मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ७ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ भदौ ७ सोमबार o९:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेको तेस्रो धार ओलीसँग सशंकित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ७ सोमबार o९:१८:oo

पार्टी एकताका लागि १०बुँदे सहमति कार्यान्वयनका पक्षमा देखिएको एमालेको तेस्रो धारको नेतृत्व गरिरहेका उपाध्यक्ष भीम रावल एकता अभियान सफल हुनेमा सशंकित देखिएका छन् । आइतबार सुदूरपश्चिमका करिब एक दर्जन नेतासँगको छलफलमा उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमार्फत एकता जोगाउने प्रयास जारी राखिए पनि सफल हुने ठोस आधार निश्चित नभइसकेको सुनाएका छन् । 

‘पार्टीमा जुन दुर्घटना हुन गइरहेको छ, यस्तो वेला कार्यदललाई दिएको म्यान्डेटमा टेकेर अन्तिमसम्म कोसिस गर्न अझै पनि छलफलमै छौँ, आज पनि छलफल चलिरहेको छ,’ रावलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उतातिरका (ओली पक्षका) कार्यदलका साथीहरूले सहमति कार्यान्वयन हुन्छ भन्ने राम्रै कुरा गर्नुभएको छ, अध्यक्षलाई मैले पनि मिलाइहाल्नुस् भनेको हुँ, तर कहाँ गएर टुंगिएला भनिहाल्ने स्थितिचाहिँ छैन ।’ 

वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी दर्ता प्रक्रियालाई अन्तिम रूप दिने कोसिस गरिरहेका वेला उनकै समूहका करिब तीन दर्जन केन्द्रीय सदस्यको छुट्टै भेलामार्फत एकता जोगाउने कोसिसमा रहेका रावलले धेरै कुरा ओलीमै निर्भर रहेको बताए । उनले अध्यक्ष ओली १०बुँदे अक्षरशः कार्यान्वयनका लागि तयार भए मात्र एकता जोगिने प्रस्ट्याएका छन् ।

रावलसहित एकताको पक्षमा रहेका तीन दर्जन केन्द्रीय सदस्यले शुक्रबार भेला गरेर मंगलबारभित्र १०बुँदे कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई समयसीमा दिएका थिए । त्यसयता रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेताहरू अध्यक्ष ओली तथा उनीनिकट विष्णु पौडेल, सुवास नेम्वाङलगायत नेतासँग निरन्तर संवादमा छन् । तर, आइतबार साँझसम्म कुनै प्रगति भएको छैन । 

सुदूरपश्चिमका भानुभक्त जोशी, गरिमा शाह, गणेश विक, डा. दीपक भट्ट, तारा लामा, उर्वादत्त पन्त, परमानन्द भट्ट, वीरेन्द्र भण्डारीसहित एक दर्जन नेताले पार्टी एक नभएको स्थितिमा के गर्नेलगायत विषयमा रावलसँग जिज्ञासा राखेका थिए । तर, रावलले आफूहरूलाई सहमति कार्यान्वयन हुने विषयमा आश्वस्त नगराएको मात्र होइन, त्यसपछि के गर्नेबारे पनि प्रस्ट नपारेको नेताहरूको भनाइ छ ।

छलफलमा सहभागी डा. भट्टले उपाध्यक्ष रावलले एकता जोगाउन अन्तिमसम्म कोसिस गरिने बताएको जानकारी दिए । रावलले एकता सफल नभए साथ माधव नेपाललाई नै हुने बताएका थिए । ‘छुट्टिँदाखेरि त म स्वाभाविक रूपमै माधव नेपालसँगै हुने हो । उहाँकोे पार्टीमा आजै जाने या भोलि जाने ठूलो होइन, तर मेरो मुख्य उद्देश्य पार्टी मिलाउन सकिन्छ कि भन्ने मात्र हो,’ छलफलमा सहभागी अर्का एक नेताले रावलको भनाइ उद्धृत गर्दै भने । 

‘उहाँले मिल्छ कि मिल्दैन थाहा छैन, तर मिलाउनुपर्छ भन्ने अभियानमा छौँ भन्नुभयो,’ छलफलमा सहभागी कञ्चनपुरका अध्यक्ष तारा लामाले भने, ‘पार्टी मिलाउनुपर्छ भन्दैमा ओलीसँग जान खोजेको होइन र त्यसको अर्थ माधव नेपाल छाडिहालेको अवस्था पनि होइन भन्ने उहाँको भनाइ हो भन्ने बुझेका छौँ ।’ १०बुँदेको स्पिरिट त्यही भएकाले ओलीसँग समर्पण गर्न नसकिने उनीहरूको भनाइ छ । ‘१०बुँदे सहमति कार्यान्वयन नहुँदा यो शक्ति केपी ओलीसामु आत्मसमर्पण गरेर एमालेमा जाँदैन भन्ने कुरा स्पष्ट नै छ,’ सांसदसमेत रहेका नेता डा. भट्टले भने ।