मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २४ बिहीबार
  • Thursday, 19 December, 2024
पशुपति क्षेत्र विकास कोषले बालुवा र माटो बेच्ने तयारी गरेको गोठाटारस्थित थुम्को । तस्बिर : संजित परियार/नयाँ पत्रिका
केदार दाहाल काठमाडाैं
२o७८ असार २४ बिहीबार o९:४५:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ अर्बको बालुवा र माटो दुई अर्ब १२ करोडमा ठेक्का लगाउने पशुपति क्षेत्र विकास कोषको तयारी

Read Time : > 4 मिनेट
केदार दाहाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २४ बिहीबार o९:४५:oo

पशुपति क्षेत्र विकास कोषले काठमाडौंको गोठाटारस्थित पाँच सय ३६ रोपनी जग्गामा रहेको बालुवा र माटो कौडीको भाउमा बिक्री गर्दै छ । बजार मूल्यभन्दा करिब चार अर्ब सस्तोमा ठेक्का दिन कोषले टेन्डर आह्वान गर्ने अन्तिम तयारी गरेको छ । 

कोषले दुई अर्ब १२ करोड ५० लाखमा बालुवा र माटो बेच्न लागेको हो । जब कि थोक दरअनुसार नै त्यहाँ रहेको बालुवाको मूल्य पाँच अर्ब ९६ करोड ९० लाखभन्दा बढी हुन्छ । कमिसनको खेलमा होलसेल मूल्यभन्दा तीन अर्ब ८४ करोड ४० लाख सस्तोमा ठेक्का दिने तयारी भएको स्रोतको भनाइ छ ।

गोठाटारको जग्गामा ५३ लाख ७७ हजार पाँच सय तीन घनमिटर माटो र बालुवा रहेको कोषको अनुमान छ । त्यसमध्ये ३७ लाख ६४ हजार दुई सय ७१ घनमिटर बालुवा र १६ लाख १३ हजार दुई ५९ घनमिटर माटो रहेको कोषले जनाएको छ । 

डा. घनश्याम खतिवडा : कार्यकारी निर्देशक पशुपति क्षेत्र विकास कोष

त्यहाँ चारदेखि पाँच अर्बको बालुवा र माटो होला । तर, विभिन्न शीर्षकमा खर्च पनि हुने भएकाले दुई अर्ब १२ करोडमा ठेक्का दिन लागेका हौँ । छिट्टै टेन्डर आह्वान गर्छौं ।

गोठाटारमा कति परिमाणमा बालुवा र माटो छ भन्ने प्राविधिक अध्ययन नै गरिएको छैन । कोषले अनुमान गरेकोभन्दा धेरै परिमाणमा बालुवा र माटो रहेकाले धेरै ठेकेदारले त्यहाँ आँखा गाडेको कोषका एक पदाधिकारीले बताए । ‘पहिलो, बालुवा र माटो कति छ भन्ने प्राविधिक अध्ययन हुनुपथ्र्यो, त्यसपछि बिक्री गर्ने हो । तर, अहिले त हचुवाका तालमा ठेक्का लगाउने तयारी भएको छ,’ उनले भने । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार बालुवाको थोकमूल्य (खानी सञ्चालकले ठेकेदारलाई बेच्ने मूल्य) प्रतिटिपर न्यूनतम (८ घन मिटर) न्यूनतम १२ हजार पर्छ । यस हिसाबले ३७ लाख ६४ हजार दुई सय ७१ क्युबिक मिटर बालुवाको मूल्य पाँच अर्ब ६४ करोड ६४ लाख हुन्छ । त्यस्तै, माटोको न्यूनतम थोकमूल्य प्रतिघनमिटर दुई सयभन्दा बढी छ । यो हिसाबले कोषले बेच्न लागेको माटोको मूल्य ३२ करोड २६ लाख ५१ हजार हुन्छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ‘यही मूल्य पाउनु नै धेरै भएको’ प्रतिक्रिया दिए । ‘हुन त त्यहाँ (गोठाटार) चारदेखि पाँच अर्बको बालुवा र माटो होला । तर, विभिन्न शीर्षकमा खर्च पनि हुने भएकाले दुई अर्ब १२ करोडमा बिक्री गर्न खोजिएको हो,’ उनले भने, उनले भने, ‘यही मुल्यमा टिट्टै टेण्डर आह्वान गर्ने तयारीमा छौं ।’

राजधानीबाहिरका खोलाबाट ल्याइने बालुवाको बजारभाउ काठमाडौंमा निकै उच्च छ । एक टिपर (८ घनमिटर) बालुवाको बजारमूल्य २८ देखि ३२ हजार रुपैयाँसम्म पर्ने एक निर्माण व्यवसायीले बताए । तर, ठेकेदारहरूले खानीमै पुगेर बालुवा किन्दा भने करिब १२ हजार पर्ने उनले बताए । 

