पछिल्ला दिनमा विभिन्न सञ्चार–माध्यममा सम्बन्धविच्छेद गर्ने पुरुष बढे भन्ने समाचार पढ्दा मलाई केही लेख्न मन लाग्यो । विगतको कानुनी व्यवस्थाअनुसार सम्बन्धविच्छेद गर्ने पुरुषलाई अंकुश लागेको थियो ।
जस्तै– १. श्रीमती तीन वर्ष बेखबर बाहिर बसेमा, २. अंगभंग हुने गरी कुटपिट गरेमा, ३. श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेमा मात्र श्रीमान्ले सम्बन्धविच्छेद गर्न सक्थे । तर, ०७५ भदौ १ गतेदेखि नयाँ अपराधसंहिता लागू भएपछि समानताका नाममा महिलालाई सरह पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न खुकुलो बनाइनु नै दुःखको कुरा हो । जसका कारण ०७७÷७८ मा मकवानपुरमा जिल्ला अदालतमा मात्र दुई सय ६५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।
तराईमा दाइजोको नाममा पनि सम्बन्धविच्छेद गर्नेको संख्या अधिक छ । स्वतन्त्र हुने नाममा श्रीमान् र श्रीमतीबीच स–साना मनमुटावमा पनि विवाह भएको एक वर्ष नपुग्दै सम्बन्धविच्छेद गर्ने युवाजोडी पनि प्रशस्तै छन् । त्यस्तै, अन्य जिल्लामा पनि बिकराल समस्या भएको हुँदा सम्बन्धविच्छेदलाई महिला र पुरुष दुवैको हकमा खुकुलो बनाउँदा समाजमा पारिवारिक सम्बन्धमा असर पर्ने र छोराछोरीको भविष्य नै अन्धकारमय बन्न सक्छ । त्यसकारण हालको गठबन्धन सरकारले ०७५ सालको नयाँ अपराधसंहितामा केही संशोधन नगरी विगतकै कानुनी व्यवस्थाबमोजिम कडाइ गरिनु आजको आवश्यकता हो ।
कोल्हवी, बारा हाल : काठमाडौं