१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Saturday, 06 July, 2024
नारायण रिजाल बागलुङ
२o७८ भदौ ५ शनिबार ११:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

विदेशबाट फर्किएर आफ्नै माटोमा अवसर खोज्दै युवा, करोडौँको लागतमा ‘एग्रो रिसोर्ट’ सञ्चालन

Read Time : > 2 मिनेट
नारायण रिजाल बागलुङ
नयाँ पत्रिका बागलुङ
२o७८ भदौ ५ शनिबार ११:५२:oo

युवा उमेरमा वैदेशिक रोजगारीमा जाने मोह चल्यो। गाउँमा ऋण धन गरेर वैदेशिक रोजगारीका लागि जापान गए। जापानमा कमाई राम्रै थियो। परिवारसहित उतै व्यवसाय गरेर ११ वर्ष बिताएका खड्क केसी अहिले गाउँ फकिएर आफ्नै माटोमा रमाएका छन्।

बाग्लु नगरपालिका–३ खहरेका ४८ वर्षीय केसीले गाउँमा करोडौं लगानी गरेर अवसरको खोजी गरेका छन्। जापानमा रहँदा आफ्नै व्यवसाय संचालन गरेका केसी दम्पतीको कमाई पनि राम्रै थियो। ११ वर्षपछि गाउँ फर्किएर यतै व्यवसायमा रमाउने निधो गरे। अहिले गाउँमा नै करिब साढे ४ करोड रुपैयाँको लगानीमा कृषि फर्मसहित एग्रो रिसोर्ट संचालनमा ल्याएका छन्। मध्यपहाडी लोकमार्गको छेउमै ‘केसी एकीकृत पशु विकास ब्रिडर फर्म तथा सिमलचौर खहरे एग्रो रिसोर्ट’ संचालनमा ल्याएका हुन्।

‘जापानमा हुँदा कमाई राम्रै थियो। आफ्नै व्यवसाय संचालन गरेका थियौं,’ केसीले भने, ‘बाबा बिरामी भएर गाउँ आयौं। यहाँ आएपछि फर्केर जान मन लागेन। पहिलेदेखि नै गाउँमा नै केही गर्नुपर्छ भन्ने सोच थियो। त्यो सोचलाई अहिले पुरा गर्दैछौं।’ नौ वर्ष पहिले विदेशबाट फर्किएपछि ५० लाखको लगानीबाट सुरु गरेको व्यवसाय अहिले ४ करोड ५० लाखभन्दा बढी पुगिसकेको छ। फर्म र रिसोर्टमा उनको एकल लगानी छ। व्यवसाय संचालन गर्नका लागि उनले कुनै सरकारी निकायबाट अनुदान लिएका छैनन्। सुरुको लगानीबाट आएको प्रतिफललाई हरेक वर्ष थप्दै अहिले करोडौं पुर्‍याएको केसी बताउँछन। ‘हाम्रो व्यवसायलाई अहिलेसम्म कहीँकतैबाट अनुदान आएको छैन। यसको खोजी पनि गरेका छैनौं,’ केसीले भने, ‘बैंकबाट दुई करोड रुपैयाँ ऋण निकालेर लगानी बढाएको हुँ। बाँकी सबै यहीँबाट भएको आम्दानीलाई थप गर्दै गएको छु। अहिले नै प्रतिफलको आशाले भन्दा पनि २/३ वर्ष पछिको प्रतिफलको आशाले लगानी बढाएको हुँ। विदेशमा दुःख गरेर कमाएको पैसा अहिले यहाँ लगानी गरेको छु।’ संरचना बनाउँदा, बैंकको किस्ता तिर्दा र नयाँनयाँ व्यवसाय थप्दा कमाएको पैसा जति यतै खर्च भएको केसीले बताए।

