१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार ०८:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर धितो कर्जामा परिवारका सबैलाई एकल कर्जा सीमा लागू हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार ०८:००:००

सेयर धितोमा कायम गरिएको एकल ग्राहक कर्जा सीमा परिवारका सबैलाई लागू हुने भएको छ । राष्ट्र बैंकले केही दिनअघि सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरेको थियो । राष्ट्र बैंकको एकल ग्राहकसम्बन्धी व्यवस्थाले आपसी सम्बन्ध भएका ग्राहकहरूलाई एउटै समूह मानिने एकीकृत निर्देशनमा उल्लेख गरेको छ ।

सो निर्देशनअनुसार कुनै व्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेडका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा त्यस्ता व्यक्ति, सञ्चालक, सेयरधनी, साझेदार वा प्रोप्राइटरका एकाघरमा बसोवास गरी आएका वा छुट्टै भिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नुपर्ने दाजु, भाइ तथा दिदी, बहिनीलाई समेत एउटै समूह मानिने र एकल ग्राहक कर्जा सीमा लागू हुने भएको छ । ‘परिवारका सदस्य मात्र होइनन्, कर्जाका लागि जमानत बस्नेलाई पनि एउटै समूह मानिएको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने । एकीकृत निर्देशनले एउटा ग्राहक वा कम्पनीले अर्को ग्राहक वा कम्पनीलाई जमानत दिएको भए त्यस्ता ग्राहक वा कम्पनीहरू पनि एउटै समूहमा मानिने व्यवस्था गरेको छ । 

साउन अन्त्यसम्ममा २४ वाणिज्य बैंकहरूले सेयरको धितोमा ७ सय २० जनालाई सीमाभन्दा बढी सेयर लगानी गरेका छन् । बैंकहरूले यी सेयर लगानीकर्तालाई ३५ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको तथ्यांक छ । राष्ट्र बैंकले यस्तो एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएमा कर्जालाई क्रमिक रूपले घटाउँदै कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ, सो अवधिभित्र नियमित गरिसक्न निर्देशन दिएको छ । 

एउटै वाणिज्य बैंकबाट ४ करोडभन्दा बढी रकम लिएको अवस्थामा भने यी ग्राहकले करिब ६ अर्ब ६० करोड रुपैयाँ घटाउनुपर्छ । यद्यपि यी लगानीकर्ताले प्रतिग्राहक १२ करोडको दरमा समग्र प्रणालीबाट अधिकतम ८६ अर्ब ४० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने अवस्था छ । सेयर बिक्री नगरी अन्य संस्थाबाट कर्जा लिएर पनि ग्राहकले यो हिसाब मिलाउन सक्ने अवस्था भने रहन्छ । 

व्यवसाय गर्न सेयर धितोमा कर्जा लिनेका लागि भने एकल कर्जा सीमा लागू नहुने राष्ट्र बैंकका अधिकारीहरूले मौखिक रूपमा स्पष्ट पार्दै आएका छन् । निर्देशनमा भने यसलाई स्पष्ट पारिएको छैन । सेयर खरिदकै लागि सेयर धितोमा कर्जा लिनेहरूलाई लक्षित गरेर एकल कर्जा सीमा लागू गरिएको ढकालले स्पष्ट पारे । 
बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जामा उल्लेख्य दरमा वृद्धि भएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । एक वर्षमा बैंक तथा वित्तीय संस्थाले शतप्रतिशतभन्दा धेरैले सेयर धितोमा कर्जा वृद्धि गरेका छन् । असार ०७७ मा ५० अर्ब यस्तो कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूको असार ०७८ मा यो कर्जा रकम १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको थियो ।