मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ असोज २५ सोमबार o७:३९:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुख्य सडकका दुर्दशाले दसैँमा घर फर्किनेलाई सास्ती

यो वर्ष पानी धेरै परेकाले लामो दूरीका सडक जोखिमपूर्ण अवस्थामा, सडकमार्गबाट समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था भएपछि हवाई यात्रा गर्ने बढे

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार o७:३९:oo

देशका मुख्य राजमार्गमा पहिरोले भत्काउँदा र ठुल्ठूला खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन समस्या भएको छ । जसकारण दसैंका बेला गाउँघर फर्केका सर्वसाधारणले सास्ती खेप्नु परेको छ । पृथ्वी राजमार्ग, नारायणगढ–बुटवल सडकखण्ड, अरनिको राजमार्ग, पासाङल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले सवारीसाधनमा यात्रा गर्नेले सास्ती खेपेका हुन् । बर्खामा गएको पहिरोले सडक कटान गर्दां तथा माटोढुंगा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसकारण लामो दूरीका सडकमा यात्रु गर्ने घन्टौं जाममा पर्नुपरेको छ । 

अहिले लामो दूरीका सबैजसो सडक कहीँ न कहीँ भत्किएका छन् । सडकमा खाल्डाखुल्डी तथा एकतर्फ हुँदा दसैँका घर फर्कने यात्रुहरूले दुःख पाउने गरेका छन् । वर्षात् भर्खर सकिएकाले सडक तत्काल मर्मत गर्न कठिन भइरहेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो समयमा सबैजसो सडक एकतर्फी रूपमा सञ्चालन भएको जानकारी दिए । उनले भने, ‘अहिले सबैजसो सडकमा खाल्डाखुल्डी छन्, कहीँकतै पुर्ने काम पनि भइरहेको छ, पानी परिरहेका कारण समयमै सडक मर्मत गर्न नसकिएको हो ।’

सडक अप्ठ्यारो भएर यात्रा गर्न कठिन हुने भएपछि महँगो भए पनि सर्वसाधारणले हवाई यात्रा रोज्न थालेका छन् । लामो दूरीको सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेको र समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था भएपछि हवाई यात्रा गर्नेहरूको संख्या बढेको हो । दसैँ सुरु भएसँगै अन्य दिनको तुलनामा हवाई यात्रा गर्नेको संख्या दोब्बर छ । यो समयमा वायुसेवा कम्पनीहरूले अन्य समयमा भन्दा बढी उडान भर्न थालेका छन् । दसैँ सुरु भएयता बुद्ध एयरले दैनिक एक सय ४२ भन्दा बढी उडानमार्फत नौ हजारभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले १५ वटा जहाजमार्फत उडान भर्दै आइरहेको जानकारी दिए । यो वर्ष दसैँका टु–वे नै यात्रुको चाप उस्तै रहेको उनको भनाइ छ । 

 बेहाल नारायणगढ–बुटवल सडकखण्ड
नारायणगढ–बुटवल सडकखण्ड निर्माण कार्य सुरु भएको साढे दुई वर्षमा आठ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीकै ढिलासुस्तीले पूर्व–पश्चिम जोड्ने राजमार्ग चौडा तथा मर्मत कार्य समयमै हुन नसकेको हो । लामो समयदेखि निर्माण कार्य सुरु भएको सडकखण्ड नबन्दा दसैँको वेला घर फर्कने यात्रुहरूले निकै सास्ती खेप्नुपर्ने भएको छ । करिब तीन घन्टामा पार गर्न सकिने यो सडकखण्ड अहिले पार गर्न पाँच घन्टाभन्दा बढी समय लाग्छ ।

चितवन नारायणगढदेखि बुटवलसम्म पुग्दा कैयौँ खाल्डाखुल्डी छन् । ०७५ फागुनमा सुरु भएको यो आयोजनाको म्याद ०७९ साउनमा सकिँदै छ । तर, ४२ महिनाको समयसीमा राखेर निर्माण कार्य भइरहेको यो सडकखण्डको प्रगति जम्मा आठ प्रतिशत मात्रै भए पनि एक अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई दिइएको छ ।

