दसैँ नजिकिँदै गर्दा ठाउँठाउँमा सडक अवरुद्ध भएपछि यातायात व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न सरकारलाई आग्रह गरेका छन्। लामो तथा छोटो दूरीका अधिकांश सडकमा पहिरो गएको र खाल्डाखुल्डी परेको भन्दै सडक मर्मत नहुँदै दसैँको अग्रिम टिकट बुकिङसमेत नखोल्ने यातायात व्यवसायीले चेतावनी दिएका छन्।
सबैतिर सडक भत्किएको र त्यसको मर्मतमा सरकारले चासो नदिएको भन्दै उनीहरूले सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। बुधबार यातायात व्यवसायी, सडक विभाग र यातायात व्यवस्था विभागबीच भएको छलफलका क्रममा व्यवसायीहरूले सडकको अवस्था सुधार्न आग्रह गरे। उनीहरूले सडक निकै जोखिमपूर्ण रहेकोले मर्मत गरिदिन भनेका छन्। छलफलमा सडक विभाग प्रतिनिधि, ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघलगायतको सहभागिता थियो।
छलफलका क्रममा व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न आग्रह गरेका छन्। यातायात व्यवसायी केन्द्रीय महासंघका सचिव सरोज सिटौलाले दसैँको टिकट बुकिङ मात्रै खोलेर नहुने बताए। उनले सडकको अवस्था निकै भद्रगोल र अव्यवस्थित भएकोले मर्मत गर्नतर्फ सरकारले चासो दिनुपर्ने बताए। उनले भने, ‘अग्रिम टिकट बुकिङ छिटो खोल्नु ठूलो कुरो होइन, तर अहिले सडकको अवस्था निकै जोखिमपूर्ण छ, पूर्व-पश्चिम राजमार्गमा पनि ठाउँठाउँमा पहिरो गइरहेको छ, सडकको बीचबीचमा ठुल्ठूला भ्वाङ परेका छन्, यसको जिम्मेवारी कसले लिने ?’ उसले यस विषयमा पनि छलफल भएको बताए। सडक विभागले दसैँलाई लक्षित गरेर अधिकांश सडकका खाल्डा पुर्ने प्रतिबद्धता व्यवसायीहरू माझ गरेको छ। ‘सडकको अवस्था हेर्दा गाडी गुडाउन लायक छैन, सबैतिर खाल्डैखाल्डा मात्रै छन्, त्यस्तो सडकमा कसरी गाडी गुडाउने,’ सिटौलाले भने, ‘सरकारले सडक नबनाएसम्म हामीले अग्रिम बुकिङ खोल्दैनौँ।’
उनका अनुसार यसबारेमा बिहीबार पनि यातायात विभागसँग छलफल गरिनेछ। सडक विभागलाई समयमै सडक मर्मत गर्न विभागले आग्रह गरेको छ। पछिल्लो समय उपत्यका तथा उपत्यकाबाहिरका अधिकांश सडकमा खाल्डाखुल्डी परेको छ।