१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अझै आएन मोदीको प्रत्यक्ष बधाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२१:oo

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यसपटक भारतीय समकक्षी नरेन्द्र मोदीले प्रत्यक्ष वा सामाजिक सञ्जालमा बधाई दिएनन् । विगतमा नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि टेलिफोनमा बधाई दिँदै आएका मोदीले राजदूतमार्फत बधाई पठाएका छन् । ०७४ मा चौथोपटक प्रधानमन्त्री नियुक्त भएको केहीबेरमै बधाई दिन देउवालाई फोन गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत पनि बधाई दिएका थिए । तर, यसपटक भने भारतले नेपालमा भएका उच्च कूटनीतिज्ञलाई प्रयोग गरी बधाई दिएर काम चलायो । 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार प्रधानमन्त्री देउवालाई शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयसँगको समन्वयमा बुढानीलकण्ठ पुगेर भारत सरकारका तर्फबाट पुष्पगुच्छासहित मौखिक बधाई दिएका थिए । 

बुधबार सुरुमा भारतीय दूतावासको ट्विटरबाट प्रधानमन्त्री देउवालाई राजदूत क्वात्राले शिष्टाचार भेट गरेर बधाई दिएको सार्वजनिक भएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले पनि ट्विटरबाटै भेटबारे प्रतिक्रिया दिएको छ । परराष्ट्रले ट्विटरमा भनेको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा भारतीय राजदूत विनयमोहन क्वात्रालाई स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवाले बधाईका लागि राजदूत क्वात्रालाई धन्यवाद दिँदै दुई देशबीच प्राचीनतम् सम्बन्धबारे स्मरण गर्नुभयो ।’

भारतीय जनताका तर्फबाट पार्टीको विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले बुधबार साँझ टेलिफोन गरी प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवासँग दुई पार्टीबीच दलीय सम्बन्ध थप अघि बढाउने विषयमा सकारात्मक छलफल भएको चौथाइवालेले नयाँ पत्रिकालाई बताए । 

बुधबारै प्रधानमन्त्री मोदीले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग टेलिफोनमा कुराकानी गर्दै कोभिड– १९ महामारीविरुद्ध माल्दिभ्सलाई भारतले सहयोग गर्ने आश्वासन दिएका छन् । 

‘नेपालजस्तो निकट छिमेकी मुलुकका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिने परम्परा तोडिनु राम्रो होइन,’ दिल्लीस्थित एकजना पूर्वकूटनीतिज्ञले टेलिफोनमा भने ।
नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री भएको सात वर्षबीचमा नेपालमा सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्ड एक–एकपटक प्रधानमन्त्री भएका छन् भने केपी शर्मा ओली र शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्री भएका छन् । तीन वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री बन्नुपूर्व मोदीले विशेष दूतका रूपमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाएर सम्बन्ध सुधारको प्रयास गरेका थिए । प्रधानमन्त्री नियुक्त हुनासाथ मोदीले ओलीलाई टेलिफोनमा र सामाजिक सञ्जालमा समेत बधाई दिएका थिए । 

तर, यसपटक प्रधानमन्त्री देउवाले पाँचौँपटक प्रधानमन्त्रीका रूपमा कार्यभार सुरु गरेसँगै तेस्रोपटक भारतीय जनता पार्टी नेतृत्वको सरकारसँग देउवाको सहकार्य सुखद नहुने संकेत देखिएको छ । देउवासहित पाँचजना पूर्वप्रधानमन्त्रीहरूले यसअघि सामूहिक विज्ञप्ति जारी गरी नेपालको राजनीतिक प्रक्रियामा सामेल नहुन भारतलाई घुमाउरो शैलीमा आग्रह गरेका थिए । कतिपय विज्ञहरूले देउवा यसवेला भारतको छनोट वा रुचिका पात्र नभएको चर्चा गरिरहँदा मोदी र देउवाबीच संवाद हुन नसकेको हो । पछिल्लोपटक देउवा भारत भ्रमणमा जाँदा मोदीले भेटघाटको पूर्वनिर्धारित समयपूर्व निवासमा बोलाएर देउवासँग चियावार्ता गरेका थिए । 

भारतका प्रमुख दैनिक अखबार टाइम्स अफ इन्डिया र द इन्डियन एक्सप्रेसले क्रमशः मंगलबार र बुधबार प्रकाशित सम्पादकीयमा भारतका पुराना मित्र भन्दै देउवाको तारिफ गरेका छन् । उनीहरूले नेपालको राजनीतिक प्रक्रियामा भारतले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेसमेत उल्लेख गरेका छन् । 

तर, नेपाल मामिलामा भारतको उच्च कूटनीतिक तहको गतिविधिबारे जानकार डा. निहार नायक भने देउवालाई मोदीले टेलिफोन नगर्नु वा सामाजिक सञ्जालमा बधाई नदिनुलाई अन्यथा लिन नमिल्ने बताउँछन् । ‘मेरो बुझाइमा अहिलेको परिवर्तन सर्वोच्च अदालतको आदेशका आधारमा भएको हो भन्ने विषयमा भारत सरकार स्पष्ट छ,’ नायकले भने । 

प्रधानमन्त्री देउवाको भारतीय प्रधानमन्त्री मोदीसँग दोस्रो सहकार्य हो । भारतमा कंग्रेस र भाजपा सरकारसँग सहकार्य गरेका प्रधानमन्त्रीहरूमा उनी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मात्रै बाँकी छन् । 

प्रधानमन्त्री देउवालाई मंगलबार अमेरिकी राजदूत र्‍यान्डी बेरीले ट्विटरमा बधाई दिए । अघिल्लोपटक बधाईको दौडमा सक्रिय भएकी चिनियाँ राजदूत होउ यान्छीले पनि शिष्टाचार भेट गरिनन् । यो समाचार तयार गर्दासम्म चीनबाट देउवालाई बधाई सन्देश आएको परराष्ट्रका उच्च अधिकारीहरूले पुष्टि गरेका छैनन् ।

ad
ad