन्छन् र सम्मानित हुन्छन् । भोजभतेर हुने गर्छ । यस्ता कार्यक्रमका निम्ति केन्द्रदेखि स्थानीय सरकारहरूले बजेट पनि छुट्याएका हुन्छन् । यस अवसरमा केन्द्रदेखि स्थानीयस्तरका मिडियाले शुभकामना विज्ञापन छाप्छन् । यसका निम्ति देशभरि भएको खर्चको अनुमान गर्ने हो भने अर्बभन्दा निकै बढी नै पुग्छ, र यो हरेक वर्ष हुन्छ । सरकारी तथ्यांकले बर्सेनि भोक, रोग र आवासको अभावमा लाखौँ मानिसको ज्यान गएको देखाउँछ, तर धार्मिक अफिमीपना र बजारवादले सिर्जित संवेदनाहीन मनोविज्ञानका कारण यी खर्च हामीलाई न त अपव्यय, न भ्रष्टाचार नै लाग्छन् । 

दसैँ पहाडिया बाहुन र खस समुदायका निम्ति सबैभन्दा महत्वको पर्व हो । सत्तामा उनीहरू नै हाबी हुँदै आएको हुनाले पारम्परिक शासकवर्गले यसलाई राष्ट्रिय पर्वको दर्जा दिएर सत्ताको भव्यतासहित मनाउँदै आएको हो । पहाडमा दसैँमा ऋण काढेर भए पनि दसै दिन चिउरा, मासु सबैले खानैपर्ने, नयाँ लुगा लगाउनैपर्ने, टीकामा नयाँ नोट दक्षिणा दिनु र जुुवा खेल्नु सामाजिक चलनजस्तै छ । हुन त कोजाग्रत पूर्णिमाको राति एक हात कौडा हान्नैपर्ने चलन तराईका पुराना अभिजात्यमा पनि पाइन्छ । तर, तराईका हिन्दू समुदायका निम्ति उल्लासका दृष्टिले छठ र दीपावली दसैँभन्दा ठूला पर्व मानिन्छन् ।

तर, बजारवादको आख्यानले दसैँदेखि छठपर्वसम्मको उत्सवलाई एउटै सूत्रमा गाँसिदिएको छ । तराईमा विगतमा सामान्य सरसफाइ गरेर गाउँटोलका मानिसले कुनै थान वा गह्वरमा दिउँसो र साँझ कुनै भगतबाट भगतै (देवी देउता र भूतप्रेतहरूको गीति आख्यान) सुन्ने, कामिरहेका धामीमाथि चढेका देवीदेउता गुहारेर अक्षता लिएर कामना पूरा हुने आशा राख्ने तथा भाकल गरेको बोका बलि दिएर, झिझिया नाचेर उल्लासभन्दा पनि भय र आस्थाको पर्वका रूपमा दसैँ मनाउने गरिन्थ्यो । तर, अब तराईमा पनि दसैँ भव्यतापूर्वक मनाइन्छ । गाउँघरका रंगीचंगी र आधुनिक विद्युतीय सजावटले झलमल्ल थान र गह्वरहरूमा भगतहरू करताल बजाएर अहिले पनि भगतै गाइरहेका हुन्छन्, तर अब डिजेको ‘कानफाडु’ स्वरले उनीहरूलाई जितिरहेको हुन्छ ।

दसैँ अब पुरातन मानसिकताको हिन्दू समाजका देवीहरूको पूजा मात्र होइन, विविध प्रकारका तामझाम, बिलासी वस्तुहरूको विज्ञापन र खरिद–बिक्रीको बम्पर बजार पनि हो

तराईमा पहिले दसैँमा स्थानीय शिक्षित युवाको समूहले कुनै समस्यामूलक नाटक वा लोककलाकारले लोकनाच वा गाथा प्रस्तुत गर्थे । अब आर्केस्ट्राहरूको चलन बढेको छ । यस्ता अधिकांश आर्केस्ट्रामा देवीको भजनबाट सुरु भएको कार्यक्रम यौन उत्तेजनाले भरिएका गीतहरूबाट चरमोत्कर्षमा पुग्छ र मात्तिएका आयोजक युवाहरू सीमापारिबाट मगाइएका व्यावसायिक नर्तकीसँग मैमत्त नाचिरहेका हुन्छन् । यो उल्लासको बजारवादी चेतना हो र यो सहर हुँदै गाउँ पसेको हो । सहरमा त गाउँभन्दा पनि भव्य हुने गर्छ । दसैँ उत्सवमा सहरमा भाडामा ल्याइएका कलाकारले जागरणमा अबेर रातिसम्म विविध भजन गाउने गर्छन् । यद्यपि ती भजनमध्ये अधिकांश हिन्दी सिनेमाका गीतहरूको प्यारोडी हुने गर्छन् र यी गीत सुनेर तपार्इंको मनमा ‘बिडी जलाइले जिगर से पिया’ र ‘भिँगे होठ तेरे’ जस्ता सरस भाव पनि जन्मिन सक्छन् । 

