लमजुङको मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले जिल्लावासीका लागि आइपिओ निष्कासन गरेको छ।
निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको आयोजनाले नेपाल धितोपत्र बोर्डले अनुमति पाएपछि भदौ १ गतेदेखि बिक्री हुने गरी आइपिओ निष्कासन गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए।
उनका अनुसार नेपाल धितोपत्र बोर्डले ४० लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आयोजनालार्ई स्वीकृति दिइएकोमा पहिलो चरणमा जिल्लावासीका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो।
आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि फरकफरक साधारण सेयर निष्कासन गरेको छ। आयोजनाले प्रभावित क्षेत्रका लागि पाँच लाख र जिल्लावासीका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। उनका अनुसार आयोजनाले दोस्रो चरणमा देशभरका सर्वसाधारणका लागि पनि सेयर निष्कासन गर्नेछ। सेयर बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटललाई प्रबन्धक र एनएमबी क्यापिटललाई सहप्रबन्धकको जिम्मा दिइएको छ। आयोजनामा लगानी गर्न इच्छुकले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ ३० गतेसम्म आवेदन दिनुपर्नेछ।