सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी शुक्रबार डुबानमा पर्यो । धनगढी मुख्य बजारसँगै नगरभित्रका थुप्रै बस्ती शुक्रबार दिनभर डुबानमा परे । मुख्य बजार क्षेत्रको एनएनचोक, पार्कमोड, अस्पताल लाइन, क्याम्पस चोक डुबान भएर घुँडासम्म पुग्ने पानी जमेपछि ओहोरदोहोर गर्नै समस्या भयो । वडा नम्बर १४ र १९ मा उद्धारका लागि सशस्त्र प्रहरीको टोली नै खटिनुपर्यो । जिल्ला प्रशासन कार्यालयका अनुसार दुवै वडामा डुबानमा परेका १० घरको सामान प्रहरीले सुरक्षित ठाउँमा सारेको छ । मिलनचोक, विशालनगर, शिवनगरलगायत बजारसँगै जोडिएका बस्ती जलमग्न भएका छन् ।
धनगढी बसपार्क क्षेत्र पूरै डुबान भयो । चौराहामा रहेको विद्युत् प्राधिकरणको कार्यालय डुबानमा पर्दा कार्यालयको सेवा दिनभर बन्द रह्यो । मुख्य बजारमै रहेको सुदूरपश्चिम प्रदेश सभा भवन र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुबानमा परे । जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढीमा करिब दुई सय घरभित्र पानी पसेको छ । मुख्य बजारको विकल्पका रूपमा रहेको सहिद गेट–क्याम्पस चोक सडकमा हिलो र डुबानले ओहोरदोहोर गर्न सक्ने अवस्था छैन । पानी निकासको व्यवस्था नभएपछि निर्माणाधीन यो सडकको सहिदगेटको पूर्व खण्ड नालामा परिणत भएको छ ।
केही वर्षअघिसम्म भारी वर्षामा पनि डुबान नहुने धनगढी बजार र नगरका विभिन्न बस्ती अहिले क्षणभरको पानीले डुबाउँछ । हरेक वर्षायाममा नगरका अधिकांश बस्तीका बासिन्दाले डुबानको समस्या भोग्नु परिरहेको छ । धनगढी–३ का जनक उपाध्यायले क्षणभरकै वर्षाले डुबान हुँदा घरबाट बाहिर निस्कन नसक्ने गरी डुबान हुने गरेको बताए । ‘बाटो पूरै जलमग्न हुन्छ । घरबाहिर निस्कन सकिँदैन,’ उनले भने, ‘हरेक वर्षायाममा यस्तै समस्या भोग्नुपरिरहेको छ ।’
सार्वजनिक जमिन तथा खोलानाला अतिक्रमण र नालीविनाका सडकले वर्षायाममा हरेक वर्ष धनगढी डुबानमा पर्ने गरेको छ । बजार क्षेत्र र आसपासका अधिकांश खोलानाला अतिक्रमण गरेर संरचनाहरू बनाइएका छन् । खोलानाला अतिक्रमणले पानी निकासका बाटाहरू थुनिएपछि धनगढीमा डुबानको समस्या बढ्दै गएको नगरवासी बताउँछन् ।
खोलानाला अतिक्रमण र नगर विकास समितिले विगतमा हचुवाका भरमा ऐलानी जग्गा व्यक्तिका नाममा दर्ता गर्नु धनगढी डुबानको मुख्य कारण रहेको यहाँका नागरिक अगुवाहरूको भनाइ छ । नगर विकास समितिले विगतमा ऐलानी जग्गा अन्धाधुन्ध व्यक्तिका नाममा दर्ता गर्दा त्यसको असर अहिले भोग्नु परिरहेको धनगढीका नागरिक अगुवा धनपति ढुंगेलले बताए । पानी निकासको बाटोसमेत नरहने गरी खल्ला, ताल र खोलानालाको जमिन नगर विकासले व्यक्तिको नाममा दर्ता गर्दा डुबानको विकराल समस्या सिर्जना भएको उनी बताउँछन् ।
