१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार २०:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बैठक : महाधिवेशनको कार्यतालिकाले प्रवेश नै पाएन, क्रियाशीलकै विषयमा चर्काचर्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार २०:१८:००

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद थप चर्किएको छ । बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन र छानबिनका क्रममा भएका विषयहरूबारे समितिका सदस्यहरूले धारणा राखेका थिए । त्यसपछि बोल्ने केन्द्रीय सदस्यहरूले सदस्यता छानबिनको विषयलाई लिएर नेताहरूमाथि आरोप–प्रत्यारोप गरेका छन् । 

महाधिवेशनबारे छलफल गर्न बैठक बोलाएको भए पनि क्रियाशील सदस्यताको विषय नै टुंगो नलागेका कारण बिहीबारको बैठकमा महाधिवेशनको विषयमा कुनै छलफल भएन । बैठकमा बोल्ने नेताहरूले क्रियाशील सदस्यताको विवादलाई विधान र केन्द्रीय समितिले विगतमा गरेको निर्णयहरूबमोजिम टुंगो लगाउनुपर्ने भन्दै उपयुक्त परिस्थिति हेरेर महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने सुझाब राखेका छन् । 

केन्द्रीय सदस्यहरूले सदस्यताका विषयमा नेताहरूले विवाद झिकेर तनाव सिर्जना गरेको आरोप लगाएका छन् । बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यताका विषयमा विवाद सिर्जना गर्ने, तर दोष अर्कैलाई थोपर्ने गरेको भन्दै आरोप लगाए । 

अर्का केन्द्रीय सदस्य हृदयराम थानीले पार्टीमा संस्थापन पक्षले फर्जी क्रियाशील सदस्यता थप गरेको भन्दै समाधानका लागि आग्रह गरे । ‘रामचन्द्र दाइ, हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुप¥यो । क्रियाशीलको समस्या समाधान नभई महाविधेशन हुने अवस्था छैन,’ थानीले भनेका थिए । उनीपछि बोलेका नेता बस्नेतले वरिष्ठ नेता पौडेलमाथि आक्रोश व्यक्त गरे । उनले पौडेलबाट कुनै अपेक्षा नराख्न आग्रह गरे । ‘गोविन्दराज जोशीलाई तह लाउनका लागि पुष्कर ओझालाई उहाँले सहिद बनाउनुभयो । थानीजी उहाँबाट के आस गर्नुहुन्छ ?’ बस्नेतले भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नेताहरू आफूअनुकूल भए मिलेमतो गर्ने । नत्र कार्यकर्ताको भावना, विधि र विधानको कुनै मतलब छैन । नेताहरूको देखिइहाल्यो ।’

बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकको नयाँ क्रियाशील सदस्यता र समायोजन भई आएका नेता–कार्यकर्ताको विषयमा चर्को विवाद छ । त्यही विषयमा बस्नेतले पौडेलमाथि आक्रोश पोखेका हुन् । 

उनले अहिले अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई क्रियाशील सदस्यता दिन आनाकानी गरे अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरूमा उत्साह हराउने बताए । ‘अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई सहजै सदस्यता दिनुपर्नेमा यहाँ रोक्ने काम भइरहेको छ । यसरी अन्याय गर्ने हो भने भोलि पार्टीमा अरू को मान्छे आउँछ ? नेता–कार्यकर्ता अन्य पार्टीबाट कांग्रेसप्रति कसरी आकर्षित हुन्छन् ?’ बस्नेतले प्रश्न गर्दै अघि भने, ‘त्यसैले यसमा विधि–विधानअनुसार नै सदस्यता दिएर अन्य पार्टीबाट आएका साथीहरूलाई सहज बनाइदिनुपर्छ ।’

नेता बस्नेतले सिन्धुपाल्चोकलाई पार्टीका नेताहरूले फरक ढंगले हेरेको भन्दै गुनासो गरे । अर्का केन्द्रीय सदस्य कर्णबहादुर बुढाले पनि अन्य राजनीतिक दलबाट प्रवेश गर्नेहरूलाई क्रियाशील सदस्यता दिन इन्कार गर्नु गलत हुने बताए । बुढा दुई वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता हुन् । ‘हामीले पाउने सदस्यता अहिलेसम्म टुंगो भएको छैन । पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको क्रियाशील सदस्य के कारणले रोकियो ? त्यसको जवाफ चाहियो ? हामीले सदस्यता नपाउने कारण के हो ? पार्टीको विधि–विधानविपरीत हामीले कहाँ गल्ती ग¥यौँ ?’ बुढाले प्रश्न गरेका थिए । 

‘महाधिवेशन समयमै हुनुपर्ने हो । तर, अब सम्भव देखिँदैन । त्यसैले परिस्थितिअनुकूल छिटो गरौँ भन्ने धेरै साथीहरूको प्रस्ताव देखियो,’ केन्द्रीय सदस्य बुढाले भने, ‘सबैभन्दा ठूलो कुरा ज्यान नै हो । ज्यान जोगाएर परिस्थितिअनुकूल हुने गरी छिटोभन्दा छिटो महाधिवेशन गर्ने वातावरण सुनिश्चित गरौँ भन्ने कुरा धेरैजनाबाट आएको छ ।’