मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Friday, 22 November, 2024
मञ्जु टेलर काठमाडाैं
२o७८ भदौ ३ बिहीबार o९:२o:oo
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महामारीपछिको मानसिक स्वास्थ्य : विश्वभर २१.३ प्रतिशतले बढ्यो मानसिक समस्या

काठमाडौं उपत्यकामै १४ प्रतिशतले वृद्धि

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार o९:२o:oo

कम आय भएका देशहरूमा सिभियर मेन्टल डिसअर्डर खेपिरहेका ७६ देखि ८५ प्रतिशत उपचारबाट वञ्चित : विश्व स्वास्थ्य संगठन

नेपालमा महामारीपछि मानसिक समस्याबारे बृहत् अध्ययन नभए पनि स्वास्थ्य समस्या लिएर अस्पताल  आउने प्रत्येक १० जनामध्ये एकजनाले कुनै न कुनै मानसिक समस्या भोगिरहेको चिकित्सकहरूको अनुमान

झम्सीखेलमा व्यवसाय गर्दै आएकी सिता धामी (नाम परिवर्तन) टाउको एक भाग दुख्ने, जिउ सुन्निने, मांसपेसीहरू दुख्ने समस्या भएपछि तीन साताअघि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । टाउको दुख्ने समस्याबाट मुक्ति पाउन उनी दुखाइ कम गर्ने औषधि दिनहुँ खान्थिन् । तर, औषधिले पनि केहीबेर ठीक हुने र फेरि दुख्ने भएपछि उनी अस्पताल गएकी हुन् । 

सम्पूर्ण स्वास्थ्य परीक्षणपछि चिकित्सकले उनलाई सिभियर एन्जाइटी बढेको बताए । चिकित्सकले पहिलो चरणमा दुई साताका लागि औषधि लिन सल्लाह दिएका थिए । तर, औषधि खान छाडेपछि रिस उठ्ने, खान मन नलाग्ने, झर्किने, रुनेजस्ता व्यवहार देखिन थालेपछि उनलाई थप एक महिनाको औषधि दिइएको छ ।

नियमित परीक्षणका लागि अस्पताल पुगेकी धामी भन्छिन्, ‘कोरोना महामारीका कारण लामो समय पसल ठप्प हँुदा कोठाभित्रै बसेर रुन मन मात्रै लाग्थ्यो, यही कुरा मनमा खेल्न थालेपछि टाउको दुख्ने र बिस्तारै जिउ दुख्न थाल्यो । अघिल्लो वर्ष पनि यस्तो हुन्थ्यो, तर यसपालि निकै गाह्रो भयो ।’ 

वैशाखमा कोभिड संक्रमण पुष्टि भएर १६ दिन अस्पताल बसेका ५४ वर्षीय राज श्रेष्ठ (नाम परिवर्तन) लाई घर फर्किएपछि जिउ भारी हुने, आत्तिने, निन्द्रा नलाग्नेजस्ता समस्या देखिन थाल्यो । पोस्ट कोभिड सिन्ड्रोम हुन सक्ने भन्दै उनले यी समस्यालाई बेवास्ता गरे ।

तर, समस्या झनै बढ्दै गयो । असारको पहिलो सातातिर काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गराउँदा पोस्ट कोभिड सिन्ड्रोम नदेखिएपछि दैनिक काममा फर्के । तर, आत्तिने, स–सानो कुरामा डराउने र निद्रा नलाग्न थालेपछि फेरि स्वास्थ्य परीक्षण गराए । यसपटक भने उनलाई डिप्रेसन भएको पुष्टि भयो । श्रेष्ठ अहिले नियमित औषधि सेवनका साथसाथै मनोपरामर्श लिइरहेका छन् । 

