सन्दर्भ : ७५औँ भारतीय स्वतन्त्रता दिवस
७५ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ । विश्वको सबभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ । भारतले अपनाएको संसदीय पद्धतिले अनेकौँ अप्ठेरा पार मात्रै गरेको छैन, अनेकौँ सम्भावनाहरूको पनि खोजी गरेको छ । विश्वको सबभन्दा ठूलो प्रजातन्त्रका रूपमा स्वतन्त्र र निष्पक्ष चुनावको व्यवस्थापन एउटा अविश्वसनीय परिघटना हो । अनन्तकालदेखि विविध सांस्कृतिक चेतनाको अद्भूत स्रोतको रूपमा रहेको छ, भारत । यो मुलुकले ती तमाम सांस्कृतिक परम्पराहरूलाई सम्मान र निरन्तरता दिँदै आएको छ । त्यसैले पनि अहिले भारतीय स्वतन्त्रताको अमृत महोत्सव स्वतन्त्र चेतनाको सम्मान हो ।
स्वतन्त्रताको यो अवधिमा भारतले प्रविधिको विकासमा लामो फड्को मारेर समुद्रदेखि अन्तरिक्षसम्मको नेतृत्व गर्न सकेको छ । विश्वको एक शक्तिशाली आधारस्तम्भको रूपमा उभिएर भारतले आफूलाई त्यसैअनुरूप प्रस्तुत गर्दै आएको छ । उदाहरणका लागि, कोभिड–१९ महामारीविरुद्धको खोप उत्पादन र वितरणलाई विश्वव्यापी बनाउनमा भारतले महत्वपूर्ण भूमिका खेल्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरूसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन चालेका कदमहरू दूरगामी रूपले प्रभावकारी रहेका विश्लेषण हुने गरेको छ । भारत यस क्षेत्रको विकासका लागि जहिल्यै पनि दक्षिण एसियाली मुलुकहरूले मिलेर काम गर्नुपर्ने पक्षमा छ ।
तदनुरूप नै प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी राष्ट्रहरूसँग सहकार्यको आवश्यकतामा जोड दिँदै आएका छन् । भारत दक्षिण एसिया क्षेत्रमा शान्ति र मानवताको हितमा सर्वपक्षीय सहयोगको आशा गर्छ । त्यसअनुरूपका काम पनि गर्दै आएको छ । यसको ज्वलन्त उदाहरण हो, नेपाल–भारत सम्बन्ध । लामो समयदेखि साझा सपना र सफलताको आकांक्षासहित अस्तित्वमा रहेको नेपाल–भारत सम्बन्ध सौहार्द्रपूर्ण गतिमान छ, जुन दुवै मुलुक र यस क्षेत्रकै लागि समेत हितअनुकूल छ । समय–समयमा देखिने अवरोधका बाबजुद नेपाल–भारत सम्बन्धको महत्व निरन्तर बढ्दो छ ।
नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण छन् । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले सबै राष्ट्रहरूसँग उच्चस्तरीय संवादको संस्कृतिको प्रारम्भ गरेका थिए । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले संवादको उक्त संस्कृतिलाई निरन्तरता दिइरहेका छन् । यो परम्परा अक्षुण्ण रहँदै अहिले अझै व्यापक र बलियो बन्दै गएको छ । प्रधानमन्त्री मोदीले पटक–पटक गरेका नेपाल भ्रमण र ती अवसरमा नेपालसँगको सम्बन्धबारे व्यक्त गरेका विचारहरूले सम्बन्धलाई उचाइमा पुर्याउन मद्दत गरेका छन् ।
गौरवपूर्ण सम्बन्धको इतिहासलाई निरन्तरता दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ मा प्रधानमन्त्री बनेयता चारपटक नेपालको भ्रमण गरिसकेका छन् । भ्रमणका दौरान उनले पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथसमेतको दर्शन भ्रमण गरे । नेपाल र भारत दुवैका निम्ति धार्मिक एवं सांस्कृतिक दृष्टिले अत्यन्त महŒवपूर्ण यी तीर्थस्थलहरूले दुवै देशको सम्बन्धलाई थप प्रगाढ रूपमा जोड्न सक्छन् भन्ने सन्देश पनि उनका भ्रमणले दिएका छन् ।
स्वतन्त्र भारतको समृद्धिको ७५ वर्षे यात्राले नेपालको विकासमा समेत महत्वपूर्ण योगदान गरेको छ । द्विपक्षीय सहयोगअन्तर्गत शैक्षिक पूर्वाधार, अस्पताल, विमानस्थल, सडक सञ्जाल, रेलवे, बिजुली प्रसारण ऊर्जा विकाससहित आधुनिकीकरणका सबै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । नेपालले पनि भारतको विकासमा ठूलो योगदान दिएको छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडक, कोसी ब्यारेज, कर्णाली पुल, जनकपुर–जयनगर रेल, एकीकृत भन्सार चौकी, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, नेपाल–भारत विद्युत् प्रसारण लाइन, अरुण तेस्रो परियोजना, ट्रमा सेन्टर, बिपी कोइराला चिकित्सा विज्ञान संस्थान, नेपाल–भारत पुस्तकालय, पशुपति धर्मशाला, जयनगर–कुर्था रेल आयोजना आदि नेपालको विकासमा भारतले लगानी गरेका केही उल्लेखनीय परियोजना हुन् ।
