मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २९ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ श्रावण २९ शुक्रबार १७:४२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

के कोभिड– १९ विरुद्धको खोपले प्रजनन शक्तिमा असर गर्छ ? 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २९ शुक्रबार १७:४२:oo

‘कोभिड– १९ विरुद्धको खोपका कारण प्रजनन शक्तिमा असर पर्छ’ भन्ने झुटो दाबी सबै प्रमाणका बाबजुद अझै पनि फैलिरहेको छ। डक्टरहरू गर्भावस्थाको बारेमा कुनै सल्लाह दिनभन्दा पहिले निकै सचेत रहने गर्छन्। त्यसैले पहिले कोभिडविरुद्धको भ्याक्सिनले पार्ने असरबारे केही बोलिएको थिएन। तर, अहिले सुरक्षाको विषयलाई लिएर प्रशस्त तथ्यांकहरू उपलब्ध भएपछि कोरोनाविरुद्धको खोप लगाउन प्रोत्साहित गर्ने गरिएको छ, किनभने कोभिडले गर्भावस्थालाई खतरामा पार्न सक्छ।  

भ्याक्सिन अण्डकोषमा गएर जम्छ ? 
कोभिडविरुद्धको भ्याक्सिन अण्डकोषमा गएर जम्छ भन्ने दाबी एउटा जापानी अनुसन्धानको गलत व्याख्याका कारण फैलिएको थियो। उक्त अनुसन्धानमा मानिसलाई दिने भ्याक्सिनको डोजभन्दा कैयौँ गुणा बढी (१३३३ गुणा बढी) डोज मुसालाई दिइएको थियो। 

इन्जेक्सन दिएको ४८ घन्टापछि मुसाको अण्डकोषमा करिब ०.१ प्रतिशत डोज जम्मा भएको पाइयो। तर, इन्जेक्सन दिएको एक घन्टापछि ५३ प्रतिशत र ४८ घन्टापछि २५ प्रतिशत भ्याक्सिन इन्जेक्सन दिइएको ठाउँ (सामान्यतया मानिसहरूमा पाखुरामा दिने गरिन्छ) मा रहेको पाइयो। 

यसका अलावा भ्याक्सिन दिएको ४८ घन्टापछि कलेजोमा भ्याक्सिनको मात्रा १६ प्रतिशत पाइयो। भ्याक्सिन भाइरसको वंशाणुगत पदार्थ मिसिएको चिल्लो पदार्थको प्रयोग गरेर बनाइएको छ जसले रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउँछ।  

जो मानिसहरू यो विषयलाई लिएर झुटाे दाबी फैलाइरहेका छन्, वास्तवमा उनीहरू अण्डकोषमा पाइएको चिल्लो पदार्थको मात्रालाई लिएर त्यसो गरिरहेका छन्। इन्जेक्सन दिएको ४८ घन्टापछि अण्डकोषमा चिल्लो पदार्थको मात्रा बढ्दछ। भ्याक्सिन शरीरमा गइसकेपछि दिइएको ठाउँबाट शरीरभरि पुग्ने भएकाले यस्तो हुने गर्छ। यसरी देखिने चिल्लो पदार्थमा भाइरसको जिन हुन्छ भन्ने पनि अहिलेसम्म पूर्ण रूपमा प्रमाणित भइसकेको छैन। यसका साथै यो अनुसन्धान ‘लिक’ भएको भन्ने पनि दाबी गरिएको छ। तर, उक्त अनुसन्धान सार्वजनिक रूपमा  अनलाइनमा उपलब्ध छ। 

के भ्याक्सिनका कारण गर्भपतन हुन्छ ? 
सामाजिक सञ्जालमा केही यस्ता पोस्टहरू फैलिएका छन् जसले भ्याक्सिन मोनिटरिङ स्किमको माध्यमबाट गर्भपतनबारे ध्यानाकर्षण गरेका छन्। यसका लागि ती पोस्टहरूमा अमेरिकाको ‘भ्याक्सिन एड्भर्स इभेन्ट रिपोर्टिङ सिस्टम’ र बेलायती ‘एलो कार्ड स्किम’लाई पनि उल्लेख गरिएको छ। 

भ्याक्सिन लगाएपछि जोसुकैले पनि यी डाटाबेसमा आफ्नो लक्षण र स्वास्थ्य स्थितिबारे रिपोर्ट गर्न सक्छन्। अधिकांश मानिस यसरी रिपोर्ट गर्नेबारे सोच्दैनन् किनभने यी डाटाबेसहरू आफैँले चयन गर्ने डाटाबेसहरू हुन्। ती डाटाबेसहरूमा गर्भपतनका घटनाबारे रिपोर्ट गरिएको थियो। तर, ती सामान्य घटनाका रिपोर्ट थिए। ती रिपोर्टको अर्थ यो थिएन कि ती घटना कोभिडविरुद्धको भ्याक्सिन लिएपछि भएका हुन्। 