अस्पतालहरूमा कोभिडका बिरामी कम हँुदै गए पनि मानसिक समस्या अर्थात् मनोवैज्ञानिक तनाव, एन्जाइटी र डिप्रेसनका लक्षण लिएर पुग्नेहरू बढिरहेको बताउँछन् त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा । उनी भन्छन्, ‘पछिल्लो वर्ष गरिएको विश्वव्यापी अध्ययनले महामारीपछि २० प्रतिशतले मानसिक समस्या बढेको तथ्यांक सार्वजनिक भएको थियो । नेपालमा कोभिडपछि मानसिक समस्याबारे अध्ययन नभए पनि समस्या लिएर अस्पताल आउने प्रत्येक १० जनामध्ये एकजनाले कुनै न कुनै मानसिक समस्या भोगिरहेको अनुमान गर्न सकिन्छ ।’ 

 प्रा.डा. सरोज ओझा, त्रिवि शिक्षण अस्पताल

एन्जाइटी र डिप्रेसन बढेको हिसाबले आत्महत्याको दर बढ्नु स्वाभाविक जस्तै हो । एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या रोकथाम गर्न सकेमा आत्महत्या आफैँ नियन्त्रणमा आउँछ । 

स्वास्थ्य अनुसन्धान परिषद्ले जनवरी २०१९ देखि जनवरी २०२० सम्म १३ वर्षभन्दामाथिका १५ हजारभन्दा बढीमा गरेको सर्वेक्षणले महामारीपछि मेन्टल डिसअर्डर अर्थात् मानसिक समस्या तीव्र रूपमा बढ्दै गएको देखाएको छ । सर्वेक्षणमा सहभागीहरूमध्ये १० प्रतिशतमा जीवनमा एकपटक मेन्टल डिसअर्डर हुनेमा पछिल्लो एक वर्षमा मात्रै ४.३ प्रतिशतमा मेन्टल डिसअर्डर देखिइसकेको उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश १ मा १३.१ प्रतिशतमा मानसिक समस्या देखिएको छ । लाइफटाइम मेन्टल डिसअर्डर अर्थात् जीवनमा एकपटक मानसिक समस्याको दर ४० देखि ४९ वर्ष उमेर समूहमा सबैभन्दा बढी रहेको हो । यस्तै बागमती प्रदेशमा ५.९ प्रतिशतले मानसिक समस्या बढेको पाइएको छ । यस्तै मानसिक समस्या झेलिरहेका आधाभन्दा बढी प्रतिशत वयस्क पुरुष रहेको सर्वेक्षणले देखाएको छ । 

काठमाडौं उपत्यकामै १४ प्रतिशतले वृद्धि
कोलम्बिया युनिभर्सिटीले कोभिड महामारीपछि मानसिक स्वास्थ्यमा पारेको असरबारे गरेको विश्वव्यापी सर्वेक्षणमा एसियाली देशहरूमा डिप्रेसनको दर १.३ प्रतिशतबाट बढेर ३.४ प्रतिशत पुगेको देखाएको छ । यस्तै एन्जाइटीको दर २.१ बाट ४.१ प्रतिशतले बढेको उल्लेख छ । मार्च २०२१ मा प्रकाशित उक्त सर्वेक्षणले महामारीमा विश्वभर २१.३ प्रतिशतले मानसिक समस्या बढेको देखाएको छ ।

आर्थिक अवस्था कमजोर भएका र रोजगारी गुमाएका व्यक्तिहरूमा मानसिक समस्या बढी देखिएको विभिन्न अध्ययनले देखाएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले २०१७ देखि २०२१ सम्म गरेको अर्को सर्वेक्षणअनुसार काठमाडाैँ उपत्यकामा मात्रै मानसिक समस्याको वृद्धिदर १४ प्रतिशतभन्दा बढी रहेको देखाएको छ । 

