प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट अल्पमतमा परेका छन् । सरकार बचाउन प्रदेश १ मा शेरधन राई र बागमतीमा डोरमणि पौडेलले माधवनिकट मानिएका नेताहरूलाई सत्ता हस्तान्तरण गरेका थिए ।
तर, पार्टी विभाजनसँगै प्रदेश सभामा भएको अंकगणितको फेरबदलले यी दुवै प्रदेशमा गठबन्धनलाई आफ्नो नेतृत्वमा सरकार बनाउने बाटो खुला भएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभामा एमालेका ५१ सांसद थिए ।
तर, ५१ मध्ये एकीकृतमा १० जना खुलेसँगै आचार्यको कुर्सी धरापमा परेको छ । त्यसैगरी, बागमतीमा एमालेका ५६ मध्ये १३ सांसद एकीकृत समाजवादीतिर लागेपछि शाक्यले बहुमत गुमाएकी छिन् । एक सय नौ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५५ सांसद चाहिन्छन् ।