![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Share-market-_-nayapatrika2020-02-27-09-35-40.jpeg)
करेक्सनपछि सेयर बजारमा हरियाली छाएको छ। बिहीबार नेप्से परिसूचक १७ दशमलव ६० अंकले बढेर तीन हजार ९४ बिन्दुमा पुगेर बन्द भएको छ। त्यसैगरी ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ३५ अंकले बढेर पाँच सय ७४ दशमलव ३४ बिन्दुमा पुगेको छ।
तीन कारोबार उच्च अंकसहितको करेक्सनपछि साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा हरियाली छाएको हो। सेयर बजारमा करेक्सन हुँदै अघि बढ्नु सकारात्मक मानिन्छ।
नेप्से उच्च बिन्दुमा प्रवेश गरेपछि करेक्सन हुनु सकारात्मक मानिन्छ। नेप्सेले उच्च बिन्दु पार गरेपछि करेक्सन रोज्नुलाई लगानीकर्ता तथा विश्लेषकहरू सकारात्मक मान्ने गर्छन्।
अघिल्लो दिनका कारोबारमा जलविद्युत् समूहको सूचकमा नकारात्मक हुन पुगे पनि सो दिन जलविद्युततर्फ लगानीकर्ताहरूको आकर्षण बढेको हो। बिहीबार कारोबारमा आउने १३ समूहको सूचकमध्ये जलविद्युत् समूह सूचक पाँच दशमलव ५९ प्रतिशत, विकास बैंक चार दशमलव ५२ प्रतिशत र फाइनान्स चार दशमलव २५ प्रतिशत रहेको छ। यसैगरी लगानीकर्ताकाे माइक्रो फाइनान्स पनि आकर्षण देखिएकाे छ। जीवन बिमा, निर्जीवन बिमा समूहको सूचक भने नकारात्मक बन्न पुगेका छन्।
नाै कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार
बिहीबार नाै कम्पनीको सेयर सर्किट मूल्यका कारोबार भएको छ। सर्किट मूल्यका कारोबार हुने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट, आँखुखोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, खानीदखोला हाइड्रो पावरको सेयर मूल्य सर्किट मूल्यमा कारोबार भएको हो। त्यसैगरी सिनर्जी पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, माउन्टेन इनर्जी, मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता नाफा आर्जन गर्न सफल भएका छन्।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३२ कम्पनीको दुई करोड १६ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।
पहिलो कारोबार हुने अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ। कम्पनीमा ९३ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रो कारोबार हुने कम्पनीमा अरुण काबेली हाइड्रोपावर कम्पनीको ४५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा रिडी हाइड्रोपावर कम्पनीमा ३४ करोड ५६ लाख रुपैयाँको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको ३१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ। कामना सेवा विकास बैंकको ३० करोड रुपैयाँको कारोबार भएको छ।