एक अनुसन्धानअनुसार भ्याक्सिन लगाइसकेपछि जति पनि गर्भपतनका केस देखिएका छन् ती सबै आममानिसमा सामान्य अवस्थामा हुने गर्भपतनको दर जस्तै अर्थात् १२.५ प्रतिशत नै रहेको छ। इम्पेरियल कलेज लन्डनकी प्रजनन प्रतिरक्षा विशेषज्ञ भिक्टोरिया मेलका अनुसार सामान्यतया देखिने साइड इफेक्टका लागि भन्दा भ्याक्सिनको कारणबाट देखिने दुर्लभ साइड इफेक्टका लागि यस्ता रिपोर्टिङ सिस्टम उपयुक्त हुन्छन्। जस्तो कि अष्ट्राजेनेका भ्याक्सिनका कारण विशेष प्रकारले रगत जम्ने पत्ता लागेको थियो। 

यदि तपाईंले भ्याक्सिन लगाएका मानिसमा असामान्य खालका लक्षण पाउनुहुन्छ भने त्यसले खतराको संकेत गर्छ। आममानिसमा सामान्यतया देखिने साइड इफेक्टहरू जस्तै महिनावारीमा हुने परिवर्तन, गर्भपतन तथा मुटुसम्बन्धी समस्याहरूको निगरानीका लागि यस्ता रिपोर्टिङ सिस्टम उपयोगी हुँदैनन्। तथ्यांकलाई नै हेर्ने हो भने पनि भ्याक्सिन लिएका र नलिएका दुवैमा यस्ता समस्या देखिन्छन्। त्यसैले यस्तो अवस्थामा चेतावनी जारी पनि गरिँदैन। यदि भ्याक्सिन लगाएकाको तुलनमा भ्याक्सिन नलगाएकाहरूमा गर्भपतनको धेरै समस्या देखियो भने त्यसले नयाँ अनुसन्धानको माग गर्दछ। 

केही मानिसले अरू भ्याक्सिन र औषधिको अनुभव पनि सेयर गरेका छन्। यसबाट कोभिडविरुद्धको भ्याक्सिन कम सुरक्षित भएको दाबी गरिएको छ। तर, हामीलाई तथ्यांकमा आएको उछालले अधिकांश जनसंख्यालाई भ्याक्सिन लगाइसकिएको छ भन्ने बताउँदैन। 

के भ्याक्सिनले गर्भनालमा असर गर्न सक्छ ? 
अहिले विज्ञानका एक अनुसन्धानकर्ता माइकल इडनको दाबीलाई धेरै सेयर गर्ने गरिएको छ। उनका अनुसार फाइजर र मोडर्ना भ्याक्सिनमा हुने स्पाइक प्रोटिन  गर्भनालको विकास प्रक्रियामा भाग लिने syncytin-1 नामक प्रोटिनजस्तै छ। यसकै आधारमा उनले भ्याक्सिनमा भएको एन्टिबडीले भाइरससँग लड्नुका साथै गर्भावस्थाको प्रक्रियालाई पनि असर गर्छ भन्ने अनुमान गरेका थिए। केही विशेषज्ञहरू कोभिडविरुद्धको भ्याक्सिनले प्रजनन क्षमतामा असर गर्छ भन्ने दाबी इडनकै अनुमानमा आधारित भएको बताउँछन्। वास्तवमा कोरोना भाइरसको स्पाइक प्रोटिन र syncytin-1 अरू प्राटिनहरू जस्तै हुन्। यदि हाम्रो शरीर यति सजिलै स्पाइक प्रोटिनमा अल्झिन्छ भने प्रत्येकपटक संक्रमण हुँदा हाम्रो शरीरले आफ्नै अंगमा आक्रमण गरेर एन्टिबडी बनाउँछ। तर, यो सिद्धान्तलाई पनि झुटो साबित गर्ने अरू प्रमाणहरू छन्। 

अमेरिकाका प्रजनन विशेषज्ञ डाक्टर रेडी मरिस यो दाबीको परीक्षण आफैँ गर्न चाहन्थे। यसको लागि उनले ‘आइभिएफ’ उपचारका लागि आउने बिरामीहरूको निगरानी सुरु गरे। उनी स्वस्थ गर्भावस्थामा भ्याक्सिनको असर पर्छ वा पर्दैन भन्ने जान्न चाहन्थे। यसका लागि उनले भ्याक्सिन लगाएका, भ्याक्सिन नलगाएका र पहिले नै कोरोना संक्रमित भइसकेका एक सय ४३ जना गर्भवती महिलामा अनुसन्धान गरे। सो  अनुसन्धानबाट उनीहरूको गर्भावस्थामा भ्याक्सिनले कुनै असर नपारेको पत्ता लाग्यो। यो अनुसन्धान छोटो भए पनि यसमा अर्को ठूलो प्रमाणको हिस्सा रहेको छ। 

यदि भ्याक्सिनका कारण उत्पादन हुने एन्टिबडीले प्रजननमा असर गर्छ भने सामान्य संक्रमणबाट उत्पादन हुने एन्टिबडीले प्रजनन स्वास्थ्यमा किन असर गर्दैन ? मोरिस तर्क गर्छन्। विस्तृत रूपमा  यो प्रश्नको उत्तर नखोजिएकोबारे उनी ध्यानाकर्षण पनि गराउँछन्। मोरिसका अनुसार यस्ता अफवाहबाट बच्ने उपाय भनेको जतिसक्दो छिटो त्यस्ता अफवाहहरूलाई खारेज गर्नु हो। यसले खेल बदल्न मद्दत गर्छ। बिबिसी हिन्दीबाट