शान्त ठाउँमा बसेर नाटक, पुस्तकमाथि छलफल गर्न सकिने, थिएटरभित्र बसेर अभिनयको परख गर्न सकिने। नाटक हेरेर हाँस्न पाइने, तर ताली बजाउन नपाइने। यस्तै सुविधा र सर्तहरु हुन्छन् थिएटरहरुमा। आधा दशकभन्दा ज्यादा वर्षहरु यसैगरी सकायो शिल्पी थिएटरले। तर, अहिले भने थिएटरको परिवेश बदलिएको छ।
शिल्पी थिएटर पुग्ने कला पारखीलाई थप सुविधा छ, कफीमा रम्न सक्छन् अथवा रेस्टुरेन्टमा बसेर मदिराको प्यालामा झुम्न सक्छन्। थिएटरको क्षेत्राधिकारको एक कुनामा बसेर सिग्रेटको पफ लिन सक्छन्। दर्शकका लागि रेस्टुरेन्टको यो सुविधा थपिएको धेरै वर्ष भएको छैन। करिब दुई वर्षअघि लेखक कुमार नगरकोटीको नाटक ‘बाथटब’को मन्चनको दौरान यो सुविधा पनि शिल्पीमा मन्चन भएको हो।
पहिलो लकडाउनको समयदेखि भने जंक्सन बन्यो यस ठाउँ। कवि, लेखक, पत्रकार, रंगकर्मी भेला भए, सेवा उपभोग गरे। टेबल टेनिस खेले, क्यारम बोर्ड खेले। कलाको पनि सेवा, रेस्टुरेन्टको पनि सेवा – नाट्यकर्मी घिमिरे युवराजले निकै अघि देखेको मोर्डन थिएटरको सपना थियो यो। सात वर्षअघि १५ वर्षका लागि भने शिल्पीको जग्गा लिजमा लिँदै गर्दा नै यस किसिमको सपना देखेका थिए।
सपना त घिमिरे युवराजको अझैं वृहत् थियो। उनी चाहन्थे, अझैं ठूलो पुस्तकालय होस् अथवा अझैं ठूलो आर्ट ग्यालरी होस्। तर, उनका सीमाहरु थिए, स्रोतसाधनका सीमाहरु थिए। उनले जति गर्न सक्थे गरे, एक रेस्टुरेन्टका लागि कुनामा ठाउँ निकाले, इन्द्रध्वज क्षत्रीलाई भाडामा दिए। उक्त भाडाले उनलाई शिल्पीको भाडा तिर्न पनि केही सहज बनायो।
स्वतन्त्र र सृजनशील मान्छे भेट हुने युरोपतिरका यस्ता विशेष ठाउँहरुमा राज्यले सीधा सरोकार राखेका हुन्छन्। सृजनशील मान्छेहरु त्यहाँ गएर सृजना कर्म गर्छन्। तर, नेपालमा घिमिरे युवराजहरुले व्यक्तिगत पहलमै गरिरहेका छन् जुनुनका कारण। राज्यको उपस्थिति लगभग शून्यप्राय छ। त्यही व्यक्तिगत पहल चलमलाइरहनका लागि उनले रेस्टुरेन्टको कन्सेप्ट पनि निकाले।
शिल्पीमा थपिएका सुविधा
घिमिरे युवराजले देखेका छन्, युरोपतिर मोर्डन थिएटरमा मान्छेहरु नाटक हेर्न मात्रै जाँदैनन्। त्यहाँ अनेक सुविधा हुन्छन्। जहाँ राज्यको प्रत्यक्ष उपस्थिति पनि हुन्छ। राज्यको सहयोग नभइ पनि हुँदैन। कला क्षेत्र युरोपतिर राज्यसँग प्रत्यक्ष जोडिएर अगाडि बढेको हुन्छ। नेपालमा पनि नाचघर, एकेडेमी नभएको होइन, तर त्यहाँ कलाकारले एक दिनको भाडा नै तिर्न सक्दैनन्। ‘हामीले पनि व्यक्तिगत पहलमा सबैथोक गर्न सक्दैनौँ, त्यसका लागि केही न केही आयश्रोतको जरुरत पर्छ,’ घिमिरे युवराज सुनाउँछन्, ‘त्यही आयश्रोतको खोजीको परिणति हो, यो रेस्टुरेन्ट। यसले थिएटर चलाउन ठूलो सहयोग गरेको छ।’
