मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Wednesday, 18 December, 2024
कान्चा इलैया सेफर्ड
२o७८ असोज १४ बिहीबार ११:२७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मोदीलाई बाइडेनको गान्धीवादी पाठ

Read Time : > 2 मिनेट
कान्चा इलैया सेफर्ड
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार ११:२७:oo

गत साता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तामा भारतका हिन्दूवादी नेतालाई अमेरिकी राष्ट्रपतिले गान्धी र गान्धीवादको पाठ पढाएको विषय निकै चर्चामा आयो । बाइडेनले गान्धीलाई त्यसै सम्झिएका होइनन्, वास्तवमा राष्ट्रपतिले छेउमा बसेका मोदीलाई भारतमा भइरहेको मानवअधिकार उल्लंघनप्रति आफू खुसी नरहेको सन्देश दिएका हुन् ।

बाइडेनले मोदीकै उपस्थितिमा उनको सरकारले सहिष्णुता र अहिंसाको सिद्धान्त नमानेको विश्वलाई जानकारी दिनु निश्चय पनि भारतमा रहेको आरएसएस–भाजपालाई ठूलो झट्का हो । उसो त अन्तर्राष्ट्रिय मञ्चमा सावरकर र गोल्वाल्करको ठाउँमा गान्धी जपिरहने मोदीलाई अमेरिकी राष्ट्रपतिको गान्धीपाठले भारत असहिष्णु बन्दै गएको कूटनीतिक जानकारी दिएको छ । 

बाइडेन प्रशासनमा भारतीय मूलकाहरूको ठूलो टिम छ, जसमा उपराष्ट्रपति कमला ह्यारिस पनि पर्छिन् । बाइडेनको यो टिम भारत र भारतबाहिरका हिन्दुवादी समूहसँग कसरी व्यवहार गर्नेबारे जानकार छ । स्मरण रहोस्, पछिल्ला केही साताअघि अमेरिकामै मुसलमान, अम्बेडकर, आरक्षण र गान्धीविरोधी हिन्दुत्वको चरित्र एवं प्रकृतिबारे वैश्विक छलफल भएको थियो । सावरकर, हेड्गेवार, गोल्वाल्कर र गान्धीका हत्यारा नाथुराम गोड्से हिन्दुत्ववादी समूहका नायक हुन् ।

गान्धीका नाममा फाइदा लिने प्रयास गर्दा मोदी आफ्नो हिन्दुत्व स्कुलका गान्धीविरोधीबाट विरोध झेलिरहेका छन् । तीमध्ये केही नाथुराम गोड्सेलाई गान्धीभन्दा राष्ट्रवादी मान्छन् । गान्धी मुसलमान सम्मिलित समावेशी लोकतन्त्रको वकालत गरेका कारण मात्रै मारिएका होइनन् । उनी अम्बेडकरसँग जात र छुवाछुतका मुद्दामा संलग्न पनि थिए । महाराष्ट्रका भारतीय राष्ट्रीय कांग्रेसका विशेषतः ब्राह्मण नेताहरू गान्धीका पक्षमा थिएनन् ।

बालगंगाधर तिलकसमेत दलित सुधारक महात्मा फुलेको सुधारविरुद्ध उभिएका थिए । उनकै छोरा श्रीधर बलवन्त तिलकले अम्बेडकरका सुधारका एजेन्डालाई समर्थन गरेका थिए । तर, श्रीधरले अम्बेडकरलाई समर्थन गर्दा पाएको प्रताडना झेल्न नसकेर आत्महत्या गर्न पुगे । वर्ण व्यवस्थाको अन्त्य नभए पनि गान्धी छुवाछुतको अन्त्य र हिन्दू धर्ममा सुधार चाहन्थे । उनको यो सुधारको विचार त्यसवेलाका महाराष्ट्रका ब्राह्मण नेतृत्वलाई रुचेको थिएन । तसर्थ १९४८ पहिल्यै उनको हत्या गर्ने थुप्रै प्रयास भएका थिए । 

बाइडेनले गान्धीलाई सम्झेर छेउमा बसेका मोदीलाई भारतमा भइरहेको मानवअधिकार उल्लंघनप्रति आफू खुसी नरहेको सन्देश दिएका छन्