उपचारमा न्यून पहुँच
महामारीले निम्त्याएको असामान्य अवस्थापछि बढेको तनावका कारण बढेको एन्जाइटी, डिप्रेसन र आत्महत्याको दर प्रत्येक वर्ष बढ्दै गए पनि उपचारमा न्यून पहुँच रहेको पाइन्छ । परिषद्ले महामारीपछि गरेको सर्वेक्षणले मानसिक समस्या देखिएका वयस्कहरूमध्ये २३ प्रतिशतले मात्रै चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखाएको छ । जसमध्ये पनि विशेषज्ञ चिकित्सकको सम्पर्कमा रहेर उपचार गर्नेको संख्या ६.५ प्रतिशत मात्रै रहेको उल्लेख छ । नेपालमा मात्रै नभई विश्वभरि नै आयस्रोत कम भएका देशहरूमा मानसिक समस्याको उपचारमा अधिकांशको सहज पहुँच नहुँदा समस्या विकराल बन्दै गएको अध्ययनहरूले देखाएका छन् । विश्व स्वास्थ्य संगठनको अर्को अध्ययनअनुसार, कम आय भएका देशहरूमा सिभियर मेन्टल डिसअर्डर खेपिरहेका ७६ देखि ८५ प्रतिशत उपचारबाट वञ्चित छन् ।

स्वास्थ्यकर्मीमा समेत डिप्रेसन दर बढ्दो 
प्लस जर्नलले मार्चमा प्रकाशित गरेको एक सर्वेक्षणमा महामारीमा खटिएका स्वास्थ्यकर्मीहरूमध्ये प्रत्येक पाँचजनामा एकजनाले सिभियर स्ट्रेस, एन्जाइटी वा डिप्रेसन खेपिरहेको उल्लेख गरेको थियो । स्वास्थ्य अनुसन्धान परिषद्ले जुन २०२० मा देशभरका चार सय चारजना स्वास्थ्यकर्मीमा गरेको अनलाइन सर्वेक्षणमा १७.१ प्रतिशतले मनोवैज्ञानिक तनाव, ३५.७ प्रतिशतले एन्जाइटी र २९ प्रतिशले डिप्रेसनको लक्षण देखिएको बताएका थिए ।

अध्ययनले महामारीमा संक्रमणको जोखिम लिएर काम गर्दा हुने तनाव व्यवस्थापन नहुँदा स्वास्थ्यकर्मीहरूमा मानसिक समस्या बढिरहेको निष्कर्ष निकालेको छ । मंसिर २०७७ मा स्वास्थ्य मन्त्रालयको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–०७७ ल्याए पनि मानसिक समस्या रोकथामका लागि उपयुक्त कार्यक्रम नबनाएको आरोप छ । महामारीपछि एन्जाइटीका कारण निम्तिने गम्भीर मानसिक स्वास्थ्य समस्याबारे बहस भइरहे पनि तनाव व्यवस्थापनका लागि सामान्य तालिमको समेत व्यवस्था गरिएको छैन । सर्वेक्षणमा सहभागी स्वास्थ्यकर्मीहरूमध्ये ७० प्रतिशतभन्दा बढीले कुनै किसिमको तालिम वा ओरेन्टेसन नपाएको दुखेसो गरेका छन् ।

स्वास्थ्य अनुसन्धान परिषद्ले २०१९ जनवरीदेखि २०२० जनवरीसम्म गरेको एक सर्वेक्षणमा सहभागी वयस्कमध्ये ६.५ प्रतिशतमा ‘सुसाइडल थट’ अर्थात् आत्महत्याको सोच रहेको र १.१ प्रतिशतले ‘लाइफटाइम सुसाइडल अटेम्ट’ अर्थात् जीवनमा आत्महत्याको प्रयास गरेको देखाएको छ । नेपाल प्रहरी र स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांकले प्रतिवर्ष आत्महत्याको दर बढ्दै गएको देखाए पनि कारण भने खुलाएको पाइँदैन । पछिल्लो समय आत्महत्याको दर बढ्नुको मुख्य कारण महामारीले निम्त्याएको एन्जाइटी र डिप्रेसन भएको बताउँछन्, प्राडा सरोज ओझा । उनी भन्छन्, ‘एन्जाइटी र डिप्रेसन बढेको हिसाबले आत्महत्याको दर बढ्नु स्वाभाविकजस्तै हो । एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या रोकथाम गर्न सकेमा आत्महत्या आफैँ नियन्त्रणमा आउँछ ।’