राजधानीमा जारी छैठौँ संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत मंगलबार विभागीय टोली एपिएफ र न्यू डायमन्ड स्पोर्टस् क्लबले जित निकालेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दा न्यू डायमन्डले पनि एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको हो ।
न्यू डायमन्डसामु निकै निरीह बनेको एभरेस्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै न्यू डायमन्डले जारी प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मंगलबारकै अर्को खेलमा विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि सहज जित निकाल्यो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपिएफले ढोरपाटनमाथि २५–११, २५–७ र २५–६ को जित निकालेको हो। यससँगै एपिएफले पनि जारी प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
प्रतियोगितामा बुधबार महिलातर्फ ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस तथा एभरेस्ट भलिबल ट्रेनिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।