मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी
दीपेश पछाई रूपन्देही
२०७८ श्रावण २९ शुक्रबार ०६:२३:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

आठ–आठ महिना सरकार चलाउने सहमति कुर्सीमोह होइन, गठबन्धनको बलियो विश्वास हो

अन्तर्वार्ता

Read Time : > 1 मिनेट
दीपेश पछाई, रूपन्देही
२०७८ श्रावण २९ शुक्रबार ०६:२३:००

नयाँ सरकारका प्राथमिकता के–के हुन् ?
प्रदेशभरिका जनतालाई कारोनाविरुद्धको खोपको सुनिश्चितता हाम्रो पहिलो प्राथमिकता हो । दोस्रो, गौरवका आयोजना समयमै पूरा गर्नेतर्फ हाम्रो ध्यान हुनेछ । तेस्रो, सुन्दर राजधानीको परिकल्पनालाई साकार बनाइनेछ । चौथो, संघीयतालाई प्रभावकारी बनाउन संघीय सरकार र स्थानीय तहबीच पुलको काम गर्नेछौँ । 

तर, आठ–आठ महिना सरकार सञ्चालन गर्ने सहमतिले यहाँहरूलाई स्थायित्व र विकासभन्दा कुर्सी प्यारो छ भन्ने पो देखायो त !
हाम्रो ध्यान स्थायित्व र विकासमै छ । पूरा समय यही गठबन्धनको सरकार रहने हो । खालि कार्यविभाजनमा केही हेरफेर गर्ने सहमति मात्र हो । हामीले व्यक्तिगत स्वार्थका लागि यो गठबन्धन बनाएको होइन । विगतको सरकार प्रतिगमनको मतियार बनेपछि यो गठबन्धन तयार भएको हो । आन्दोलनबाट बनेको गठबन्धन हो । हामी यो गठबन्धनलाई संस्कारयुक्त बनाउन चाहन्छौँ, स्थायित्व दिन चाहन्छौँ । त्यसैले कुर्सीमोह भन्न मिल्दैन । 

तपाईंले यसो भने पनि पछिल्ला केही महिनायता सांसदहरूको ओहोरदोहोर चलिरह्यो । सरकार गठनको पूर्वसन्ध्यामै पनि त्यो देखियो । यसलाई कसरी संस्कार भन्ने?
केही स्वतन्त्र साथीहरूको दौडधुपका कारण त्यस्तो देखियो । अघिल्लो सरकारले जसरी पनि कुर्सीमा टाँसिरहन गरेका गलत क्रियाकलापका कारण त्यस्तो अवस्था बन्यो । केही साथीहरू लोभिनुभयो, प्रलोभनमा पर्नुभयो । ८७ सदस्यीय प्रदेश सभामा हाल ८० सदस्य मात्र रहनुले पनि हिजो कमजोरी भएको थियो प्रस्ट्याउँछ । तर, अब त्यस्तो हुँदैन । हिजो जो उता लाग्नुभएको थियो, अहिले यतै हुनुहुन्छ । अब गठबन्धन बिगार्ने पक्षमा कोही साथी हुनुहुन्न । 

नयाँ सरकारबाट जनताले के आशा गर्ने ?
हामी जनउत्तरदायी सरकार हौँ भन्ने सन्देश हामीले पहिलो बैठकबाटै दिएका छौँ । सरकारको पहिलो बैठकले प्रदेशभरिका जनतालाई कोरोना खोपको सुनिश्चितता गर्ने निर्णय गरेको छ । विकास निर्माण हुँदै गर्छ, तर जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ । त्यसैगरी, मुटु, मिर्गौला र क्यान्सर रोगीहरूलाई पहिले एक लाख रुपैयाँ दिँदै आएकोमा दुई लाख थपेर तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेका छौँ । अस्पताल देख्न नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था कसैका पनि नआओस् भन्नेमा गम्भीर छौँ र त्यसका लागि उचित कार्ययोजनासहित अघि बढ्दै छौँ । 

प्रदेशको राजधानी कहिलेसम्म सार्ने सोच्नुभएको छ ?
ठ्याक्कै यही मितिमा भन्ने सोचिएको छैन । संरचना निर्माणलाई हामी युद्धस्तरमा अगाडि बढाउँछौँ । सुन्दर राजधानीको परिकल्पना साकार हुने गरी संरचना निर्माण भएपछि हामी राजधानी सार्छौँ ।