जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छु भनी रकम ठगी गरी फरार रहेका एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
१९ फागुन ०७७ मा जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ एक करोड रकम दिए मिलाइदिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भनी झुटो आश्वासन दिलाई त्रिपाठीले ठगी गरेको हमालको भनाइ छ ।
त्रिपाठीलाई पीडकबाट १२ लाखको चेक र एक लाख १० हजार नगद लिई ठगी गरेको कसुरमा पक्राउ गरिएको हो । प्रहरी टोलीले सोही मुद्दामा पोखरा– १७ राष्ट्र बैंक चोकस्थित एक खाजाघरबाट सूर्यलाल खड्का र कमन भन्ने कमानबहादुर तामाङलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा सो घटनामा संलग्न रहेका त्रिपाठी भने हालसम्म फरार रहेका थिए । फरार रहेका त्रिपाठीलाई बुधबार प्रहरीले पोखरा १८ सराङकाेटबाट पक्राउ गरेको हो ।
त्रिपाठीलाई बुधबारै कास्की जिल्ला अदालतमा बुझाइएको हमालले जानकारी दिए । त्रिपाठीका विरुद्ध ठगी र जबर्जस्ती करणी कसुरमा मिलापत्र गर्न गराउन नहुने मुद्दाको अभियोगसमेत रहेको हमालले जानकारी दिए ।