१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

समाचार प्रभाव : अख्तियारको टोली हिमालय माविमा, आवश्यक प्रमाण लिएर फर्कियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१o:oo

दमक–२ स्थित हिमालय माविको एक करोडभन्दा बढी रकम हिनामिना भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । नमुना सामुदायिक विद्यालयमा विद्यार्थीले विभिन्न शीर्षकमा तिरेको एक करोड १४ लाख ७४ हजार ८०५ रुपैयाँ रकम हिनामिनाको घटना छानबिनका लागि आइतबार आयोगको कार्यालय इटहरीको टोली विद्यालय पुगेको हो । 

टोलीले हिनामिनामा संलग्न भएको आरोप लागेका प्रधानाध्यापक ओमप्रसाद आचार्य, लेखापाल दयासागर आचार्यसँग बयान पनि लिएको थियो । हिमालय माविमा भएको ठूलो रकम हिनामिनाका विषयमा नयाँ पत्रिकाले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ । विद्यालयमा ठूलो अनियमितता भएको आशंकामा गत ३१ भदौमा विद्यालय व्यवस्थापन समितिले कृष्णप्रसाद बरालको संयोजकत्वमा पाँच सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको थियो । 

समितिले आम्दानीको स्रोत नै गायब बनाएर ७१ लाख ८४ हजार सात सय ५० रुपैयाँ अनियमितता गरेको ठहर गरेको थियो । यस्तै, स्रोत देखिए पनि विद्यालयको बैंक खातामा जम्मा नगरेर ४२ लाख ९० हजार ५५ रुपैयाँ बैंकमा डिपोजिट नगरी हिनामिना गरेको प्रतिवेदन तयार गरेको थियो । यस्तै, चालू आर्थिक वर्षको साउन भदौ र १० असोजसम्मको आम्दानी रकम १९ लाख २८ हजार पाँच सय रुपैयाँ पनि हालसम्म विद्यालयको खातामा जम्मा नभएको प्रतिवेदनमा उल्लेख छ । 

गत आर्थिक वर्ष ०७७/७८ मा स्रोत नखुलेको ६९ लाख ४० हजार रकम स्रोत नखुली विद्यालयको खातामा जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । यद्यपि, यसअघि विद्यालय व्यवस्थापन समितिले बराललाई वार्षिक पारिश्रमिक दिएर विद्यालयको आन्तरिक लेखापरीक्षण गर्ने जिम्मेवारी दिएको थियो । उनले चुस्त रूपमा लेखापरीक्षण नगर्दा विद्यालयमा समस्या आएको केहीको आरोप छ ।

विद्यालयमा भएको अनियमितताबारे नयाँ पत्रिकाले समाचार प्रकाशन गरेपछि विद्यालयका प्रधानाध्यापक आचार्यले विद्यालयको प्रशासनिक काम गर्न छाडेका छन् । लेखापाल आचार्यलाई निलम्बन गरिएको छ भने सहायक लेखापाल दुर्गाबहादुर खड्कालाई भने परीक्षा शाखामा सरुवा गरिएको छ । ‘पहिला नयाँ पत्रिकाको समाचारबाट थाहा पायौँ । पछि समाचार र अन्य केही उजुरीका आधारमा हाम्रो टोली आइतबार विद्यालय पुग्यो । समाचार आएपछि शनिबार सार्वजनिक बिदाले पनि रोक्यो । आइतबार हामी पुग्यौँ,’ अख्तियार स्रोतले भन्यो, ‘विद्यालय पुगेर आवश्यक तथ्य, प्रमाण संकलन गरी टोली फर्कियो ।’

विद्यालय पुगेको टोलीले प्रधानाध्यापक र लेखापालसँगै विद्यालय व्यवस्थापन समिति र लेखा सुपरीवेक्षण समिति संयोजक बरालसँग पनि बयान लिएको वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए । ‘अख्तियारलाई बोलाउने हामीले पनि निर्णय गरेका थियौँ । आइतबार अख्तियार विद्यालय आइपुग्यो,’ उनले भने, ‘अख्तियारले प्रधानाध्यापक, लेखापाल र सुवरीवेक्षक समिति संयोजक बराल र म विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग बयान लिएर गयो ।’

अख्तियारले सुपरीवेक्षण समितिको प्रतिवेदन, बिल भौचर तथा अन्य आवश्यक कागजात पनि लगेको विद्यालयका निमित्त प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले जानकारी दिए । ‘सबै प्रमाणको फोटोकपी अख्तियारले मगाएको थियो । लेखा सुपरीवेक्षक समितिको प्रतिवेदन पनि लगेको छ,’ उनले भने, ‘हामीले फोटोकपी गरेर दिएका छौँ ।’ 

सामुदायिक विद्यालय हिमालय माविले विद्यार्थीलाई विभिन्न बहानामा चर्को मूल्य उठाउँदै आएको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट चलाएको भन्दै आधारभूत शिक्षामा समेत अभिभावकबाट चर्को शुल्क असुल्दै आएको छ । कतिपय विपन्न नागरिकले भने हिमालय माविमा छोराछोरी पढाउन मुस्किल भएको गुनासो गर्दै आएका छन् । 

 ७२ लाख ७० हजार  विद्यालयको खातामा फिर्ता
हिनामिना गरेको एक करोड १४ लाख ७४ हजार आठ सय पाँच रुपैयाँमध्ये ७२ लाख ७० हजार नौ सय २० रुपैयाँ विद्यालयको खातामा जम्मा भएको वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सापकोटाले जानकारी दिए । यसअघि विद्यालयको खातामा ९० लाख बुझाएको भनिए पनि ७२ लाख ७० हजार नौ सय २० रुपैयाँ मात्र पुष्टि भएको उनले बताए । ‘९० लाख जम्मा भएको कुरा थियो । तर, भौचरहरू हेर्दा ७२ लाख ७० हजार नौ सय २० रुपैयाँ मात्र रहेछ,’ उनले भने, ‘हिनामिना भएको बाँकी रकम पनि असुलउपर गर्छौँ ।’ 

ad
ad