नाट्यकर्मी घिमिरे युवराज भन्छन् ‘ स्मोकिङ, ड्रिंकिङ मोरालिटी होइन । त्यस्तो हो भने मोर्डन थिएटर नगरे भयो । धार्मिक, संस्कारी, एक भाषा, एक धर्मवाला विचारधाराले एक किसिमको संरचना स्थापित गर्न खोज्छ । त्यो विचारधारा आफैँ उदार भनेर हिँडिरहेको हुन्छ, तर आफैँमा चाहिँ संकीर्णता बोकिरहेको हुन्छ । ’
कोभिड महामारीपछि त थिएटरको जग्गाको भाडा तिर्नै नसकेर कतिपय थिएटरले संकटको सामना गरिरहेका छन्। महामारीअघि थिएटरमा विविध कार्यक्रमहरु भइरहन्थे, त्यहाँबाट आउने भाडाले पनि चल्थ्यो केही हदसम्म। अहिले सबै ठप्प छ। घिमिरे युवराजहरुले पनि किताबहरु छाप्थे। नाटकसँग सम्बन्ध राख्ने टिसर्टहरु बनाएर पनि आर्थिक उपार्जनको बाटो नखोजेका होइनन्, तर महामारीका कारण नाटक नै मन्चन हुन सकेन। त्यसैको विकल्पको खोजी गर्दा रेस्टुरेन्टको आइडिया आएको बताउँछन् घिमिरे युवराज।
राज्यको कुनै लगानी लगानी नहुँदा पनि यसरी रंगमन्च चल्नुका पछाडि कलाकारिताप्रतिको चाहत र जुनुन नै रहेको उनको दाबी छ। तर, यसरी व्यक्तिगत पहलमा मात्रै कहाँसम्म पुगिएला ? आशावादी हुँदै उनी भन्छन्, ‘यहाँ जोडिएका मान्छेलाई भविष्य के होला भनेर केही आश्वासन दिन सकिँदैन, तर आशा छ, कुनै क्षणमा पुगेर राज्य जिम्मेवार हुनेछ।’ नेपाली रंगमन्चका लागि राज्य मात्रै होइन, समाजको दृष्टि पनि त्यति राम्रो नभएको उनको विश्लेषण छ। जताततै हुने भ्रष्टाचारका कारण सहयोग गर्न चाहने मान्छे पनि सीधै सहयोग गर्न डराउँछन्। समाजले नै स्वतन्त्र कला क्षेत्रलाई सहयोग गर्ने कुरामा दुविधा राख्छ। यस हिसाबले भोलिका दिनमा रंगमन्चको यात्रा अझैं सकसपूर्ण देख्छन् उनी।
अहिले एनजीओ, आइएनजीओसँगको सहकार्यले पनि नेपाली रंगमन्चको आर्थिक पाटोमा थोरबहुत टेवा पुगेको छ। तर, आर्थिक स्रोतको लिगल स्वरुपलाई पनि मान्छेले उत्तिसाह्रो स्वीकार नगरिसकेको उनको बुझाइ छ। ‘कलामा कुनै संस्थाको पैसा आउनसाथ मान्छे झस्किने परिपाटी छ, यसो हुनुमा एनजीओले निर्माण गरेको परिभाषाले पनि हो,’ उनी सुनाउँछन्। कतिपय एनजीओहरुको रुची हुन्छन्, राजनीतिक चासो हुन्छन्। आर्थिक लगानी गरेर आफ्नो कुरा भन्न बाध्य पनि गराउँछन्। तर, सबै आर्थिक सहयोग त्यही रुची र चासोले मात्रै नआउने घिमिरे युवराजको भनाइ छ। त्यसरी एनजीओको रुचि नथपिनमा काम गर्ने संस्था कति बलियो छ, आफ्नो रुचीमा काम गराउन सक्छ कि सक्दैन भन्ने कुराले असर गर्ने बताउँछन् उनी । ‘हामी चाहिँ सस्टेन हुनका लागि सहयोग लिन्छौँ। हामी आफूहरुले गरेको काममा सहयोग लिन्छौँ,’ सहयोग आएको संस्थालाई वेबसाइटमै राखेका उनी भन्छन्, ‘हाम्रो रुचीमा काम गर्न सक्ने संस्थालाई हामीसँग जोड्छौ र आर्थिक सहयोग लिने गर्छौं।’