‘व्यक्तिका नाममा दर्ता भएपछि खोलाका छेउछाउ, पानी बग्ने खल्ला जमिनमा पनि घरहरू बन्न थाले । यसले पानीको प्राकृतिक बहाव थुनियो,’ ढुंगेलले भने, ‘पानी निकासको बाटो राखेर मात्र जग्गा बाँडेको भए अहिले धनगढीवासीले डुबानको समस्या भोग्नु पर्थेन ।’
अन्धाधुन्ध जग्गा बाँड्दा दीर्घकालीन समस्या
०४९ देखि ०७२ सम्म नगर विकास समितिले धनगढीमा नौ सय ३१ बिघा ऐलानी जमिन व्यक्तिका नाममा दर्ता गरेको तथ्यांक छ । २०४९ मा मात्रै तत्कालीन नगर विकास समितिले धनगढीमा सात सय ६७ बिघा ऐलानी जमिन बाँडेको ढुंगेलले बताए । पटकपटक बनेका समितिले राजनीतिक फाइदाका लागि अन्धाधुन्ध जग्गा वितरण गर्दा डुबानको दीर्घकालीन समस्या सिर्जना भएको उनले बताए ।
भएको खोलानालको क्षेत्रमा अतिक्रमण पनि बढेको छ । खोलाको बहाव थुनिने गरी घरहरू निर्माण हुन थालेका छन् । धनगढी उत्तरबेहडीका स्थानीय सिद्धराज पनेरुले खोलानाला अतिक्रमणले धनगढीमा डुबानको समस्या बढ्दै गएको बताए । ‘केही खोलानालाको जमिन नगर विकासले व्यक्तिका नाममा बनायो । बचेको जमिन कब्जा गरेर अहिले पनि घरहरू बनाइँदै छन् ।’ पनेरुले भने, ‘पानी बग्ने ठाउँ नरहेपछि डुबान हुने नै भयो ।’
धनगढीमा निर्माण भएका सडक साँघुरा छन् । अधिकांश सडकमा नाली छैनन् । कतिपय ठाउँमा सतहभन्दा निकै अग्ला नाली बनाइएकाले पानी बग्दैन । व्यवस्थित बस्ती विकासको योजना नहुनाले पनि डुबान आदि समस्या बढ्दै गएको अर्का स्थानीय सागर बोहरा बताउँछन् । जथाभावी घर, सडक निर्माण गर्दा पानी निकास हुने बाटाहरू थुनिएका उनले बताए । अव्यवस्थित सहरीकरणले समस्या बढ्दै गए पनि उपमहानगरले व्यवस्थित बस्ती विकासको योजना ल्याउन नसकेको बोहराले बताए ।
अतिक्रमण हटाउने निर्णय कागजमा सीमित
धनगढीमा डुबानको मुख्य कारण ठानिएको खोलानाला र सार्वजनिक जमिन अतिक्रमण अहिले पनि बढ्दो छ । खोला मिचिने गरी घरलगायत संरचना निर्माण हुने क्रम रोकिएको छैन । तर, उपमहानगरपालिकाले अतिक्रमण हटाउने प्रयास थालेको छैन । धनगढीका मेयर नृपबहादुर वडले निर्वाचित भएपछि उपमहानगरको बोर्ड बैठकबाट खोलानालाको अतिक्रमण हटाउने पहिलो निर्णय गरेका थिए । वड मेयरमा निर्वाचित भएको चार वर्ष बित्दा पहिलो निर्णय कार्यान्वयनको सुरुवातसमेत गरेका छैनन् । ‘प्रदेश राजधानी भएको धनगढी बजार नै डुबानमा पर्नु यहाँका जनप्रतिनिधिका लागि लाजमर्दो हो,’ स्थानीय भरत भट्टले भने, ‘अतिक्रमण हटाउने नारा लिएर चुनाव जितेका मेयरले निर्वाचित भएपछि यो मुद्दा बिर्से ।’ उपमहानगरले अतिक्रमण हटाउने काममा सिन्कोसमेत भाँच्न नसकेको उनको भनाइ छ ।
