१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Thursday, 03 July, 2025
२o७८ असोज २४ आइतबार o८:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता प्रकरण : मालपोतका कर्मचारीलाई जोगाउन छानबिनमा बेवास्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार o८:o९:oo

मालपोत कार्यालय सिराहाका कर्मचारीको मिलोमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनाको छानबिनमा बेवास्ता गरिएको छ । आफ्नै कर्मचारी संलग्न घटनाको छानबिन गर्न मालपोत कार्यालयले बेवास्ता गर्दै आएको हो । 

सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको सार्वजनिक भएपछि डेढ वर्षअघि जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले छानबिनको निर्देशन दिए पनि मालपोत कार्यालयले छानबिन अगाडि बढाएको छैन । प्रजिअले पठाएको पत्रको जवाफसमेत मालपोत कार्यालयले दिएको छैन । 

जग्गा नापी कार्यालय सिराहा शाखाको फिल्डबुकमा जग्गावालाको नामको महलमा पर्ती र चार किल्लामा पूर्व १६२, पश्चिम–सिमाना, उत्तर २३ र दक्षिणमा १२८, किसिम ७ को पर्ती उल्लेख भएको र कैफियतमा ऐलानी उल्लेख छ । ०६९÷०७० सम्म ऐलानी रहेको सो जग्गा अहिले धनुषाको इनर्वा– ६ का श्यामकुमार गोइतकी पत्नी र अजवलाल भिन्दवारकी छोरी प्रतिमादेवी गोइतको नाममा दर्ता छ । मालपोत कार्यालयका कर्मचारीले आर्थिक लेनदेन गरी उक्त सार्वजानिक जग्गा व्यक्तिको नाममा कायम गरेको स्थानीयवासीको आरोप छ ।

मालपोत कार्यालय स्रोतअनुसार कार्यालयका सहयोगी राजकुमार रायले आर्थिक लाभ लिएर सार्वजनिक जग्गा व्यक्तिको नाउँमा दर्ता गर्न नेतृत्व गरेका थिए । त्यसरी आएको आर्थिक लाभ मालपोत कार्यालयका तत्कालीन अधिकांश कर्मचारीको भागमा गएको स्रोतले बतायो । कार्यालय सहयोगीका रूपमा कार्यरत रहे पनि रायले मालपोतका माथिल्ला कर्मचारीलाई हात लिएर आर्थिक लाभ लिई अवैध काम गर्दै आएको स्थानीय रामकिशोर यादवले दाबी गरे । रायलाई राजनीतिक संरक्षण रहेकोसमेत उनले बताए ।

अर्का स्थानीय मनोज मण्डलले मालपोतका कर्मचारीकै मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिले हत्याउनु गम्भीर विषय भएको बताए । ‘डेढ वर्षअघिदेखि छानबिन हुन सकेको छैन । आर्थिक लाभ लिई जसजसले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएका हुन्, उनीहरू अहिले पनि खुला हिँडिरहेका छन् । त्यसैले तत्काल छानबिन गरेर संलग्नलाई कारबाही गर्नुपर्छ । व्यक्तिको नाममा भएको दर्ता खारेज गरी पुनः सार्वजनिक जग्गा नै बनाउनुपर्छ,’ उनले भने । हाल जग्गाधनी देखिएकी प्रतिमादेवीसँग प्रतिक्रिया लिन खोज्दा उनले कुराकानी गर्न इन्कार गरिन् ।

सार्वजनिक जग्गामा धर्मशाला
व्यक्तिको नाममा आउनुअघि ०७३ मा सो जग्गामा धर्मशाला बनाइएको थियो । संविधानसभा सदस्य पारोदेवी यादवले धर्मशाला भवनको शिलान्यास गरेकी थिइन् । धर्मशाला बनाउन उनले नै निर्वाचन क्षेत्र विकास कोषबाट आठ लाख पचास हजार रुपैयाँ सहयोग गरेकी थिइन् । सांसद यादवले बजेट निकासा गरेपछि सिराहा नगरपालिका–६ का दसैँ पासवानको अध्यक्षतामा निर्माण समिति गठन भएर धर्मशाला निर्माण भएको थियो । 

दोषीलाई कारबाही गर्छु : मालपोत प्रमुख
भूमि सुधार तथा मालपोत कार्यालय सिराहाका बहालवाला प्रमुख विष्णुप्रसाद सिटौलाले आफू केही दिनपहिला मात्रै कार्यालयमा हाजिर भएकाले यसबारे जानकारी नरहेको बताए । ‘म हालसालै मात्र कार्यालय प्रमुख भएर आएको हुँ । सत्यतथ्य बुझ्न बाँकी नै छ,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘गलत काम भएको रहेछ भने कानुनअनुसार कारबाहीका लागि सिफारिस गर्नेछु ।’ सो जग्गा हाल सिराहा नगरपालिका–१२ वडा कार्यालयको पत्रानुसार रोक्का राखिएको उनले बताए ।