पछिल्लो दुई दिनदेखि परेको निरन्तर वर्षाले सिराहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कमला नदी तटीय क्षेत्रमा पर्ने सिराहा, कल्याणपुर र कर्जन्हाअन्तर्गत पर्ने गाउँबस्तीका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले बिहीबार बिहानदेखि नै माइकिङ गरिरहेको छ ।
सिन्धुलीमा राखिएको कमलाको बाढी मापन सूचकअनुसार बिहीबार बिहान सवा ७ बजेतिर नदीमा साढे तीन मिटर बहाव बढेको र सिराहासम्म आइपुग्दा नदीमा डेढ मिटर पानी बढेको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । प्रजिअ कँडेलका अनुसार पानीको बहाव बढे पनि सिराहा र धनुषातर्फका बासिन्दा कमलाको नदी उकासको जग्गामा खेती गर्न, भंगालो क्षेत्रमा घाँसदाउरा लिन जाने क्रम नरोकिएकाले त्यसो नगर्न सजगताका लागि सिराहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाअन्तर्गत पर्ने तटीय गाउँ बस्तीमा माइकिङ गरिएको हो ।
‘बाढी आएका वेला नदी उकासको जग्गामा खेतीपाती गर्न नजान, घाँसदाउरा नगर्न, माछा नमार्न र बाढीले बगाएर ल्याएको काठ दाउरा लिन बाढीमा नपस्न सचेत गराइएको छ,’ उनले भने । नदीमा बाढी बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरूको टोलीले तटीय क्षेत्रमा जोखिम न्यूनीकरणका लागि भइरहेका कामको स्थलगत निरीक्षण गरेको छ । टोलीले सिराहा नगरपालिका– १२ सारश्वर गाउँनजिक बाढी नियन्त्रणका लागि भइरहेको निर्माण कार्यको निरीक्षणसहित जोखिम नियन्त्रणका लागि भइरहेको कार्यलाई तीव्रता दिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।
चारजनाको उद्धारकमलाको नदी उकास क्षेत्रमा घाँसदाउरा लिन गएका वेला एक्कासि बाढी बढेर भंगालोमा फसेका चारजनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । भंगालोमा फसेका कर्जन्हा नगरपालिका– ३ सुन्दरपुरका तीन महिला र एक पुरुषलाई सेनासहितको टोलीले बुधबार अपराह्न सकुशल उद्धार गरेको नेपाली सेनाको चोहर्वास्थित शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले बताए ।