गण्डकी विश्वविद्यालयले कोदो र कोदोबाट बनाइने मदिराजन्य पदार्थको विषयमा अनुसन्धान थालेको छ । अन्नबाली कोदोको खेती विस्तार गर्ने र नेपालका आदिवासी जनजाति समुदायमा प्रचलित कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा विश्वविद्यालयले अनुसन्धान गरिरहेको विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए । यो अनुसन्धानले खेर गइरहेको पहाडी क्षेत्रको बाँझो जमिनको उपयोग गर्दै कोदोको बाली विस्तारमा सहयोग पुर्याउनेछ ।
साथै यहाँका आदिवासी जनजातिले उत्पादन गर्ने कोदोको मदिराजन्य पदार्थलाई ब्रान्डिङ गर्न सफल हुने उनले बताए ।
कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको अनुसन्धानले विदेशबाट आउने महँगा मदिरालाई विस्थापित गर्न सघाउ पुर्याउने उनको दाबी छ । ‘हाम्रो विश्वविद्यालयले स्थापनाको छोटो समयमै कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा अनुसन्धान थालेको छ । यसबाट यहाँ खेर गइरहेको बाँझो जमिनमा कोदोको खेती विस्तार हुने र आदिवासी जनजाति समुदायमा प्रचलित मदिरा बनाउने सीपलाई आधुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय रूपमै ब्रान्डिङ गर्दै विदेशी महँगो मदिराको आयात प्रतिस्थापन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
कुलपति प्राडा गुरुङले यो अनुसन्धानले पहाडी क्षेत्रमा वर्षौँदेखि स्थानीय तरिकाले मदिरा उत्पादन गर्ने गरेका आदिवासी जनजातिका साथै खेर गइरहेको जमिनमा कोदो खेतीमार्फत उपयोग गर्दै मुलुककै अर्थतन्त्रमा कायापलट हुन सक्ने तर्क गरेका छन् । अनुसन्धानका लागि सम्बन्धित क्षेत्रका विज्ञ समूह लागिपरेको उनले जानकारी दिए ।
अनुसन्धानका लागि १५ जनाको विज्ञ टोली
कोदो, कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा अनुसन्धान गर्न गण्डकी विश्वविद्यालयले विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक सहप्रध्यापक डा. देवप्रसाद पाण्डेको नेतृत्वमा १५ जनाको विज्ञ टोली खटिएको छ । उक्त टोलीमा डा. सागर रेग्मी, राकेश कुशमा, डा. रामचन्द्र पौडेल, प्राडा दुर्गा देवकोटा, विश्वविद्यालयका रजिस्टार डा. कैलाश तिमिल्सिना, डा. नुवादत्त सुवेदी, डा. ढाकाराम भण्डारी र नवराज देवकोटालगायत छन् । कोदो र कोदोको मदिराजन्य पदार्थका विभिन्न पक्षसँग सम्बन्धित अनुसन्धान बढाउने काम विज्ञहरूले गरिरहेको अनुसन्धानको नेतृत्वकर्ता डा. पाण्डेले बताए ।
उनका अनुसार अहिलेसम्म कोदोको मदिराजन्य पदार्थ बनाउने विभिन्न समुदायसँग पुगेर अनुसन्धानलाई अगाडि बढाइएको छ । आफूहरूले कोदोको मदिराजन्य पदार्थ सेवन गर्दा ज्यान गुमाउने गरेका घटनाका कारण त्यसमा हुन सक्ने विषाक्त वा हानिकारक तत्वको विषयमा पनि अनुसन्धालनलाई केन्द्रित गरिएको उनको भनाइ छ । ‘विभिन्न ठाउँमा कोदोको मदिराजन्य पदार्थ सेवन गर्दा मानिसको ज्यानसमेत गुमेका घटना छन् । त्यो कसरी भइरहेको छ भन्ने विषयमा पनि हामीले अनुसन्धान अगाडि बढाएका छौँ,’ उनले भने । डा. पाण्डे स्वयं विषशास्त्रका विज्ञ हुन् । उनले सर्पदंशको विषयमा पिएचडी गरेका हुन् । विष र मदिरामा हुने विषको सम्बन्ध के हुन सक्छ भन्ने दृष्टिले समेत अनुसन्धान गरिरहेको उनले बताए ।
पाँच जिल्लाका आदिवासी जनजातिका ८५ घरधुरीबाट नमुना संकलन
गण्डकी विश्वविद्यालयले कोदो र कोदोको मदिराजन्य पदार्थको अनुसन्धानका लागि जनजाति समुदायका परम्परागत मदिरा उत्पादन गर्ने ८५ घरधुरीबाट नमुना संकलन गरेको छ । प्रदेशका विभिन्न पाँच जिल्लाबाट यस्तो नमुना संकलन गरिएको हो ।
विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक डा. देवप्रसाद पाण्डेले नवलपुर, लमजुङ, कास्की, स्याङ्जा र म्याग्दीका आदिवासी बाहुल्य बस्तीबाट नमुना ल्याएको जानकारी दिए । ‘हामीले पाँच जिल्लाका विभिन्न जनजाति बाहुल्य बस्तीमा पुगेर जहाँ परम्परागत ढंगले मदिराजन्य पदार्थ उत्पादन हुन्छ, त्यहाँ पुगेर उहाँहरूका अनुभव सुन्ने, प्रक्रिया बुझ्ने र नमुना संकलन कार्य गरेका छौँ । त्यसको सुरक्षित ढंगले सूक्ष्म अनुसन्धान गर्छौँ,’ उनले भने ।
अनुसन्धानमा पाँच करोड खर्च हुने
विश्वविद्यालयले कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको अनुसन्धानका लागि पाँच करोड खर्च लाग्ने जनाएको छ । अनुसन्धानको नेतृत्वकर्ता डा. पाण्डेले उक्त खर्चभित्र तीनजनालाई यसै विषयमा विद्यावारिधि (पिएचडी) गराइनेसमेत जानकारी दिए । उनका अनुसार अहिलेसम्म अनुसन्धानमा ४० लाख रुपैयाँ खर्च भइसकेको छ ।
अनुसन्धानको काम सक्न डेढ वर्षको समय लाग्ने उनले जानकारी दिए । नमुना संकलनको काम सकिएको र अब कोदो फुल्ने वेला भएकाले कोदोको उत्पादनको विषयमा समेत अनुसन्धान गरिने उनले जानकारी दिए । कोदोको मदिराजन्य पदार्थको अनुसन्धानले सिंगो देशलाई नै समृद्ध बनाउने तथ्य बाहिर ल्याउने उनको दाबी छ ।