
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितको पीडा सम्बोधन हुने बताएका छन् । बिहीबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनीका बाढीपीडितलाई सम्बोधन गर्दै देउवाले पीडितको सरकारले पुनस्र्थापना गर्ने बताए । ‘बाढी र पहिरोले देशभरि पीडा दिएको छ,’ देउवाले भने, ‘यहाँबाट फर्किएर पीडितको पीडा सम्बोधन हुन्छ ।’
कटान र डुबान क्षेत्रका जनताको समस्या समाधानका लागि सरकार तयार रहेको उनले बताए । देउवासहित अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेसहितले बाढीपीडितको संयुक्त अनुगमन गरेर काठमाडौं फर्केलगत्तै समस्या समाधानतर्फ केन्द्रित हुने बताए । उनीहरूले नेपाली सेनाको हेलिकोप्टरबाट सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका हुन् ।
दोधाराचाँदनीका मेयर वीरबहादुर सुनारले महाकाली नदी नियन्त्रणका लागि तटबन्धको माग अघि सार्दै ज्ञापनपत्र बुझाएका छन् । बाढीबाट हरेक वर्ष समस्या भइरहेको भन्दै सुनारले दीर्घकालीन समस्या समाधानका लागि आग्रह गरे ।