तराईमा अस्तित्व र पहिचानको चेतनासँगै भाषिक चेतनामा पनि वृद्धि भएको छ र केही वर्षदेखि स्थानीय भाषाका गीतहरूको उपस्थिति पनि बढ्दो छ । तर, प्यारोडीको वर्चस्व अझै छ । अब यसमा भोजपुरीको ‘लगैलेबा लिपिस्टिक’को प्यारोडीभाव पनि सामेल हुने गर्छ । दसैँ त एउटा प्रतीक मात्र हो, होइन भने यो दीपावली र छठदेखि फगुआ(होली)सम्म प्रत्येक पर्व र उत्सवको प्रतिनिधि चित्र हो । र, उत्सव र उल्लासको यस प्यारोडीलाई समाजले सहज रूपमा ग्रहण गरिरहेको छ । उत्सवका यी विवरण तपार्इंलाई धार्मिक आस्थाविरुद्ध कुराहरू जटिल बनाउने प्रयासजस्तो लाग्न सक्छ । तर, समयसँगै परम्पराको नाममा असामान्य आर्थिक भव्यता हामीले स्विकार्दै गएको तथ्यलाई तपार्इं उपेक्षा गर्न सक्नुहुन्न । 

परम्परागत उत्सवहरूमा राजनीति हुनुहुँदैन भन्ने कुरामा असहमत हुने प्रश्नै उठ्दैन । तर, देवी–देउताको प्रतिमालाई बहुमूल्य वस्त्र, सुन र हिराका गहनाहरू जब पहिराइन्छ र जनप्रतिनिधिहरू यसलाई समर्थन गर्छन्, अनि यसका पछाडि कैयौँ सामाजिक सरोकारहरू उपेक्षित हुने गर्छन् । यी उत्सवहरूमा गरिने खर्च र आम्दानीको स्रोत के हो ? यो कालोधनलाई सेतो पार्ने तथा नयाँ कालोधन जम्मा गर्ने प्रक्रिया त होइन ?

उत्सवको झल्मल्लमा भोथो चेतनाले अभिभूत ‘धर्मभिडु’ जमातमध्ये कसैले यी प्रश्नबारे सोच्नै चाहँदैन । कुनै राजनेताले प्रश्न उठाउने कुरै आउँदैन, किनभने उत्सव आयोजकले उनीहरूका निम्ति मञ्च आयोजन गर्छ, उनीहरूको विशाल तस्बिरको होर्डिङ बोर्डहरू झुन्ड्याउँछ । त्यसैले त यस्ता आयोजनमा सरकारी आर्थिक सहायता तथा बिजुली निःशुल्क उपलब्ध गराइएको हुन्छ । भन्नुपरेन, यी सारा आयोजनमा बजार प्रायोजक बनेर विज्ञापन बोर्ड, सहुलियत दरका प्रचार बिक्री काउन्टरका रूपमा विराजमान हुन्छ । यो बजारवादले सिर्जेको परम्परागत उत्सवको आधुनिक चित्र हो ।

हाम्रो देश अन्य विविध सरोकारमा विभाजित र अन्तर्विरोधी भए पनि बजारको स्तरमा एक छ । जब टुप्पीदेखि पैतालासम्म नाफामा डुबेका पुँजीपतिले ‘हामी देशका निर्माता हौँ’ भनेर आफूलाई सामूहिक रूपमा विज्ञपित गर्छन्, नागरिक समाज, राजनीतिक समाज तथा पुरोहित र पुजारीहरूले उनीहरूलाई अभिनन्दन गर्छन्, अनि उत्सवको बजारु राष्ट्रियताको अन्तर्य खुल्छ । यो संविधानमा भनिएजस्तै राष्ट्र भनेको जनता हुँदैन, बरु बजार र पुँजीपति हुने गर्छ ।

बजारले मानिसलाई विचारहीन उपभोक्तामा परिणत गरिदिएको छ र राजनीतिलाई आफ्नो नियन्त्रणमा लिएर, लोकतन्त्रलाई प्रहसन र सत्तालाई आफ्नो प्रबन्धकमा परिणत गरिदिएको छ । यसले मिडिया र सामाजिक सञ्जाल उसका दासजस्ता र सिनेमा, संगीत, र खेलकुदलगायत सार्वजनिक जीवनका लोकप्रिय ‘स्टार’हरूलाई सेल्स एजेन्ट बनाएको  छ । इतिहासमा बजार यति शक्तिशाली कहिल्यै थिएन । अहिले विश्वका सबै संस्कृति, सभ्यता, विज्ञान, कला र साहित्यलाई मानवीय हित र शोषणबाट मुक्तिको उपकरणभन्दा पनि बजारमा बिक्ने माल र विचारकहरू सत्ताको अनुमतिमा बजारको प्रतीकजस्ता भएका छन् । 

विचारमाथि बजारको यो हमला पहिलोपटक भने होइन । तर, अहिले स्थिति गम्भीर छ । यसले वर्तमान पुस्तालाई विचारहीन बनाउँदै छ र विरोधमा उभिने विचार, व्यक्ति र समूहलाई शंकाको दृष्टिले हेर्छ । यद्यपि बजार र सत्ताको यस गठजोडविरुद्ध मानवीय गरिमाका निम्ति वैचारिक संघर्षको विकल्प छैन । किनभने बजारवादले उत्सव र उल्लासलाई संवेदनाविनाको बजारको उत्सवमा परिणत गरिदिएको छ र संवेदनाविनाको मानिसको कल्पना गर्नै सकिँदैन ।