कार्यकर्ता रुष्ट हुने डरले मेयरले अतिक्रमण हटाउन नखोजेको स्थानीयको आरोप छ । ‘पहिलो बैठकबाटै अतिक्रमण हटाउने निर्णय भएको सुनेका थियौँ, तर मेयरको कार्यकाल सकिनैलाग्दा यसमा सिन्को भाँच्ने काम पनि भएको छैन,’ भट्टले भने, ‘कार्यकर्ताका घर पर्ने भएरै नहटाइएको होला ।’ तत्कालीन दलीय संयन्त्र र नगर विकास समितिमा पनि लामो समय रहेकाले हचुवाका भरमा जग्गा बाँड्ने काममा मेयर वडको पनि संलग्नता रहेको स्थानीयको आरोप छ । नगरको प्रमुख समस्या नै जनप्रतिनिधिको प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ ।
धनगढी–१४, ‘बी’ गाउँस्थित हुलाकी सडक र रिङरोड जोड्ने कल्भर्ट बाढीले भत्काएको स्थानीयले बताएका छन्। कल्भर्ट भत्किएपछि फूलबारीका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। वर्षाले धनगढीका अधिकांश सडक हिलाम्य भएका छन्। मुख्य बजारको विकल्पको रूपमा रहेको सहिद गेट–क्याम्पस चोक सडकमा हिलो र डुबानले ओहोरदोहोर गर्न सक्ने अवस्था छैन। निर्माणाधीन यो सडक हिलाम्य छ। निकास नभएपछि सहिदगेटनजिक सडक खोलाजस्तै बनेको छ।
खोलानाला अतिक्रमण र नालीविनाका सडकले वर्षायाममा हरेक वर्ष धनगढी डुबानमा पर्ने गरेको छ। बजार क्षेत्र र आसपासका अधिकांश खोलानाला अतिक्रमण गरेर संरचना बनाइएका छन्। खोलानाला अतिक्रमण बढ्दै गए पनि नगरपालिका चुप लागेर बस्दा डुबानको समस्या बर्सेनि बढ्दै गएको स्थानीयले बताएका छन्।
धनगढीका मेयर नृपबहादुर वडले निर्वाचित भएपछि खोलानालाको अतिक्रमण हटाउने पहिलो निर्णय गरेका थिए। तर, वड मेयरमा निर्वाचित भएको चार वर्ष बिते पनि पहिलो निर्णय कार्यान्वयनको सुरुवात पनि गरेका छैनन्। जनप्रतिनिधि आएको चार वर्षको अवधिमा मुख्य बजार र जनसंख्या भएका बस्तीलाई बजारसँग जोड्ने अधिकांश सडक कालोपत्रे भएका छैनन्। न नाली निर्माण गरिएका छन्।
खोलानाला अतिक्रमण र नालीसहितका स्तरीय सडक बन्न नसक्दा धनगढी हरेक वर्ष डुबानमा पर्ने गरेको स्थानीय लोकराज जोशीले बताए। नगरपालिकाले निकासको बेवास्ता गर्दा मुख्य बजार क्षेत्रनै डुबान हुने गरेको उनले बताए।
असोजबाट अतिक्रमण हटाउन थाल्छौँ : नगरप्रमुख वड
नगरप्रमुख वडले धनगढी–अत्तरिया ६ लेन सडक र नाली उचाइमा बनेकाले पनि धनगढीमा डुबानको समस्या बढेको बताए । ६ लेनको नालीमा दुवैतिरको पानी बग्ने गरी पुनः योजना बनाउन संघीय सरकारलाई आग्रह गरिएको उनले बताए । संघकै क्षेत्रीय सहरी विकास आयोजनाले धनगढीमा बनाइरहेको केही सडक र नालीको काम सम्पन्न भए डुबानको समस्या कम हुने मेयर वडको भनाइ छ । खोलानाला अतिक्रमण डुबानको अर्को कारण रहेको उल्लेख गर्दै उनले आगामी असोजबाट अतिक्रमण हटाउने अभियान सुरु गरिने बताए । खोलानालाबाहेक नाली, कुलोहरूसमेत अतिक्रमणमा परेकाले सबैखाले अतिक्रमण हटाउन अभियान सञ्चालन गरिने उनले दाबी गरे ।