![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pradip-gyawali2021-04-25-04-20-30.jpeg)
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल पार्टीलाई एकताबद्ध बनाएर जान इच्छुक नदेखिएको बताएका छन्। पार्टी स्थायी कमिटी बैठकपछि ज्ञवालीले १०बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाएर जान कार्यदलका सदस्यहरूले नेपाललाई आग्रह गरेको बताए।
‘कार्यदलका सदस्यले माधव नेपाललाई भेटेर १०बुँदे सहमति कार्यान्वयन गरेर जाउँ भनेर भन्यौँ,’ ज्ञवालीले भने, ‘उहाँले एउटा बिन्दुमा पुगिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो।’ कार्यदलका सदस्यले संस्थागत निर्णय गरेर जानुपर्ने बताएका थिए। जवाफमा नेता नेपालले आफूले एक्लै भए पनि देउवालाई मत दिने बताएका थिए।
माधव नेपाल बेग्लै कोर्समा हिँड्न चाहेको ज्ञवालीले बताए। नेता नेपाल अर्कै निष्कर्षमा पुगेको देखिएको ज्ञवालीको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउलाले आज संसदमा विश्वासको मत लिँदै छन् । उनले संसद् सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसकेका छन्।
एमालेका अर्का नेता झलनाथ खनालले एमाले सांसदहरूलाई अलमल र आक्रोशमा नपरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरिसकेका छन्। आज ४ बजे संसद् बैठक बस्दै छ।