महाराष्ट्रका सावरकर र अनुयायीले हिन्दुत्वको सिद्धान्तलाई प्रतिपादन गरेका थिए, जुन राजा राममोहन रोय, रवीन्द्रनाथ टेगोरजस्ता बंगाली ब्राह्मण नेता तथा चिन्तकको मान्यताभन्दा भिन्न थियो । यही महाराष्ट्रको ब्राह्मण स्कुल गान्धीविरुद्ध उत्रियो र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) स्थापना गर्‍यो । हेड्गेवार, गोल्वाल्कर र मधुकर दत्तात्रय देवरसले हिन्दुत्व–ब्राह्मण सर्वोच्चतावादी आरएसएसलाई चलाए । यी व्यक्ति गान्धीविरोधी थिए र हालका आरएसएस प्रमुख मोहन भागवत पनि गान्धीविरोधी बिरासतकै निरन्तरता हुन् । अमेरिकी लोकतन्त्रले अब्राहम लिंकन र मार्टिन लुथर किङको बिरासत बोकेको छ, जसरी भारतले गान्धी एवं अम्बेडकरको लोकतन्त्रको बिरासत बोकेको छ । 

गान्धीझैँ अम्बेडकरले पनि भारतीय लोकतन्त्रका लागि असाधारण त्याग गरेका छन् । स्वाभाविक रूपमा चीन र पाकिस्तान छिमेकी रहेको एक सय ३० करोड जनसंख्या भएको भारतमा अमेरिकाले समृद्ध समावेशी लोकतन्त्र देख्न चाहन्छ । अमेरिकाका गम्भीर लोकतन्त्रवादीहरू ट्रम्पको श्वेत सर्वोच्चताका कारण मुलुकको लोकतन्त्र धरापमा पर्नेमा चिन्तित थिए । त्यसैगरी भारतका गम्भीर लोकतन्त्रवादीहरू हिन्दुत्व सर्वोच्चताबाट भारतीय लोकतन्त्रलाई खतरा देखिरहेका छन् । यसै सन्दर्भमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले मोदीसँगको भेटपछि दुवै मुलुकले लोकतन्त्रलाई जोगाउनुपर्छ भन्दै निकालेको संयुक्त वक्तव्यले विशेष अर्थ राख्छ ।

संयुक्त वक्तव्यले जसरी अमेरिकामा ट्रम्पका पालामा श्वेत सर्वोच्चताको खतरा थियो, त्यसैगरी भारतमा लोकतन्त्र हिन्दुत्वको खतरामा रहेको छ भन्ने वासिंटनको चेतावनी हो । बाल्यकालदेखि नै हिन्दुत्व विश्व दृष्टिकोणमा हुर्किएका नरेन्द्र मोदी राजनीतिक सोपान उक्लेर सन् २०१४ मा प्रधानमन्त्री बन्न सफल भए । गुजराती भएका कारण मोदीले गान्धीविरोधी वक्तव्यबाजी नगरेका होलान् । यद्यपि, उनी आरएसएसको बिरासतविरुद्ध जान सक्दैनन् ।

बाइडेनको भारतीय सम्मिलित टिम यसबारे जानकार छ । गान्धीमाथि चर्चा गरेर अमेरिकी राष्ट्रपति सन् २०१४ देखि भारतमा गान्धीविरोधी गतिविधि बढिरहेको जानकारी गराइरहेका छन् । सन् २०१४ देखि अल्पसंख्यकहरूको सीमान्तीकरण गरिँदै छ र दलित, आदिवासी एवं पिछडिएका जातिलाई सहयोग गर्ने प्रतिष्ठित संस्थामाथि आक्रमण भइरहेको छ । भिडको हिंसा (लिन्चिंग), लव जिहाद कानुन, घर वापसी, गौमासविरोधी अभियानका नाममा मुसलमानलाई प्रताडित गरिँदै छ । वास्तवमा भारतको बहुलवादी लोकतन्त्रमाथि आक्रमण भएको छ । 

अमेरिकामा ट्रम्पशासन चलिरहँदा ट्रम्पको मौन समर्थनका कारण भारतका हिन्दुत्व शक्तिहरू थप शक्तिशाली भएका थिए । कोभिड–१९ महामारीले दक्षिणपन्थी राजनीतिलाई ठूलो धक्का पु¥याएको छ । सारा विश्व उदारवाद एवं मानवअधिकारलाई स्वागत गर्न तम्तयार देखिन्छ । आरएसएस–भाजपालाई हालको विश्व परिस्थितिमा आफ्ना एजेन्डा लाद्न सजिलो छैन । मानिसहरू अहिले सबै वृत्तमा समान अवसर र सम्मानको प्रत्याभूति गराउने नेतृत्व खोजिरहेका छन् । भारतमा मानवीय समानता एवं सम्मान प्रत्याभूति गराउने गरी राजनीतिक, सामाजिक र प्राज्ञिक वातवरण बन्ने आधार देखिँदैन । मोदी र उनको पार्टी/संगठन भाजपा÷आरएसएसले ट्रम्प प्रशासन, कोभिड–१९ महामारीपछिको परिस्थितिमा आफूलाई ढाल्न सकेका छैनन् ।  
द वायरबाट