१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ३ आइतबार १७:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीबारे टिप्पणी गरेर समय बर्बाद गर्नु छैन : माधव नेपाल

Read Time : > 2 मिनेट
२०७८ असोज ३ आइतबार १७:१२:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू अब एमाले अध्यक्ष केपी ओलीबारे टिप्पणी गरेर समय बर्बाद गर्ने पक्षमा नरहेको बताएका छन् ।

आफूहरूलाई मार्क्स  र कम्युनिस्ट गुरुहरूले गफ गर्ने, ढाँट्ने, मानमर्दन गर्ने र छल्ने नभई इमानदार भएर जनताको सेवा गर्ने संस्कार सिकाएको उनको टिप्पणी छ । आइतबार नेकपा एकीकृत समाजवादी कास्कीले आयोजना गरेको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

जनताले विश्वास गरेर झन्डै दुईतिहाइ मत दिँदादिँदै संसदलाई र पार्टीलाई यो अवस्थामा ल्याउनेलाई जनताले नै सजाय दिने उनले बताए । नेकपा एमाले र देशको अवस्था किन यस्तो भयो भन्ने सोच्ने वेला भएको भन्दै उनले आफूहरूले नयाँ पार्टी निर्माण गर्नुको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो । 

‘हावादारी गफ गर्ने बद्ख्वाइँ गर्ने हामीलाई फुर्सद छैन । हामीले काम गरेर देखाउनुपर्नेछ । नयाँ पार्टी स्थापनाको औचित्य पुष्टि गर्नुपर्नेछ,’ नेपालले भने, ‘अहिले एमालेको नाम लिनेबित्तिकै जनताले नाकामुख खुम्च्याउँछन् । इज्जत गुमिसक्यो, संविधानको धज्जी उडाइएको छ । यस्ताहरूको कुरा गरेर बस्ने र त्यस्तै हावादारी गफ गर्ने र हाम्रो पनि पुरानै पारा भए मान्छेले भन्नेछन्, जुन जोगी आए पनि कानै चिरेका । के फरक देखाउने भन्नेमा प्रस्ट सोचका साथ अघि बढ्नेछौँ ।’ 

नेता नेपालले असली कम्युनिस्ट पार्टी आफूहरू रहेको दाबी गरे । अरूले सत्तालाई कमाउने साधनको रूपमा प्रयोग गरेको उनको टिप्पणी थियो । ‘असली कम्युनिस्ट हामी हौँ । अरूले गफ गरेर सत्तालाई कमाउने साधनको रूपमा प्रयोग गरे,’ उनले भने । 

नेपालले वाइडबडी, ओम्नी काण्ड र यती होल्डिङ काण्डलगायतका कण्डको वर्तमान सरकारले छानबिन गर्नुपर्नेमा समेत जोड दिए । उनले अब एक हप्ताभित्रै नेकपा एकीकृत समाजवादी सरकारमा सामेल हुनेसमेत जानकारी दिएका छन् । 

आफ्नै बलले अगाडि बढ्छौँ 
अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट्याएका छन् । कतिपयले माओवादीसँग मिलेर नेपालको पार्टी अगाडि बढ्ने आकलन गरिरहेका वेला नेपालले कसैसँग एकता नहुने बताएका हुन् । 

अहिले बाहिर अरूसँग एकता हुन्छ भनेर हल्ला चलाइएको भन्दै त्यस्तो एकता कसैसँग नहुने र आफूहरू आफ्नै शक्तिले अगाडि बढ्ने प्रस्ट्याए । ‘कतिपयले माओवादीसँग एकता गर्छन् भनिरहेका छन् । कोही भ्रममा नरहे हुन्छ । हामी कुनै पार्टी या माओवादीसँग एकता गर्दै छैनौँ । माओवादीसँग एकता हुँदैन । आफ्नै शक्तिले अघि बढ्छौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अरू पार्टीसँग एकता नभए पनि सहकार्य हुने भने बताएका छन् । पाँचदलीय गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने उनले उल्लेख गरे । नेकपा एकीकृत समाजवादी नरहेको टिप्पणी गरेका उनले पार्टीसँग पाँच प्रतिशत मात्र शक्ति रहेको भनी गरिएको प्रचार गलत भएको दाबी गरे । 

प्रदेश १ र बागमतीमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी भइरहेको उनले जानकारी दिए । सुदूरपश्चिममा पहिलो पार्टी बनेको र प्रदेश २ मा एमालेभन्दा ठूलो पार्टी बनेको उल्लेख गरेका उनले गण्डकीमा पीडित बनाइएको टिप्पणी गरे । ‘यो पार्टीसँग ५ प्रतिशत मात्रै भन्ने तथ्य झुटो हो । सुदूरपश्चिममा हामी ठूलो छौँ,’ उनले थपे, ‘गण्डकीमा टिकट नदिएर साथीहरू पीडित भए । अहिले पीडित–पीडित एक भएका छौँ ।’

नयाँ पार्टी गठनपश्चात् गण्डकीमा उत्साहित
गण्डकी प्रदेश एमाले अध्यक्ष केपी ओलीको गढ क्षेत्र मानिन्छ । यहाँका कुनै पनि प्रदेश सांसद र स्थानीय तहमा समेत एकजना उपप्रमुखबाहेक अरू प्रमुख–उपप्रमुखले नेकपा एकीकृत समाजवादी रोजेनन् । त्यसैले पनि माधव नेपालले नयाँ गठन गरेको पार्टी निकै कमजोर रहेको आकलन गरिएको थियो ।

नेकपा एमालेको नेतृत्व १५ वर्ष हाँकेका नेपालले गण्डकीमा कार्यक्रममा आउँदा कसलाई सोधेर आएकोजस्ता खप्की स्थानीय नेताहरूबाटै विगतमा खानुपरेको नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ टिप्पणी गर्छन् । तर, माधव नेपाल शनिबार पोखरा विमानस्थल ओर्लँदादेखि आइतबार फर्कदासम्म उत्साहित भएरै फर्किएको श्रेष्ठले जानकारी दिए ।

पिपुल भोलेन्टियर्सका कार्यकर्ताले दुई सयको हाराहारीमा मोटरसाइकल लगेरै नेपाललाई स्कर्टिङ गरेर लेकसाइड पु¥याए । त्यसपछि पनि शनिबार रातिसम्म नै प्रदेशका अगुवा केही नेता, जिल्ला र नगरका कार्यकर्तासँग अनौपचारिक र औपचारिक कार्यक्रममा नेता नेपाल व्यस्त रहे । 

आइतबार नेता नेपालले पार्टीको प्रदेश, जिल्ला र नगरको कार्यालय उद्घाटन गरे । पोखराको कार्यालय हेर्दा केन्द्रीय कार्यालय सानो र अव्यवस्थित लागेको उनले सम्बोधनकै क्रममा बताएका थिए । प्रदेश कमिटी सचिव भन्छन्, ‘हामीलाई केही देखाउनु पनि थियो । एमालेहरू हामीसँग मान्छे छैनन् भनेर विगतमा पनि धेरै नै हेप्थे । तर, परिस्थिति त्यस्तो रहेन ।

शनिबार र आइतबार जति कार्यक्रम भए नेता–कार्यकर्ताको व्यापक उपस्थिति रह्यो । यसले उहाँ र हामी सबै उत्साहित भएका छौँ । हामी पनि यहाँ लोकप्रिय छौँ भन्ने पुष्टि भएको छ ।’