१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज २५ सोमबार १७:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नैतिकता देखाएर राजीनामा नदिए मुख्यमन्त्री आचार्यविरुद्ध कडा रूपमा प्रस्तुत हुने गठबन्धनको चेतावनी

प्रदेश सभा सभामुख भण्डारी आचार्यको सारथी बनेको आरोप

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज २५ सोमबार १७:५७:००

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार असंवैधानिक रूपमा सञ्चालन भैरहेको भन्दै विपक्षी गठबन्धनले भर्त्सना गरेको छ। सोमबार प्रदेश सभाको हलमा पत्रकार सम्मेलन गर्दै विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चले मुख्यमन्त्री आचार्यलाई तुरुन्त राजीनामा दिन माग गरेको छ।

नियुक्त भएको ३० दिन बितिसक्दा समेत उनले विश्वासको मत नलिई असंवैधानिक रूपले सरकारमा बसिरहेको गठबन्धनको ठहर छ । दल विभाजन भएको मितिले ३० दिन (८ असोज) र निर्वाचन आयोगले प्रदेश सभालाई दल सनाखत भएको औपचारिक जानकारी गराएको २४ असोजको मिति पनि गुजारी सकेकोले सरकार पूर्ण रूपले असंवैधानिक भइसकेको उनीहरूको दाबी छ।

असंवैधानिक सरकारले गरेका सबै नियुक्ति र निर्णय नयाँ सरकार बनेपछि खारेज गर्ने भन्दै विपक्षी गठबन्धनले कुनै पनि अपारदर्शी निर्णय प्रक्रियामा सामेल नहुन कर्मचारीहरूलाई आग्रह गरेको छ। एमाले र जनता समाजवादी दल औपचारिक रूपले ९ भदौमा विभाजन भएपछि मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर एमालेले भीम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेको थियो। 

संविधानअनुसार नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भए पनि उनले अझै लिएका छैनन् । उल्टै उनले २२ असोजमा बोलाएको हिउँदे अधिवेशन दुई दिन मात्र सञ्चालन गराएर मिति परिवर्तन गरेर बैठक स्थगित गराएका छन् । असंवैधानिक भइसकेको सरकारको निर्देशनमा मिति परिवर्तन गरेर प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक स्थगित गर्ने प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी पनि उनको सारथी बनेको विपक्षीको आरोप छ ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले नैतिकता देखाएर राजीनामा नदिए ५ कात्तिकपछि कठोर रूपले प्रस्तुत हुने चेतावनी दिएका छन् । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङबोले आफूहरूले सरकारले जस्तो संविधान उल्लंघन नगर्ने, तर ५  कात्तिकसम्म पनि निकास नआए कानुनी र संघर्ष दुबै बाटो कठोर भएर अवलम्बन गर्न बाध्य हुने बताए ।

विपक्षी गठनबन्धनका नेताहरूले प्रदेश सरकारले चालेको असंवैधानिक कदमविरुद्ध सोमबार प्रदेश प्रमुखलाई भेटेर ध्यानाकर्षण गराउने योजना बनाएका थिए । तर, प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी त्यसअघि नै बिदा लिएर काठमाडौं फर्किसकेका थिए् । 

'मुख्यमन्त्री समाजवादीकै'
कांग्रेस संसदीय दलका नेता कोइरालाले प्रदेश १ मा एकीकृत समाजवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए । केन्द्रीय तहबाटै बागमती र एक नम्बर प्रदेशमा एकीकृत समाजवादीकै नेतृत्वमा सरकार बन्ने सहमति भैसकेकोले सोहीअनुसार हुने बताए । पत्रकारमाझ नेता कोइरालाले भने, ‘यहाँ सहमतिबाहेक कुनै दायाँबायाँ हुँदैन, कसैले हल्ला गर्न र पछि लाग्न आवश्यक छैन ।’