आफूहरुले गरेको काममा सहमति भएर मात्रै विविध संस्थाहरुले सहयोग गरेको घिमिरे युवराजको जिकिर छ। आफूहरुले गरिरहेको काममै विविध संस्थालाई जोड्ने गरेको बताउँछन् उनी। ‘पछिल्लो समय काम गर्ने क्रममा ओलीको सरकार हुँदा बागी जस्तो भयोँ। संस्कृति मन्त्रालयले हामीलाई सपोर्ट गरेन। तर, हामीले पैसाका लागि सम्झौता गरेनौँ,’ नागरिक आन्दोलनमार्फत् ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध डटेर सडक नाटक गरेका उनी भन्छन्, ‘हामी लोकतन्त्र, गणतन्त्र, आम नागरिकको पक्षमा लाग्दा मूल्य चुकाउनुपर्छ भन्ने थाहा थियो। हामीले चुकायौँ पनि, तर सामान्य जीवन त जसोतसो चलिहाल्छ नि।’
अहिले शिल्पीले आफ्नो स्वभाव बदलेको छ। नाटकका अलवा रेस्टुरेन्टका लागि पनि एक कर्नर भाडामा दिएको छ। जहाँ स्मोकिङ, ड्रिंकिङ गर्छन् ग्राहकले। तर, शिल्पीको फेरिएको संरचनाले कुनै असर नगर्ने उनको जिकिर छ। ‘स्मोकिङ, ड्रिंकिङ मोरालिटी होइन। त्यस्तो हो भने मोर्डन थिएटर नगरे भयो। धार्मिक, संस्कारी, एक भाषा, एक धर्मवाला विचारधाराले एक किसिमको संरचना स्थापित गर्न खोज्छ। त्यो विचारधारा आफैं उदार भनेर हिँडिरहेको हुन्छ, तर आफैंमा चाहिँ संकिर्णता बोकिरहेको हुन्छ,’ घिमिरे युवराज भन्छन्, ‘तर, समाजको नैतिकता समय अनुसार परिवर्तन हुन्छ।’
पहिला गुरुकुलीय पद्दतिबाट आउँदा गुरुको अघि चुरोट नखाने सामाजिक नैतिकता थियो। डरमा बाँच्थे विद्यार्थी। तर, अहिलेको समयमा गुरु भनेको फेसिलिटेटर मात्रै रहेको बताउँछन् उनी। ‘अब त गुरु भनेको साथी मात्रै हो, टिचरकोअघि चुरोट खान्नँ भन्नु क्लासिक मोरालिटीको संस्कृतिमा गयो। त्यसलाई भत्काउनैपर्छ,’ उनी भन्छन्। साथै हाम्रो समाज बहु संस्कृतिमा छ। बहु भाषामा छ। त्यसो भए एकै खालको धार्मिक अनुहार देखाएर मात्रै बस्न कहाँ पाइन्छ ? घिमिरे युवराज प्रश्न गर्छन्। भन्छन्, ‘फरक फरक विस्वास पद्दति भएको मान्छेलाई यो ठाउँ मेरो पनि हो है भन्ने हुनुपर्छ, र नै त आर्ट सेन्टर बन्छ।’
शिल्पीमै खोलिएको रेस्टुरेन्टमा पनि आम रेस्टुरेन्टमा जानेभन्दा फरक ग्राहक आउँछन्। कला, साहित्यसँग कतै न कतै सम्बन्ध रहेका मान्छेहरु नै जोडिने अथवा रेस्टुरेन्टमा आउने गरेको घिमिरे युवराजले देखेका छन्।
०००