मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २४ आइतबार २२:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बन्यो, एकीकृत समाजवादी पनि सहभागी 

Read Time : < 1 मिनेट
२०७८ असोज २४ आइतबार २२:०५:००

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बनेको छ । नयाँ सरकार बनेको २ महिना पुग्नै लाग्दा सरकारले आइतबार पूर्णता पाएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले विस्तार गरेको मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित १३ मन्त्री र ४ राज्यमन्त्री छन् । 

सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएको छ । कांग्रेसबाट ३ मन्त्री र २ राज्यमन्त्री, माओवादी केन्द्रबाट २ मन्त्री र २ राज्यमन्त्री र नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री आइतबार थपिएका छन् ।  यसअघि प्रदेश सरकार ७ सदस्यीय थियो । नयाँ मन्त्रीहरूलाई आइतबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराए । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री केसीले शपथ गराएका छन् । 

यी हुन थपिएका मन्त्री
कांग्रेसबाट पाल्पाका वीरवहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, बाँकेका सुरेन्द्रबहादुर हमाल वन, वातावरण तथा भू–संरक्षणमन्त्री र रुपन्देहीका बसीउद्दिन खा शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्री भएका छन् । कांग्रेसबाट दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना विक राज्यमन्त्री भएका छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएका हुन् । 

माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री भएका छन् । त्यस्तै, माओवादीबाट दाङकी विमलाकुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएका हुन् । 

नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भएकी छिन् । 

लुम्बिनीमा गत २८ साउनमा नयाँ सरकार बनेको हो । कुलप्रसाद केसी मुख्यमन्त्री रहेको मन्त्रिमण्डलमा यसअघि माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी ७ सदस्यीय मन्त्रिमण्डल थियो ।