मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टोकियो
२०७८ श्रावण २२ शुक्रबार ०८:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिक भिलेजका कोठा बिगार्दै घर फर्के अस्ट्रेलियन खेलाडी

Read Time : > 1 मिनेट
टोकियो
२०७८ श्रावण २२ शुक्रबार ०८:२५:००

अस्ट्रेलियन खेलाडीहरूले ओलम्पिक भिलेजको कोठाका सामग्री बिगारेर घर फर्केको आयोजक टोकियोले जनाएको छ । ओलम्पिकमा सहभागी भई घर फर्कनुअघि अस्ट्रेलियन खेलाडीले एथलेटिक्स भिलेजका स्वयंसेवकलाई पनि दुव्र्यवहार गरेको आयोजकको आरोप छ ।

‘अस्ट्रेलियन खेलाडीले भिलेजभित्रका रुम बिगार्नुका साथै उनीहरूले स्वयंसेवकमाथि पनि नराम्रो व्यवहार गरेका छन्,’ टोकियो ओलम्पिक आयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले आफू बसेको रुमका भित्तामा सा–साना प्वाल बनाएका छन् ।’

खेलाडीहरूलाई आरामदायी तरिकाले सुत्न विशेष किसिमले बनाइएको कार्डबोर्ड (ओछ्यान)समेत बिगारेको आरोप छ । खेलाडीहरूले आफू बसेको कोठामा सामान्य प्वाल पारेको अस्ट्रेलियन टोलीका नेता इयान चेस्र्टम्यानले पनि स्वीकार गरे । ‘जति धेरै बिगारेको कुरा बाहिर आएका छन्, त्यति ठूलो होइन, खेलाडीले निकै सामान्य प्वाल पारेका थिए,’ इयानले भने, ‘उनीहरूले यस कार्यप्रति माफी पनि मागेका छन्, यसलाई हामीले सामान्य घटनाका रूपमा लिएका छौँ ।’ खेलाडीहरूले कार्डबोर्ड पूर्ण रूपमै क्षति नपुर्‍याएको इयानले बताए । ‘भिलेजमा हाम्रा खेलाडीहरूले प्रयोग गरेको ओछ्यान (कार्डबोर्ड) हल्काफुल्का मात्र प्वाल परेको छ, यसलाई सामान्य रूपमा लिँदा राम्रो हुने थियो,’ खेलाडीहरूको बचाउ गर्दै इयानले भने, ‘हामी कुनै पनि कारबाही प्रक्रिया अगाडि बढाउने छैनौँ ।’ 

आयोजक तथा अस्ट्रेलियन टोली नेता इयानले भिलेजमा नराम्रो काम गर्ने खेलाडीहरूको नाम भने सार्वजनिक गरेका छैनन् । तर, फुटबल तथा रग्वीका खेलाडीले अस्ट्रेलिया प्रस्थान गर्नुअघि एथलेटिक्स भिलेजमा क्षति पुर्‍याएको आरोप छ । ‘हामी अस्ट्रेलियन खेलकै नियमनकारी संस्था हौँ, हाम्रो कर्तव्य भनेकै सबै पक्ष खुलस्त राख्ने हो, टोकियो ओलम्पिकमा अस्ट्रेलियाबाट सहभागीमध्ये रग्वी युनियन तथा फुटबल खेलाडीले यस्तो काम गरेका हुन्,’ अस्ट्रेलियन ओलम्पिक कमिटीले भनेको छ, ‘हामी यस सम्बन्धमा अनुसन्धान गर्दै छौँ ।’ 

आफ्नै देशको ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत खेलाडीहरूबारे सार्वजनिक गरेपछि अस्ट्रेलियन टोली नेता इयानले केही युवा खेलाडीले भूलबस नराम्रो काम गरेको बताएका छन् । ‘युवा खेलाडीहरूले गल्ती गरे, उनीहरूले सिड्नी उड्नुअघि आफू बसेको कोठामा नराम्रो काम गरेका थिए, जुन हामीले सोचेका पनि थिएनौँ,’ इयानले भने, ‘तर, भनेको जस्तो कोठा पूरै बिग्रेको र भताभुंग भएको छैन ।’

अस्ट्रेलियन टोलीनेताले गल्तीबाटै भविष्यमा खेलाडीले धेरै विषय सिक्ने जनाएका छन् । ‘ओलम्पिक एथलेटिक्स भिलेजमा भएका घटना एक रूपमा पुरानो किताबजस्तै हो, किताबको एउटा अध्याय नराम्रो हुन सक्छ, त्यसपछिका अध्याय राम्रो पनि बन्न सक्छ,’ इयान भन्छन् । 

यसैगरी रग्वी अस्ट्रेलिया संघले खेलाडीको नराम्रो कामप्रति अनुसन्धान गर्ने भएको छ । ‘रग्वी खेलाडी ओलम्पिकबाट घर फर्कने क्रममा अमानवीय व्यवहार गरेको जानकारीमा आएको छ, हामी यसप्रति गम्भीर छौँ यस सम्बन्धमा अनुसन्धान हुनेछ,’ रग्वी अस्ट्रेलियाले जनाएको छ, ‘खेलाडीहरूलाई हामीले चेतावनी दिएका छौँ ।’ 

‘आधिकारिक जानकारी आएको छैन’
अस्ट्रेलियन ओलम्पिक कमिटीका कार्यकारी प्रमुख म्याट कारोलले आधिकारिक रूपमा खेलाडीले एथलेटिक्स भिलेजमा गरेको व्यवहारको बारेमा आफूलाई जानकारी नआएको बताए । उनले खेलाडीले नराम्रो काम गरेको भए माफी मागेका छन् । ‘यो घटना वास्तवमै भएको हो भने हामी आयोजकसमक्ष माफी माग्न चाहन्छौँ जुन अत्यन्तै नराम्रो भयो,’ म्याटले भने, ‘खेलाडी अनुशासनमा बस्नुपर्छ, खेलाडीले नै अनुशासनहीन काम गरेको अवस्थामा अरूले के सिक्ने ?’