सत्तारुढ दल नेपाली कांगेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जहाँबाट ल्याएर भए पनि आमजनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागिपरेको बताए । सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरे ।
शनिबार काठमाडाैंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एन्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोनाविरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि स्मरण गराए ।
उनले भने, ‘खोपलाई सरकारले सबैैभन्दा बढी प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भए पनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौँ भनिरहेको छ ।’ उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागिपरेको बताए ।
उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गरे । उनले जनताको जीवनरक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।