चैतपछि ८ हजार ५ सय व्यक्तिले प्रिपेड डलर कार्डमार्फत ४ लाख ९० हजार डलर खर्च गरे, खर्च गर्न दिएको सुविधाभन्दा कम प्रयोग
अनलाइन सपिङलगायतका लागि चार महिनामा नेपालीहरूले करिब ६ करोड रुपैयाँ विदेशी मुद्रा खर्चिएका छन् । गत चैतपछि ८ हजार ५ सय व्यक्तिले प्रिपेड डलर कार्डमार्फत ४ लाख ९० हजार डलर खर्चिएका हुन् । प्रतिडलर औसत १ सय १८ को दरमा नेपालीहरूले उक्त समयमा कुल ५ करोड ७८ लाख रुपैयाँ खर्च गरेका छन् ।
गत ८ चैतमा राष्ट्र बैंकले विदेशी मुद्रा आर्जन नगर्नेहरूले समेत वार्षिक ५ सय डलरसम्म खर्च गर्न सक्ने गरी प्रिपेड डलर कार्ड बनाउन सकिने सुविधा दिएको थियो । ग्राहकले चाहेमा एकैपटक वा पटक–पटक गरेर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सक्छन् ।
‘विदेशका प्रतिष्ठित जर्नल अध्ययन गर्न, विभिन्न किसिमका तालिम लिनसमेत विदेशी मुद्राको भुक्तानी दिनुपर्ने अवस्थामा नेपालीहरूलाई समस्या भइरहेको थियो,’ राष्ट्र बैंकका विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘विदेशी मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा रहेकाले यतिको सुविधा सर्वसाधारणले पाउनुपर्छ भनेरै यो व्यवस्था गरिएको हो ।’
राष्ट्र बैंकको तथ्यांकअनुसार सुविधा दिइएको पहिलो महिनाको तुलनामा असार अन्त्यसम्ममा कार्डधारकको संख्या करिब ३ गुणा र खर्च रकममा पनि करिब ९ गुणाले वृद्धि भएको छ । तर, पनि यो संख्या कम नै छ । चैतमा २ हजार २ जनाले प्रिपेड डलर कार्ड सुविधा लिएकामा यो संख्या असार अन्त्यसम्ममा ८ हजार ५ सय पुगेको हो । त्यस्तै, पहिलो महिना ५१ हजार डलर खर्चिएका उनीहरूले असार अन्त्यसम्ममा कुल ४ लाख ९० हजार डलर खर्चिएका हुन् ।
यही तथ्यांकका आधारमा पनि ८ हजार ५ सय कार्डधारकले वार्षिक ४२ लाख ५० हजार डलर अर्थात् ५० करोड १५ लाख रुपैयाँ र मासिक ३ लाख ५४ हजार डलर अर्थात् ४ करोड १७ लाख रुपैयाँ खर्च गर्न पाउँछन् । चार महिनामा सीमाअनुसार पूरै सुविधा लिएर खर्चिँदा चार महिनामा १४ लाख १६ हजार डलर अर्थात् १६ करोड ७१ लाख खर्चिन सक्ने थिए ।
हाल राष्ट्र बैंकले ग्राहकहरूले खर्च गरेको प्रयोजनको विषयमा अध्ययन गरेको छैन । तर, आवश्यकता परेमा अध्ययन गरिने राष्ट्र बैंकको भनाइ छ । विशेष गरी यस्तो कार्डधारक र उनीहरूको खर्च ठूलो परिमाणमा नभएकाले पनि अहिले अध्ययनको आवश्यकता राष्ट्र बैंकले नदेखेको हो ।
‘डलरको खर्च कहाँ भइरहेको छ भन्नेमा राष्ट्र बैंक गम्भीर नै छ,’ निर्देशक पौडेलले भने, ‘तर, हालै मात्र यो सुविधा दिइएकाले केही समयको अन्तराल राखेर वा कारोबार रकम चिन्ताजनक रूपमा बढ्दै गएमा यस्तो अध्ययन गरिनेछ ।’
यस्तो कार्ड प्रयोगमा राष्ट्र बैंकले केही कडाइ गरेकै छ । विशेष गरी कार्डधारकले सुविधा लिने समयमै बैंकहरूमा गएर अन्य बैंकबाट यसअघि यस्तो सुविधा नलिएको र नेपालमै रहेर मात्र यो कार्डबाट भुक्तानी कारोबार गर्ने प्रतिबद्धता जनाउनुपर्छ । विदेशमा गएर कार्ड स्वाप गर्ने (घोटेर भुक्तानी दिने) सुविधासमेत पाइनेछैन ।
त्यस्तै, यस्तो कार्डको प्रयोग अनलाइन कारोबारका लागि मात्रै गर्न पाइनेछ । नेपाली कानुनले प्रतिबन्धित गरेका वस्तु तथा सेवा भने खरिद गर्न पाइँदैन । सम्पत्ति शुद्धीकरणका लागि पनि यस्तो कार्ड प्रयोग गर्न पाइँदैन भने यस्तो कार्ड जारी गर्ने बैंकहरूले शंका लागेका आधारमा कार्ड प्रयोगविहीन बनाउन सक्ने सुविधा दिइएको छ । यसरी प्रिपेड डलर कार्ड प्रयोगविहीन बनाएलगत्तै बैंकहरूले राष्ट्र बैंकलाई जानकारी भने गराउनुपर्छ ।