मौलिक स्वाद पाउने वातावरण
केसीले कृषि जोडिएकाले पशुपालन, तरकारी खेती, माछा लोकल कुखुरालगायतको उत्पादनसहित रिसोर्ट संचालनमा ल्याएका छन्। फर्ममा लोकल र लेयर्स जातका (अण्डा उत्पादन गर्ने) गरी ३ हजार ५ सय कुखुरा छन् भने। फर्ममा दूधका लागि गाई भैंसी तथा मासुका लागि बाख्रा, कुखुरा हाँस र माछा पालेका छन्। मौसमी तथा बेमौसमी तरकारी समेत  उत्पादन गरिरहेका उनले दुई हजारजति माछाका भुरा राख्ने तयारी थालेका छन्। उत्पादन गरेको सबै वस्तुका लागि बजारको समस्या नरहेको केसीको भनाइ छ । फर्म र रिसोर्टको संरचना अहिले २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये १२ रोपनी जग्गा आफ्नै छ भने १० रोपनी वार्षिक ५० हजार भाडा तिरेर लिजमा लिएका छन्।

परिवारमा उनीसहित आमा, श्रीमती, एक छोरा र एक छोरी रहेका केसीलाई श्रीमती भगवती केसीले पनि व्यवसायमा साथ दिँदै आएकी छिन्। ‘बागलुङ सदरमुकाम र लोकमार्गको नजिकै छ । लोकमार्गबाट हिँड्नेले यहाँ आएर मौलिक स्वाद पाउने वातावरण बनाएका छौं’ केसीले भने,‘कुनै पनि आयात गरिएको खाना दिन नपारोस् भनेर रिसोर्टको काम थाल्यौं ।’ लकडाउनका कारण रिसोर्टको औपचारिक रुपमा संचालनमा ल्याएका छैनौ दशैँसम्म संचालनमा आउँछ।’ रिसोर्टमा हाल पाँच वटा गेष्टरुम छ भने आराम र पारिवारिक खानपानका लागि छुट्टै ‘कटेज’हरु पनि बनाइएको छ । स्विमिङ पुललगायतका संरचनाहरु थप्ने उनको योजना छ।

आन्तरिक पर्यटकलाई लक्षित गरी कृषि फर्मसँगै रिसोर्ट
फर्ममा माछापालनका लागि थप पोखरी निर्माणको क्रममा रहेका छन् भने ‘काउ जोन’ बनाउने उद्देश्यले संरचना बनाउने तयारीमा रहेका छन्। आफु पनि विदेशमा दुःख गरेर फर्किएको र धेरै युवाले गाउँघर छाडिरहेका बेला गाउँमा नै सम्भावना देखेर लगानी गरेको केसीको भनाइ छ। विषेश गरी आन्तरिक पर्यटकलाई लक्षित गरी कृषि फर्मसँगै रिसोर्ट पनि संचालनमा ल्याइएको केसी बताउँछन । घुमफिर, मौलिक खानपान र संस्कृतिमा रमाउन चाहनेलाई रिर्सोट उपयुक्त छ।

एग्रो रिसोर्टले पर्यटन प्रवर्द्धनमा सहयोग
पछिल्लो समयमा करोडौंको लगानी गरेर कृषिसँगै जोडेका एग्रो रिसोर्टले जिल्लाको पर्यटकीय गतिविधिमा टेवा पुर्‍याउने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्का बताउँछन्। जिल्लाको पर्यटन प्रबद्र्धनमा कृषिसँगै स्तरिय होटल, रिसोर्टजस्ता पर्यटकीय पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको भनाइ छ। ‘पर्यटन क्षेत्रको विकासका निम्ती कृषिलाई सँगै जोड्न जरुरी छ,’ खड्काले भने, ‘तिनै तहका सरकारले यस क्षेत्रमा लगानी गर्नेका लागि प्रोत्साहन गर्न जरुरी छ । कृषि र पर्यटनको सँगसँगै विकास गर्दै लगियो भने यसले दिर्घकालिन फाईदा गर्नेछ।’ एग्रो रिसोटले दिने स्थानीयपनले पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने खड्काको विश्वास छ।

ad
ad
ad
ad