ठेकेदार कम्पनीले दुई खण्ड छुट्याएर सडक चौडा पार्ने कार्य सुरु गरेको थियो । जसमा पूर्वी–खण्डअन्तर्गत नारायणगढदेखि दाउन्नेसम्म ६५ किमि र पश्चिम–खण्डमा दाउन्नेदेखि बुटवलसम्म ४८ किमि सडक पर्छ । तर, दुवै खण्डको कार्य प्रगति हेर्दा जम्मा आठ प्रतिशत मात्रै काम भएको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्ष अत्यधिक वर्षा भएकाले सडक चौडा तथा मर्मत कार्य ढिलो भएको बताए । हाल २२ वटा पुल र एक सय २० वटा कल्भर्टको काम भइरहेको छ । बुटवलतर्फ १३ किमि मात्रै सडक चौडा पारिएको छ । दुवै खण्डतर्फ ४५ जना चिनियाँ र पाँच सय हाराहारी नेपाली कामदार खटिएका छन् । आगामी चार महिनाभित्र सडक साइटका बिजुलीका पोल हटाउने लक्ष्य राखिएको छ । 

सडक असुरक्षित छ 
 सरोज सिटौला, महासचिव, यातायात व्यवसायी राष्ट्रिय महासंघ 

दसैँ सुरु भएसँगै आमसर्वसाधारण गाउँघर फर्कने क्रम सुरु भएको छ । गन्तव्यमा सहजै पुग्न उनीहरू भरपर्दो सडक–सवारीको खोजीमा छन् । तर, हाम्रो सडक हेर्दा यात्रा गर्न मन नलाग्ने किसिमका छन् । दसैँको मुखमा सडक नबनाउँदा आमयात्रु व्यवसायीहरूले दुःख खेप्नुपर्छ । 

 

चिनियाँ कम्पनीले वर्षात्को वेला काम रोक्ने रहेछन्
 शिवप्रसाद नेपाल प्रवक्ता सडक विभाग 

यो वर्ष अत्यधिक वर्षा भएकाले सडक चौडा तथा मर्मत कार्य ढिलो भयो । हामीले ठेकेदार कम्पनीलाई घचघच्याएकै छौँ, तर उनीहरूको काम गर्ने तरिका निकै फरक रहेछ । वर्षात्को वेला काम रोक्ने रहेछन् । हाम्रो डिजाइन र उनीहरूको काम गर्ने डिजाइन फरक परेकाले समस्या भएको छ ।

दसैँको वेलामा बाहिरिने र उपत्यका भित्रिनेको संख्या उस्तै 
हरेक वर्ष घटस्थापनापछि उपत्यका बाहिरिनेको संख्या बढ्छ । यस अवधिमा निकै कम मानिस काठमाडौं प्रवेश गर्छन् । तर, यो वर्ष दसैँ सुरु भएसँगै उपत्यका बाहिरिने र भित्रिनेको संख्या उस्तै छ । घटस्थापना सुरु भएदेखि उपत्यका प्रवेश गर्नेको संख्या पनि बढेको छ । दसैँको वेला बाहिरिने यात्रुहरूको संख्या बढी हुनुपर्नेमा भित्रिनेको संख्या पनि बढेको देख्दा ट्राफिक प्रहरीले संख्याबारे अनुमान गर्न सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० असोजयता आइतबार साँझसम्म पाँच लाख ९० हजार ९९ जना यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिनेको संख्या पाँच लाख एक हजार नौ सय छ । दसैैँका वेला उपत्यका भित्रिनेको संख्या बढी हुनुमा वैदेशिक रोजगार हुन सक्ने प्रहरीको अनुमान छ ।

