१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Saturday, 21 September, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o७८ असोज २३ शनिबार o६:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कृष्णनगरमा झाडापखालाको महामारी : सुखरामपुरमा ट्युबवेलको  पानीमा कोलिफर्म भेटियो

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार o६:४५:oo

६ दिनदेखि झाडापखालाको महामारी फैलिएको कपिलवस्तुको कृष्णनगर नगरपालिका– ७ सुखरामपुरमा ट्युबवेलको पानी परीक्षण गर्दा दिसामा पाइने घातक जीवाणु कोलिफर्म भेटिएको छ । वाणगंगा नगरपालिकास्थित भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ल्याबमा जाँच गराउँदा ४० फिट गहिरो ट्युबवेलको पानीमा दुई प्रतिशत कोलिफर्म भेटिएको हो । तर, झाडापखाला फैलिनुको कारण यही हो भन्ने निश्चित भने भएको छैन ।

कृष्णनगर– ८ बहादुरगन्जस्थित खानेपानी संस्थानको धाराको पानीको नमुना पनि परीक्षण गरिएको थियो । अन्य ठाउँको परीक्षणमा कोलिफर्म नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । सुखरामपुर, बहादुरगन्ज, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायत गाउँमा झाडापखालाका बिरामी देखिएका छन् । 

भारतसँग सीमा जोडिएको नगरका गाउँमा महामारी फैलिएसँगै दुई देश आवतजावत गर्नेहरूको संख्यामा कमी भएको छ । झाडापखाला फैलिनुको कारण पत्ता लगाउन केन्द्रबाट टोली आएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । 

आँगनमा उपचार, बिरामीलाई  लामखुट्टे र सर्पको डर
बान्ता र पखाला नरोकिएपछि सुखरामपुरका ३२ वर्षीय साहिन खान गत आइतबार घरनजिकै बहादुरगन्जस्थित शिवराज अस्पताल पुगे । कृष्णनगर– ८ का ७० वर्षीय तौलेश्वर मिश्र पनि उही समस्या लिएर अस्पताल आइपुगे । यसरी नै एकाएक बिरामीको चाप बढ्न थालेपछि अस्पताल भरिभराउ भयो । बेडबाहिरै बिरामी छटपटाउन थाले । 

त्यहाँ उपचार सम्भव नभएपछि मिश्रलाई तौलिहवास्थित कपिलवस्तु अस्पताल रिफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भैरहवा मेडिकल कलेज पठाइयो । तीन दिनको उपचारपछि अहिले मिश्र घर फर्किएका छन् । ‘बाँचिएलाजस्तो लागेको थिएन, दुई दिन निकै गाह्रो भयो,’ मिश्रले भने, ‘म ठिक भए पनि श्रीमतीलाई अहिले उस्तै समस्या छ ।’

६५ वर्षीया श्रीमती अन्नपूर्ण मिश्र अहिले शिवराज अस्पतालमै उपचाररत छिन् । सोही गाउँका अनुसहमा मुसलमानको परिवारका १६ जना सदस्यमध्ये १४ जनामा झाडापखाला र बान्ताको समस्या देखियो । मंगलबारदेखि परिवारका सबैजसो सदस्यमा देखिएको यो समस्याले घरमा रुवाबासी नै चल्यो । १२ जना हाल निको भएर अस्पतालबाट घर फर्किएका छन् । दुईजना उपचाररत छन् । कृष्णनगरमा फैलिएको झाडापखालाबाट अहिलेसम्म चार सय ६१ जना बिरामी परेका छन् । हाल ९५ जना उपचाररत छन् भने तीन सय ६६ डिस्चार्ज भएका छन् । अस्पताल पुर्‍याउन नपाउँदै दुईजनाको मृत्यु भइसकेको छ । 

शिवराज अस्पतालको क्षमता १५ बेडको रहे पनि बिरामीहरूको संख्या बढी हुँदा कठिनाइ भएको अस्पतालका डा. मुकेश चौधरीले बताए । बिरामीलाई खुला आकाशमुनि राखेर उपचार गरिएको छ । अस्पतालको बाहिरी क्षेत्रमा झाडी र फोहोर हुँदा बिरामीमा लामखुट्टे र सर्पको त्रास थपिएको छ । ‘कम्तीमा त्रिपाल लगाएर मात्रै राखिदिए पनि हुन्थ्यो,’ बिरामी कुरुवा हरि जयसवालले भने । डाक्टर अभाव हुँदा थप समस्या भएको छ । प्रदेश र जिल्लाबाट केही डाक्टर खटाए पनि रातको समयमा फिर्ता हुने भएकाले समस्या भएको अस्पताल प्रशासनको भनाइ छ । 

स्वास्थ्य कार्यालय भन्छ– औषधि अभाव छैन
झाडापखालाका बिरामीलाई शिवराज अस्पतालमा औषधिको अभाव भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अस्पतालमा आवश्यक सम्पूर्ण औषधि पुर्‍याइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । उनका अनुसार झाडापखाला फैलिएको स्थानमा पानी शुद्धीकरणका लागि पियूष, चक्की, जीवनजल, अक्वाट्याबलगायत वितरण गरिएको छ । सचेतनाको लागि डाटा संकलन र सर्वेक्षणसमेत गरिएको छ । जिल्लास्थित विभिन्न गैरसरकारी संस्थालगायत निकायले स्वास्थ्य सामग्री र जनचेतनाका कार्यक्रमहरू गरिरहेका छन् ।