पशुपतिको गुरुयोजनाअनुसार काम गर्नका लागि बालुवा बिक्री गर्न लागिएको खतिवडाको भनाइ छ । ‘बालुवा बिक्री गरेर खाली गरेपछि अस्पताल, विश्वविद्यालय र वृद्धाश्रम त्यही क्षेत्रमा निर्माण गर्ने हो,’ उनले भने । 

सरकारले १९ पुस ०७६ मा स्थानीय र सरोकारवालासँग छलफल नै नगरी सयवर्षे गुरुयोजना कार्यान्वयन गर्न खोजेको भन्दै विरोध जारी छ । गत साउनमा मात्रै सरकारले स्थानीयसँग छलफल गर्दै सुझाब समेटेर मात्रै कार्यान्वयमा जाने बताउँदै कार्यक्रम स्थगित गरेको थियो । अहिलेसम्म पनि परिषद्बाट गुरुयोजना पास भएको छैन । ‘बिस्तारै गुरुयोजना पनि पास हुने हुन्छ । त्यसैले ढिस्को खाली गरेर कोषको आम्दानी पनि बढाउन लागिएको हो,’ खतिवडाले भने । 

२८ जेठ ०४७ मा सरकारले गोठाटारमा रहेको पाँच सय ३६ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषका नाममा नामसारी गरेको थियो, जहाँ माटो र बालुवाको डिस्को छ । 

आफैँले तोकेकोभन्दा ७५ करोड कम मूल्यमा बेच्ने तयारी

जुन मूल्यमा अहिले बालुवा र माटो बेच्ने तयारी भएको छ, त्यो कोष आफैँले तोकेको मूल्यभन्दा धेरै कम हो । गत वर्ष नै कोषले बालुवाको मूल्य प्रतिघनफिट २० रुपैयाँ र माटोको मूल्य प्रतिघनफिट तीन रुपैयाँ ८० पैसा तोकेको थियो । एक घनमिटरबराबर ३५.३१ घनफिट हुन्छ ।

कोषले त्यतिखेर तोकेको मूल्यअनुसार गोठाटारको बालुवाको कुल मूल्य मात्रै दुई अर्ब ६५ करोड ८३ लाख २८ हजार एक सय ८० रुपैयाँ हुन आउँछ । त्यस्तै, माटोको मूल्य २१ करोड ६४ लाख ६३ हजार आठ सय ६६ रुपैयाँ हुन्छ । दुवैको कुल मूल्य दुई अर्ब ८७ करोड ४७ लाख ९२ हजार ४६ रुपैयाँ हुन्छ । तर, कोषले अहिले दुई अर्ब १२ करोड ५० लाखमा ठेक्का लगाउने तयारी गरेको छ ।

कोषका कार्यकारी निर्देशक डा. खतिवडाले यस विषयमा स्पष्ट जवाफ दिन सकेनन् । ‘बालुवा र माटोको खास मूल्य त एक अर्ब ९९ करोड मात्रै हो, तर केही ढुंगा र अन्य काठपात पनि आउन सक्ने भएर दुई अर्ब १२ करोड ६० लाख रुपैयाँ तोकिएको हो,’ उनले भने । 

कोषले गत २३ फागुनमै यो मूल्यमा ठेक्का दिन टेन्डर निकालेको थियो । तर, प्रक्रियामा केही विवाद भएको भन्दै १२ चैतमा सूचना प्रकाशित गरी रद्द गरेको थियो । त्यतिखेर न्यूनतम दुई अर्ब १२ करोड ५० लाख मूल्य कबोल गर्नुपर्ने र त्यसको साढे दुई प्रतिशतले हुने आउने रकम ग्यारेन्टी हुनुपर्ने गरी टेन्डर आह्वान गरिएको थियो । त्यतिखेर निकालिएको टेन्डरमा केही प्राविधिक कुरा नमिलेपछि रद्द गरिएको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले बताए ।

०६१ सालदेखि नै खानीमा ठेकेदारको आँखा
पशुपतिको बालुवा खानी सञ्चालन गर्न ०६१ देखि ठेकेदारहरूले प्रयास गरेका थिए । त्यस स्थानमा बालुवा खानी सञ्चालन गर्न बच्चुराम दाहालले ४ मंसिर ०६४ मा अनुमति लिएका थिए । उनले ५ कात्तिक ०६५ मा पशुपति विकास कोषसँग सम्झौता गरेका थिए । 