‘जति मानिस उपत्यका बाहिरिएका छन्, त्यति नै संख्यामा भित्रिएका छन्, यो वर्ष कति यात्रुले उपत्यका छाड्छन् भन्ने अनुमान गर्न मुस्किल छ,’ महाशाखाका एसपी सञ्जीव शर्मा दासले भने, ‘विगतका वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन जानेको संख्या कम हुने हाम्रो अनुमान छ, जति बाहिरिएका छन् उति नै भित्रिएका पनि छन् ।’ उनका अनुसार बिहीबार करिब ६० हजार र शुक्रबार ५० हजार मानिस बाहिरिएका छन् । फूलपातीदेखि यो संख्या दोब्बर हुने अनुमान गरिएको छ । जागिरे तथा व्यापार व्यवसाय गर्ने मानिसहरू दसैँ सकेर मात्रै घर फर्कने गर्छन् । 

 ग्रामीण सडकमा सास्ती
सिन्धुपाल्चोकबाट रामकृष्ण थापा

दसैँ मनाउन राजधानीबाट गाउँ फर्कनेको भिड बढेको छ । काठमाडौंमा बसपार्क नभएकाले सिन्धुपाल्चोक आउने गाडी पाउन जिल्लावासी कोटेश्वरआसपास घन्टौँ कुर्न बाध्य छन् । सदरमुकाम चौतारा र क्षेत्रीय केन्द्रहरू मेलम्ची, बाह्रबिसे र जलवीरेबाट गाउँगाउँ पुग्ने सडकको यात्रा कष्टकर छ । दसैँका लागि राजधानीलगायत ठाउँबाट आउने यात्रुले गाउँसम्म पुग्दा अनेकन सास्ती व्यहोर्नुपर्छ ।

स्थानीय राम श्रेष्ठले बाह्रबिसेबाट बुदेपा, कर्थली र पलाँतीमाथिका गाउँ जान जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको बताए । चौताराबाट नवलपुर पुग्ने सडक कष्टकर छ । त्यस्तै, चौताराबाट बतासे र सेलाङ पुग्ने सडक पनि राम्रो छैन । बलेफीबाट जलवीरे पुग्ने सडक निर्माणको क्रममा रहेकाले हिलाम्मे छ । जलवीरेबाट कात्तिके, यांलाकोट र बराम्ची–पाङताङ पुग्ने कच्ची बाटो अत्यासलाग्दो छ । बर्खाको भेलले बिगारेको ग्रामीण सडक स्थानीय सरकारले मर्मत–सुधार गरे पनि यात्राका लागि ती सडक सास्तीपूर्ण छन् । त्यसैगरी, बाह्रबिसेबाट कर्थली, मान्द्रा, मानेस्वाँरा र धुस्कुन जाने ग्रामीण कच्ची सडक हिलाम्मे छन् ।

 साढे ११ किलोमिटर भैँसे–भीमफेदी सडक पार गर्न एक घन्टा
हेटौँडाबाट सुदीप सिवाकोटी

भैँसे–भीमफेदी सडकखण्ड अलपत्र अवस्थामा छ । ११.५ किलोमिटर सडक पुनर्निर्माणको काम एक वर्षअघि सुरु भएको थियो । काठमाडौंबाट हेटौँडा हुँदै तराईका विभिन्न जिल्ला आवतजावतका लागि प्रयोग गरिने यो सडक पुनर्निर्माणको काम अलपत्र हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । दैनिक पाँच सयभन्दा बढी साना सवारीसाधन आवतजावत गर्ने सडक अलपत्र हुँदा दसैँका लागि काठमाडौंबाट घर फर्किने यात्रुले बढी समस्या भोग्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

साढे तीन घन्टामा काठमाडौं–हेटौँडा यात्रा गर्न सकिने सडक भैँसे–भीमफेदीमा ११.५ किमि अलपत्र हुँदा पाँच घन्टा बिताउनुपर्ने बाध्यता रहेको टाटासुमो चालकहरू बताउँछन् । यो सडकमार्फत तराईका विभिन्न जिल्ला र हेटौँडाबाट सयौँ टाटासुमोमा यात्रुले आवतजावत गर्दै आएका छन् । ‘विगतमा भैँसेबाट भीमफेदी पुग्न २० मिनेट लाग्थ्यो, अहिले सडक भत्काइएको र डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण एक घन्टा लाग्ने गरेको छ,’ टाटासुमोचालक कृष्ण श्रेष्ठले भने ।

