मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १५ शुक्रबार o६:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्डले भने– संसद् विघटनविरुद्ध संघर्ष वा  आत्महत्या गर्ने भन्ने विकल्प थियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार o६:३o:oo

केही समययता भावनात्मक अभिव्यक्ति दिँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलोपटक संसद् विघटन गरेपछि आफ्नोसामु संघर्ष वा आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले त्यसवेला आफूले पार्टीका नेताहरूको साथ लिएर क्रान्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको बताए । 

प्रचण्डले त्यसवेला साबिकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आफ्नोसामु आएको सुनाएका थिए । प्रचण्डले भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग सुनाए । आफू पनि झन्डैझन्डै यस्तो अवस्थामा पुगेको प्रचण्डको भनाइ थियो ।

‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौँ सहिद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिनँ, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखेँ’, गला अवरुद्ध पार्दै प्रचण्डले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट त्यसवेला सुरु भएको थियो सडक आन्दोलन ।’ सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै र सबै कार्यकर्ताले साथ दिएको प्रचण्डले बताए । फागुन ०५२ मा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले स्मरण गरे । 

प्रचण्डले पहिले गलत गर्नेहरूका लागि वाइसिएल आतंक भएको र अहिले प्रतिगमनका पक्षपाती केपी ओली आतंक रहेको बताए । ‘अहिले त केपी ओली आतंक छ । जसले गणतन्त्र रोक्न पहल गर्‍यो त्यसको पो आतंक छ, के यो अचम्म भयो ?’ प्रचण्डको प्रश्न थियो । उनले कमल थापा आतंक रहेको पनि सुनाए । ‘कमल थापा आतंक ! कहाँबाट कहाँ पुगेकाहरूको आतंक छ’, उनले भने ।