दाहालले २२ कात्तिक ०६५ देखि २१ वैशाख ०६६ सम्म खानी सञ्चालन गरेका थिए । सुरुमा प्रतिघनफिट बालुवाको ६ रुपैयाँका दरले कोषलाई दिने गरी खानी सञ्चालन गर्ने सम्झौता गरेका दाहालले पछि कोषकै मिलेमतोमा त्यसलाई प्रतिघनफिट तीन रुपैयाँ कायम गराएका थिए । 

कोष सञ्चालक परिषद्का तत्कालीन कोषाध्यक्ष ज्ञानबहादुर हमालको संयोजकत्वमा समिति गठन गरी मूल्य आधा घटाइएको थियो । त्यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको थियो । बालुवा खानी सञ्चालन गर्न अनुमति पाएका दाहालले पाँच प्रतिशत रकम अग्रिम दिनुपर्नेमा जम्मा अढाई प्रतिशत मात्रै रकम बुझाएपछि विवाद झनै बढेको थियो । उनले ३२ लाख ४२ हजार पाँच सय ३२ रुपैयाँ मात्रै दखिला गरेका थिए । 

खानी सञ्चालनको जिम्मा पाएका दाहालले कोषले तोकेको मापदण्ड नै मिचेर बालुवा निकालेका थिए । उनलाई बालुवा खानीबाट दैनिक दुई सय ९९ घनमिटर र वार्षिक ७१ हजार सात सय ६० घनमिटर नबढ्ने गरी बालुवा निकाल्न अनुमति दिइएको थियो । तर, उनको कम्पनीले दैनिक ६ सय ८३ घनमिटर बालुवा उत्खनन गरेको तत्कालीन कोषका सदस्यसचिव सुशील नहाटा संयोजक रहेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । अख्तियारको निर्देशनपछि कोषले दाहालसँगको सम्झौता तोडेको थियो । त्यसपछि दाहालले सर्वोच्चमा मुद्दा हाले, जसको अहिलेसम्म फैसला भएको छैन ।

२९ असार ०६१ मै फिरोज लामाले प्रतिवर्गफिट आठ रुपैयाँमा बालुवा खानी सञ्चालनका लागि माग गर्दै कोषमा निवेदन दिएका थिए । २३ साउन ०६६ मा आस्ता कन्स्ट्रक्सन प्रालिले पनि प्रतिवर्गफिट ६ रुपैयाँमा खानी सञ्चालनको अनुमति माग गरेको थियो । तर, अख्तियारको निर्देशनका साथै सर्वोच्चमा समेत त्यस विषयमा मुद्दा चलिरहेकाले लामो समयदेखि पशुपतिको जग्गामा रहेको बालुवाखानी बन्द रह्यो । 

तर, अख्तियारका तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले ६ जेठ ०७७ मा पशुपतिको बालुवा खानी सञ्चालनको बाटो खोलिदिए । अख्तियारले कोषलाई पत्राचार गर्दै कानुनअनुसार खानी सञ्चालन प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको थियो । त्यसको डेढ महिनापछि परिषद्ले कानुनी सल्लाहकार प्रवीणकुमार प्रधानको संयोजकत्वमा २७ असार ०७७ मा गोठाटार जग्गा व्यवस्थापन कार्यविधि तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सात दिनमै ४ साउन ०७७ मा कार्यविधि बनाएर बालुवा खानी सञ्चालन गर्न दिएर आयआर्जन गर्न सुझाब दिएको थियो । 

कार्यविधिअनुसार खानीको बालुवा बिक्री गर्ने निर्णय तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा रहेको पशुपति सञ्चालक परिषद्को बैठकले २१ भदौ ०७७ मा गरेको थियो । परिषद्ले सुरुमा माटो र बालुवाको एकमुस्ट प्रतिघनफिट ११ रुपैयाँका दरले दुई अर्ब १२ करोड ५० लाख न्यूनतम मूल्य तोकेको थियो । 

विवाद भएपछि संशोधन गरेर प्रतिघनफिट बालुवाको २० रुपैयाँ र माटोको तीन रुपैयाँ ८० पैसा तोकियो, तर कुल मूल्य भने समान नै राखियो । त्यो मूल्य ०७३ माघमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनले तोकेको मूल्यभन्दा पनि कम थियो । सुवेदी संयोजक रहेको कार्यदलले बालुवा र माटोको मूल्य एकमुस्ट न्यूनतम १५ रुपैयाँ तोकेको थियो । ‘तीन वर्षअगाडि १५ रुपैयाँ तोकिएको हो, तर अहिले २० रुपैयाँ राखेका छौँ,’ निर्देशक खतिवडाले भने ।