 सडकको सास्तीले शक्तिपीठमा देखिएन चहलपहल
महोत्तरीबाट रञ्जन भण्डारी

विगतमा दसैँका वेला महोत्तरीको सोनामाई मन्दिरमा हजाराँै दर्शनार्थीको भिड लाग्ने गथ्र्यो । तर, यस वर्ष त्यति चलहलपहल देखिएको छैन । जलेश्वर–बर्दिवास सडकखण्डमा पर्ने औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिर पुग्न सडक बिग्रेकाले यात्रीहरूले निकै सास्ती खेप्नु परेको छ । त्यसले गर्दा पनि अपेक्षाकृत दर्शनार्थीहरू आउन नसकेको पुजारी मनु झा बताउँछन् । त्यस्तै, जलेश्वरनाथ महादेव मन्दिरमा समेत दर्शनार्थीको संख्या घट्दो छ । कोरोना र सडकको दुर्दशाले यस्तो अवस्था आएको हो ।

जलेश्वरदेखि बर्दिवाससम्मको ३९.६ किलोमिटर सडक निर्माण थालेको तीन वर्ष पुगिसक्यो । तर, सडकको प्रगति २२ प्रतिशत मात्र छ । सडकमा यात्रा गर्दा धुलो र हिलोले यात्रुको बिजोग हुने गरेको छ । ठुल्ठूला खाल्डो र ढुंगाले सवारीसाधनको यात्रा कष्टप्रद बनेको यात्रुहरूको गुनासो छ । सडक सुधार तथा विस्तार आयोजना (आरआइडिपी)ले सन् २०१८ को डिसेम्बरमा शिवालय दिवा जेभी नामक कम्पनीलाई सडक निर्माणको ठेक्का दिएको थियो ।

कम्पनीले सडक निर्माण अवधि ३६ महिनामध्ये ३३ महिना गुजारिसकेको छ । जिल्लाकै सदरमुकाम जलेश्वरको दुर्गा (महेन्द्र) चोक कुरूप देखिएको छ । नेपाल तथा भारतको विभिन्न मुख्य सहर तथा प्रदेश तथा केन्द्रीय राजधानी जोड्ने महोत्तरीको मुख्य सडकको रूपमा रहेको हुलाकी सडकअन्तर्गतको भिठामोड–जनकपुर सडकको अवस्था पनि दयनीय छ ।

 नारायणगढ–मुग्लिन सडकयात्रा मौसमको भरमा 
भरतपुरबाट विवेक पोखरेल

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गलाई मुलुकको लाइफलाइनका रूपमा लिने गरिन्छ । तर, यी दुवै राजमार्ग भएर यात्रा गर्न भने निकै जोखिमपूर्ण छ । यतिवेला दुवै राजमार्गमा कुनै समस्या भने छैन । तर, पनि सामान्य झरीमै सडकमा माथि पहाडाबाट पहिरो खस्ने गर्छ । त्यसबाहेक सडक भासिने अर्को समस्या हो । दुवै सडक खण्डकमा ठाउँठाउँमा भासिएको देख्न सकिन्छ । जसले गर्दा पनि यात्रुले कष्टकर महसुस गर्ने गरेका छन् ।

नदी र पहाडको बीचको सडक भएकाले पनि यो सडक यात्राका लागि जोखिमपूर्ण मानिन्छ । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापाले मौसमले साथ दिएमा यो सडक हँुदै यात्रा गर्न सहज रहेको बताए । वर्षा भएमा पहिरो र सडक भासिने समस्या भने कायम रहेको उनको भनाइ छ । नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सडक केही ठाउँमा भासिए पनि सवारीसाधन आवतजावत भने रोकिएको छैन । तर, अझै पनि पानी पर्ने गरेकाले पहिरोको जोखिम भने कायमै छ ।