आफैँ सहआयोजक रहेको युरोकप २००० मा लज्जास्पद हारदेखि विश्व वरीयतामा शीर्ष स्थानसम्मको यात्रा
विश्व खेलकुद क्षेत्रको केही महान उपलब्धिमध्येको एक हो, जुन बेल्जियमको फुटबल टोलीले प्राप्त गरेको छ । पश्चिम युरोपका दुई ठूला देश जर्मनी र फ्रान्सको छेउमा रहेको सानो देश बेल्जियम फुटबलको विश्व वरीयताको शीर्ष स्थानमा छ ।
बेल्जियम झन्डै एक करोड १० लाख जनसंख्या भएको देश हो । जनसंख्याले मात्रै होइन, भूगोलले पनि सानो यो देश पहिलोपटक सन् २०१५ मा फिफाको विश्व वरीयताको शीर्ष स्थानमा पुगेको थियो । सन् २०१८ यता भने यो देश नियमित रूपमा फिफाको विश्व वरीयताको शीर्ष स्थानमा छ । तर, वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले यो अवधिमा त्यस्तो ठूलो कुनै पनि उपाधि जित्न भने सकेको छैन । बेल्जियम लामो समयदेखि उपाधिविहीन छ । आफ्नो देशलाई उपाधि दिलाउने अभियानमा बेल्जियको ‘गोल्डेन जेनेरेसन’ मानिएको यो टोली फेरि असफल भएको छ । युरोकप २०२० को क्वार्टरफाइनल चरणबाटै बेल्जियम बाहिरिएको छ ।
युरोकपको दोस्रो क्वार्टरफाइनल खेलमा इटालीसँग २–१ गोलले पराजित हुँदै बेल्जियम उपाधि होडबाट बाहिरिएको हो । यो गोल्डेन जेनेरेसनले उपाधिका लागि अझै प्रयास गर्नेछ । कम्तीमा अबको १८ महिनापछि कतारले आयोजना गर्ने फिफा विश्वकपसम्म बेल्जियमको यो टोली उपाधिकै प्रयासमा हुनेछ । त्यो अवसर पनि गुमाए लोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्रुयना थिबउट कर्टाेइजजस्ता विश्वकै चर्चित खेलाडीले भरिएको बेल्जियमलाई उपाधि जित्न अझै लामै समय कुर्नुपर्नेछ । त्यसअघि विश्व वरीयताको शीर्ष स्थानतर्फको बेल्जियमको यात्रा हेरौँ ।
बेल्जियमको फिफा वरीयताको शीर्ष स्थानतर्फको यात्रा निराशाजनक अवस्थाबाट सुरु भएको हो । सन् २००० को युरोकपमा बेल्जियम पनि सहआयोजक थियो । तर, बेल्जियम उक्त प्रतियोगिताको समूहगत चरणबाटै बाहिरियो ।
हजारौँ सेतो बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरिएको नौ दिनपछि नै बेल्जियम प्रतियोगिताबाट बाहिरिएको थियो । टर्कीसँग २–० ले पराजित भएपछि बेल्जियमको यात्रा समाप्त भएको थियो । यसले बेल्जियमको फुटबलको आमूल परिवर्तनको बाटो तय गर्यो । त्यसवेला मिचेल सब्लोन बेल्जियम राष्ट्रिय टोलीको प्राविधिक निर्देशक थिए । उनी भन्छन्, ‘आयोजकको दृष्टिकोणबाट प्रतियोगिता निकै सफल भयो । तर, मैदानमा हाम्रो टोलीको प्रदर्शन निकै खराब भयो ।’
सन् २००० को युरोकप बेल्जियमबाहेक अर्काे टोली जर्मनीका लागि पनि पुनः बलियोका साथ फर्किने आधार बन्यो । बेल्जियमजस्तै समूहगत चरणबाट बाहिरिएको जर्मनीले पनि त्यसपछि फुटबलमा व्यापक परिवर्तन गर्यो । जर्मनीले त त्यसको १४ वर्षपछि विश्वकप उपाधि नै जित्यो । तर, बेल्जियमले भने त्यस्तो सफलता हात पार्न अझै कुर्नुपर्ने भएको छ ।
बेल्जियमको यो पुनर्उत्थानमा सब्लोनले निक्कै मिहिनेत गरे । उनले देशको फुटबल परिवर्तनका लागि नयाँ ‘भिजन’ तयार पारे । ‘हामीले शनिबार र आइतबार बिहान ७ बजेदेखि रातको ७ बजेसम्म प्रशिक्षण गर्यौँ । हामीले शून्य बिन्दुबाट सुरु गर्यौँ । हामीले खाली पन्नाबाट गरेको सुरुवात हो यो । हामीले पूरै संरचना नयाँ विकास गरेका हौँ ।’