विद्यालय तथा अस्पताल भवन, खानेपानी प्लान्ट, लघु ऊर्जा परियोजना, सडकखण्ड निर्माणसहितका सामुदायिक विकास परियोजनाअन्तर्गत नेपालमा अहिलेसम्म ४६४ पूर्वाधारहरूको निर्माण सम्पन्न भइसकेको छ भने ६८ वटा आयोजनाहरू निर्माणाधीन छन् । नेपालको दुर्गम क्षेत्रको सुविधाका लागि भारत सरकारद्वारा ८६२ एम्बुलेन्स र १६६ वटा स्कुल बस नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
स्वतन्त्र भारतको समृद्धिको ७५ वर्षे यात्राले नेपालको विकासमा समेत महत्वपूर्ण योगदान गरेको छ । द्विपक्षीय सहयोगअन्तर्गत शैक्षिक पूर्वाधार, अस्पताल, विमानस्थल, सडक सञ्जाल, रेलवे, बिजुली प्रसारण, ऊर्जा विकाससहित आधुनिकीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् ।
‘छिमेकी देशको’ नीतिअन्तर्गत भारतले सधैँ नेपाललाई प्राथमिकतामा राखेको छ । चाहे त्यो २०१५ को विनाशकारी भूकम्पका समयमा आएको भारतको तत्काल प्रतिक्रिया होस् वा अहिले १० लाख डोज ‘कोभिसिल्ड’ खोपको सहयोग, भारतले नेपालका नागरिकको स्वास्थ्य सुरक्षामा प्राथमिकता दिएको छ । भारत नेपालको एक असल साथीका रूपमा सधैँ रहिरहनेछ । भारत सधैँ नेपाललाई सहयोग गर्न तम्तयार हुने गरेको छ ।
भारतले गोरखा र नुवाकोट जिल्लामा ५० हजार सुरक्षित घर निर्माणका लागि ९३ करोड ७० लाखबराबरको अनुदान प्रदान गरेको थियो । क्षतिग्रस्त विद्यालय, अस्पताल र नेपालका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणका लागि पनि भारत सरकारले अनुदान दिँदै आएको छ ।
कोभिड–१९ महामारीको वेला नेपाल र भारतबीच असल छिमेकीका रूपमा अभूतपूर्व समन्वय देखियो । जसकारण, कोभिडको उच्च प्रभाव भएको समयमा पनि अति आवश्यक दैनिक उपभोग्य सामानको सहज आपूर्ति हुन सक्यो । विनाकुनै अवरोध काम सञ्चालन हुन सकेका छन् ।
पहिलो चरण र दोस्रो चरणको लकडाउनमा भारतबाट नेपाल प्रवेश गर्ने सबै उपभोग्य वस्तु, स्वास्थ्य सुरक्षाको मापदण्डअनुरूप विनाकुनै बाधा नियमित उपलब्ध भए । यसबाहेक भारतले कोभिड–१९ सँग लड्न आवश्यक अन्य सामग्री पनि प्रदान गरिरहेको छ । कोभिड–१९ को समग्र व्यवस्थापनका लागि भारत सरकारले नेपाली जनतालाई उपहारको रूपमा खोप त प्रदान गरेको छ नै, एम्बुलेन्स, आइसियू भेन्टिलेटर, आइसियू बेड, परीक्षण किट र सुरक्षा उपकरणका सामग्री पनि उपलब्ध गराउँदै आएको छ ।
नेपाल र भारतबीचको सम्बन्ध नेपालले भारतलाई के दियो, बदलामा भारतले नेपाललाई के दियो भन्ने प्रश्नका आधारमा तौलिने सम्बन्ध भने होइन । नेपाल र भारतको सम्बन्ध सदियौँको परम्परामा निरन्तर चलिरहेको छ । यी दुई देशबीचको खुला सिमानाले पनि यी मुलुकको सम्बन्धको अविच्छिन्नता र मौलिकतालाई स्पष्ट पार्छ । छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन् । मुख्य कुरा, दुई देशबीच आपसी समझदारी छ कि छैन भन्ने मात्रै हो । त्यस्तो समझदारी रहेसम्म सीमावर्ती क्षेत्रमा हिँड्ने पैदलयात्रीको गोडामा बिझ्ने काँडालाई तूल दिन हुँदैन ।
नेपाल र भारतका बीचको सौन्दर्य नै सु–सम्बन्ध हो । दुई देशका बीच विश्वासको वातावरण भएको खण्डमा विकासका प्रयास सफल हुनेछन् । अहिलेसम्म नेपाल र भारतका बीच कटुता देखिएको छैन । नेपाल र भारतबीच सहअस्तित्व र विश्वासको सम्बन्ध रहोस् भन्ने चाहना राख्नेहरू स–साना विषयमा दुवै देशका नेतृत्वले आफ्नो समय खेर नफालून् भन्ने चाहन्छन् ।
नेपाल र भारतका बीच धार्मिक, सांस्कृतिक, पर्यावरणीय सम्बन्ध छ । नेपालका पवित्र नदीहरू भारततर्फ प्रवाहित हुन्छन् । राजनीतिक हिसाबले नेपाल राजनीतिक परिपक्वताको मार्गमा छ । यो क्रममा नेपालले जे जति उपलब्धि हासिल गरेको छ, त्यसका लागि भारतीय सहृदयता र शुभेच्छा रहेको छ । नेपाल अहिले पनि राजनीतिक स्थायित्वको खोजमा छ । नेपालमा राजनीतिक स्थायित्व भारतका लागि मात्रै होइन, दक्षिण एसियाकै लागि अनिवार्य छ । भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा हार्दिक बधाई !