१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारको आयु लामो छैन, एमालेले ढाल्नु पर्दैन : अध्यक्ष ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालसाजी र किर्तेबाट बनेको सरकारको आयु लामो नभएको बताएका छन् । उनले जनादेशबाट नभई परमादेशबाट बनेको सरकार गुड्न नपाउँदै भत्किने बताए। ‘पाँचमुखे भगवानको जस्तै पाँच राजनीतिक दलबाट निर्माण भएको गठबन्धन पनि पाँचतिर फर्किएको छ। यो गठबन्धनलाई एमालेले ढाल्नु पर्दैन समय नपुग्दै गल्र्यामगुर्लुम ढल्नेछ,’ उनले भने। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फर्किन नसक्ने साँघुरो बाटोमा हिँडेको बताउँदै उनको समाप्ति हुने दिन आएको जिकिर गरे । ‘रसुवाको एउटा जंगलमा साँघुरो बाटो छ । गाई चर्दैचर्दै त्यो बाटोमा जान्छ अनि फर्किन नसकेर त्यहीँ लडेर मर्छ । माधव नेपालले पनि फर्किन नसक्ने यस्तै साँघुरोबाट हिँडिरहेका छन् । उनको पनि गाईको जस्तो हालत हुनेछ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने । 

उनले केही राजनीतिक दलहरू एमालेलाई प्रतिपक्षमा पुर्याएको ठानेर रमाइरहेको उनले बताए। उनले ती दलको खुसीलाई दसैँमा बालबालिकाले नयाँ लुगा लगाउन पाउने आशामा रमाएसरह भएको बताए । 

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नदीले किनारा लगाएको फोहाेरको संज्ञा दिए । ‘नदीको छालले फोहाेरलाई किनाराको बालुवामा पुर्याए जस्तै कार्यकर्ताले साथ छोडेर माधव नेपाललाई किनारा लगाएका छन्,’ उनले भने, ‘नेपाल र पुष्पकमल दाहालको दम्भ आगामी चुनावसम्म मात्र हो । त्यसपछि उहाँहरूले आफ्नो औकातमा आउनुहुन्छ।’

उनले पार्टीको आन्तरिक खिचातानीका कारण वर्तमान सरकार विस्तार हुन नसकेको बताउँदै मन्त्रिमण्डल विस्तार भए पार्टी फुट्ने, नेता–कार्यकर्ता रिसाउने डर नेतृत्वमा भएको बताए । ‘पार्टी फुट्ने डरले उपेन्द्रजीले दलसम्बन्धी विधेयक खारेज नहुँदासम्म मन्त्रीको नाम पठाउँदिन भन्नुहुन्छ । माधवलाई नेता, कार्यकर्ता रिसाउने डर छ। शेरबहादुरजीलाई सभापतिको चिन्ता छ। प्रचण्डजीले त म अब मन्त्री बनाउन सक्ने हैसियतमा छैन भनेर हात उठाइसक्नुभयो,’ अध्यक्ष ओलीले भने, ‘पूर्ण नभएको सरकारलाई एमालेले ढाल्ने कुरै भएन।’

उनले पानीले आफ्नो लेबल मिलाएजस्तै माधव नेपाल र प्रचण्डले पनि आफ्नो लेबल मिलाउन कांग्रेस कहाँ गएको बताए । ‘हाम्रो गाउँमा एकजना काका थिए । उनी हामीसँग हिँड्थे । कार्यक्रममा पनि हामीसँगै हुन्थे, तर उनले प्रजातन्त्र आएपछि एकाएक आफ्नो घरमा चार तारे झन्डा गाडे । अनि, मैले सोधेँ काका के गर्नुभएको हो ? उनले जवाफ दिए, मैले आफ्नो लेबल मिलाएको हुँ । अरू केही गरेको होइन भन्ने जवाफ दिए । माधव र प्रचण्डजीले पनि आफ्नो लेबल मिलाउनुभएको हो,’ ओलीले भने ।
 

ad
ad