१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Saturday, 28 September, 2024
टेकराज थामी काठमाडाैं
२o७८ भदौ १८ शुक्रबार o९:१६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हत्या र हतियार चोरी मुद्दामा  सैनिक गंगाधरलाई जन्मकैद

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार o९:१६:oo

चितवनस्थित कालीबहादुर गणबाट हतियार चोरीको अभियोग लागेका अमल्दार लवकुमार र सिपाही सरोज कैदमुक्त हुन सक्ने

नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार चोरी गरी आफ्नै सहकर्मीको हत्या गर्ने चितवन भरतपुर– २१ का २६ वर्षीय गंगाधर ढकाललाई समरी जनरल सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयमा बुधबार बसेको अदालतले ढकालविरुद्ध यस्तो फैसला गरेको हो । 

ढकालविरुद्ध ज्यान मुद्दा र हतियार चोरीसम्बन्धी मुद्दा लगाइएको थियो । त्यसमा आफ्नै संलग्नता स्वीकार गरेपछि अदालतले ढकालविरुद्ध जन्मकैद (२५ वर्ष)को फैसला गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘ढकालविरुद्ध दुईवटा मुद्दा दायर भएको थियो । सोही मुद्दाको सैनिक अदालतमा बहस भयो । प्राप्त प्रमाणका आधारमा अदालतले ढकालविरुद्ध जन्मकैदको फैसला गरेको छ । आरोपितले पनि कसुर स्वीकार गरेका छन्,’ प्रवक्ता पौडेलले बताए । अदालतको फैसलापछि ढकाललाई बिहीबार नै सुन्धाराको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा पठाइएको छ । 

उनले गत ७ साउनमा धादिङ नीलकण्ठ– ७ का भरत गुरुङलाई गोली हानी हत्या गरेका थिए । मृतक गुरुङ र ढकाल काठमाडौंको शिवपुरीस्थित सेनाको दी फेमस महिन्द्र दल गणमा कार्यरत थिए । जग्गा किन्न हिँडेका गुरुङको शव ७ साउनको दिउँसो चितवनको भरतपुर– १७ सिमलडाँडास्थित नालामा फेला परेको थियो । गुरुङको हत्यामा ‘केआर १००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) प्रयोग गरेका थिए । जुन हतियार उनले तीन वर्षअघि कालीबहादुर गणको हतियार गरतबाट चोरी गरेका थिए । अदालतसमक्ष उनले आफ्नै संलग्नतामा उक्त हतियार चोरी गरेको बयान दिएको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए । 

उनले भने, ‘तीन वर्षअघि कालीबहादुर गणबाट चोरी गरिएकै हतियारबाट उसले गुरुङको हत्या गरेको अदालतमा स्वीकार गरेको छ । सोही आधारमा अदालतले पनि आवश्यक सजाय सुनुवाइ गरेको हो ।’

त्यसलगत्तै भएको अनुसन्धानमा गुरुङको हत्यामा सोही गणमा कार्यरत चितवन भरतपुर– २१ का २६ वर्षीय गंगाधर ढकाल संलग्न रहेको देखाएपछि भरतपुरको चनौली बजारबाट प्रहरीले पक्राउ गरिएको थियो । 

कैद सजाय भुक्तान गरिरहेका दुई सैनिक जेलमुक्त हुन सक्ने

भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालले चितवनस्थित कालीबहादुर गणबाट ‘केआर १००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) चोरीमा आफ्नो मात्रै संलग्नता रहेको स्वीकार गरेपछि कैद सजाय भुक्तान गरिरहेका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले न्याय पाउने सम्भावना बढेको छ ।

सैनिक मुख्यालयमा बिहीबार बसेको विशेष सैनिक अदालत लवकुमार र सरोजको पक्षमा सकारात्मक रहेको सैनिक स्रोतले जानकारी दिएको छ । भरतको हत्यामा संलग्न ढकालले कालीबहादुर गणबाट हतियार चोरी गरेको स्वीकार गरेको र छानबिनका क्रममा प्राप्त प्रतिवेदनले पनि त्यही देखाएको हुँदा अदालतको फैसला लवकुमार र सरोजको पक्षमा रहेको सैनिक स्रोतको दाबी छ । 

बिहीबार दिउँसो ३ बजे उच्च अदालत पाटनका न्यायाधीश लोहती चन्द शाहको संयोजकत्वमा सैनिक विशेष अदालत बसेको थियो । अदालतमा सदस्यका रूपमा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेल र उपरथी रत्नशमशेर थापा रहेका थिए । अदालतमा प्राप्त प्रमाणका आधारमा बहस भएको थियो । तर, अदालतले फैसला शुक्रबार मात्रै सार्वजनिक गर्ने जानकारी दिएको छ । 

‘केआर १००७९२’ हतियार चोरी गरेको अभियोगमा सैनिक अदालतले अमल्दार लवकुमार र सरोजलाई दोषी ठह¥याएको थियो । उनीहरू २८ महिनादेखि चितवनस्थित सैनिक कारागारमा सजाय भुक्तान गरिरहेका छन् । कसुर प्रमाणित गर्दै सैनिक अदालतले लवकुमारविरुद्ध १० र सरोजविरुद्ध सात वर्ष कैद सजयको फैसला गरेको थियो । उनीहरूसँगै पक्राउ परेका अर्का सिपाही सुबी गुरुङविरुद्ध भने तीन महिना कैद र जागिरबाट बर्खास्त हुनै फैसला अदालतले गरेको थियो । 

हतियार चोरीमा लवकुमार र सरोज संलग्न नभई ढकाल रहेको तथ्य बाहिरिएपछि पीडितका आफन्तले सेनासमक्ष हारगुहार गरेका थिए । सोही आधारमा सेनाले घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।