फिफाको विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमको यो यात्रा साँच्चिकै फरक छ, झन्डै एक करोड १० लाख जनसंख्या भएको देशले यो सफलताका लागि एउटा क्रान्ति नै गरेको छ
उनीहरूले यो सफलताका लागि कुनै पनि अवसर बाँकी राखेनन् । सब्लोनका अनुसार उनीहरूले पाँच–पाँचजना वा आठ–आठजना खेलाडीले खेल्दा युवा खेलाडीमा कत्तिको भार पर्छ भनेर अनुसन्धान गर्नकै लागि चारवटा विश्वविद्यालयलाई जिम्मेवारी दिएका थिए । उनीहरूले सानो–सानो विषयमा पनि अनुसन्धान गर्न थाले । कतिसम्म भने, बलबालिकाहरूलाई प्रशिक्षण गराउनु आइतबार बिहान ९ बजेको समय उपयुक्त हो वा होइन भनेरसमेत अनुसन्धान गरे । उनीहरूले त्यसका लागि १५ सय युवा खेलाडीको खेलमाथि अनुसन्धान गरे । यस विषयमा उनीहरूले ७० प्रशिक्षकलाई खटाएर एक सय २० वटा प्रस्तुति तयार पारे र क्लबहरूलाई बुझाए । यो अध्ययन गर्न उनीहरूलाई झन्डै एक वर्ष लाग्यो ।
उनीहरूले त्यहाँबाट आफ्नो परम्परागत ४–४–२ को खेल्ने ‘फर्मेसन’ पनि हटाए । त्यसको सट्टा उनीहरूले अझ सहज र आक्रामक देखिने ४–३–३ को संरचना अपनाए । यसले प्रत्येक खेलाडीहरूलाई थप जिम्मेवारी बहन गर्न मद्दत गरेको उनीहरूको विश्लेषण छ । झन्डै दुई दर्जनको हाराहारीमा व्यावसायिक क्लब रहेको बेल्जियममा त्यसरी खोजेर ल्याएका खेलाडीहरूले सहज सम्झौता पाए । बेल्जियमसँग अहिलेसम्म पनि ठूलो सफलता हात पारेको इतिहास छैन । त्यसले पनि हुन सक्छ, उनीहरूमाथि लगानीबाट तत्काल फाइदा लिनुपर्ने कुनै दबाब रहेन । सायद, यसले गर्दा उनीहरूमा प्रयास गर्ने धेरै अवसर पनि रह्यो ।
देशका प्रत्येक क्लब यो अभियानमा जोडिए । सब्लोनकै भनाइलाई मान्ने हो भने उनीहरूसँग पनि गम्भीर समस्याहरू थिए, तर उनीहरूले त्यसको समाधान खोजे । ‘मलाई अझै सम्झना छ, हामीले यसको प्रयोग यु–१७ उमेर समूहमा गरेका थियौँ । हामीले पहिलो खेल फ्रान्ससँग खेल्यौँ । त्यसवेला हामी फ्रान्ससँग ७–१ ले पराजित भयौँ,’ उनी भन्छन्, ‘त्यसवेला अरूले गर्ने प्रतिक्रिया तपाईं अनुमान गर्न सक्नुहुनेछ । तर, त्यसको वर्ष दिनपछि नै, त्यही उमेर समूहमा फ्रान्ससँगै खेल्दा हामीले पूर्ण रूपमा उनीहरूलाई दबाबमा राख्यौँ । उनीहरूलाई पराजित नै गर्यौँ । यो परिवर्तनले समय लिन सक्छ । तर, महत्वपूर्ण कुरा भनेको सुरुवात नै हो ।’
त्यो समय अहिलेका स्टार खेलाडीमध्ये लुकाकु आठ तथा हाजार्ड र ब्रुएना दश–दश वर्षका थिए । त्यसवेला कसैका लागि अनुमान गर्न मुस्किल थियो, तर यी खेलाडीहरू विश्व फुटबलमा निकट भविष्यमै यसरी ‘लन्च’ हुँदै थिए कि उनीहरूले यो खेललाई नै नयाँ उचाइमा पुर्याउने छन् ।
लुकाकु अहिलेको समयमा यो विश्वकै सशक्त फर्वाड हुन् । यो सिजन इन्टरमिलानलाई इटालियन सिरी ए उपाधि दिलाएका उनी अचुक फिनिसर मानिन्छन् । लुकाकुमा अहिलेसम्म उनको आत्मविश्वासमा कमी देखिएको छैन । सफलताका लागि उनमा तीव्र इच्छा छ । ‘मलाई थाहा थियो कि मसँग पूरा प्याकेज थियो,’ लुकाकु भन्छन्, ‘मलाई आफैँलाई लाग्यो कि म अरू सबैभन्दा सशक्त छु ।’ लुकाकुले आफू १७ वर्षको हुँदा बेल्जियमको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनी अहिले देशकै सर्वाधिक गोलकर्ता छन् ।
बेल्जियम टोलीको फाइदा भनेका उनीहरूका खेलाडीहरू लामो समयदेखि सँगै खेल्दै छन् र उनीहरूले लामो समयदेखि एकअर्कालाई चिनेका छन् । उनीहरू पछिल्लो ११ देखि १२ वर्षदेखि सँगै खेल्दै आइरहेका छन् । ‘हामी एउटा टेबलमा सँगै बस्थ्यौँ र कुन टोलीसँग उत्कृष्ट युवा टोली छ, हामीले खेल्ने प्रतियोगितामा कसले सर्वाधिक गोल गरेको छ भनेर कुरा गथ्र्याैं । हामी एकअर्कालाई लामो समयदेखि चिन्छौँ,’ बेल्जियमको गोल्डेन जेनेरेसनका सदस्य गोलरक्षक थिबउट कर्टाेइज भन्छन्, ‘मैले १२–१३ वर्षको हुँदा लुकाकुविरुद्ध खेलेको छु । जब हामीले सँगै खेल्न थाल्यौँ, त्यसपछि हामी एकै समूहका साथी बन्यौँ । म पहिलो विश्वकप खेल्न ब्राजिल गएको सम्झन्छु । त्यसवेला मान्छेहरूले एक खेलसँगै खेलेपछि खेलाडीहरूले एकअर्कासँग कस्तो व्यवहार गर्छन् ? के उनीहरू झगडा गर्छन् ? भन्थे । तर, त्यस्तो व्यवहार हाम्रोमा थिएन । किनभने हामी एकअर्कालाई बुझ्छौँ । हामी सँगै गल्फ खेल्छौँ । सँगै कार्ड खेल्छौँ ।’
बेल्जियमको यो टोलीको मुख्य खेलाडीहरू निक्कै नै अनुभवी छन् । टोलीका नौ खेलाडीले राष्ट्रिय टोलीबाट ८० वा त्योभन्दा बढी खेल खेलेका छन् । त्यसमध्ये चार खेलाडीले एक सयभन्दा बढी क्याप जितेका छन् । लुकाकु र डी ब्रुयना अहिले विश्वकै शीर्ष दश मूल्यवान् खेलाडीमा पर्छन् । बेल्जियम राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेज कुनै पनि टोलीमा यत्तिका अनुभवी खेलाडी हुनुलाई असामान्य मान्छन् । गत मार्चमा उनले भनेका थिए, ‘पछिल्लो ५२ खेलदेखि म टोलीको जिम्मेवारीमा छु । यो अवधिमा औसतमा प्रतिखेल तीन गोलको दरले गोल गर्न सफल भएका छौँ । तपाईंले अन्तर्राष्ट्रिय फुटबलमा यो कमै देख्नुहुनेछ,’ उनी भन्छन् ।
बेल्जियम कुनै ठूलो उपाधि नजित्दा पनि फिफा वरीयताको शीर्ष स्थानमा पुग्नुको पछाडिको कारण उसको यही प्रदर्शन हो । फिफा वरीयतामा अघि बढ्नका लागि उपाधिभन्दा पनि टिमले खेलमा हात पारेको नतिजा महत्वपूर्ण हुने गर्छ । सानो देश बेल्जियममा तीनथरी भाषा प्रचलनमा छ । बेल्जियम फुटबल टोलीका लागि यो शक्ति बनेको छ । सन् २०१६ देखि बेल्जियमको प्रशिक्षकका रूपमा कार्यरत मार्टिनेज भन्छन्, ‘मेरो विचारमा यो विविधता हाम्रो डे«सिङ रूपमा भएकामध्ये बलियो हतियार हो । तपार्इं सधैँ फरक दृष्टिकोण पाउनुहुनेछ । फरक समाधान पाउनुहुनेछ ।’
लुकाकु थप्छन्, ‘तपाईं आफ्नो सहज क्षेत्रबाट बाहिर निस्कनु जरुरी छ । यहाँ रहेका खेलाडीहरू आफ्नो भविष्य निर्माण गर्नका लागि आफ्नो सहज क्षेत्रबाट बाहिर निस्किए । हामी निस्कियौँ र आफैँलाई परीक्षण गर्यौँ । हामीले जोखिम उठायौँ र त्यसले अहिलेको अवस्थामा पुर्याएको छ ।’ सब्लोन र यसका सुरुवातकर्ताहरूले यो नयाँ कार्यक्रम सुरु गर्दा बुझेका थिए, त्यसमा तत्कालका लागि पीडा छ । तर, उनीहरूले यो पनि देखेका थिए कि निकट भविष्यमा यो सुरुवातले साँच्चिकै एउटा ठूलो परिवर्तन ल्याउनेछ ।
सन् २००४ र २००७ को बीचमा बेल्जियम फिफा वरीयताको १६ बाट झरेर ७१औँ स्थानमा पुगेको थियो । उनीहरू सन् २००४ देखि २०१२ को अवधिमा कुनै ठूलो प्रतियोगिताका लागि छनोट हुन असफल भएका थिए । त्यसवेला उनीहरूले दुई विश्वकप र तीन युरोकप गुमाएका थिए । त्यो पीडापछि उनीहरूले गरेको मिहिनेत र लगानी अहिले देखिएको छ । – एजेन्सी