राजनीतिमा आफ्नो मात्रै प्रभुत्व हुनुपर्छ र नेतृत्वमा राजनीति गरेको व्यक्ति मात्रै हुनुपर्छ भन्ने सोच गलत छ
नेपालको राजनीति तरल अवस्थामा छ । कहिले आन्दोलन, कहिले संक्रमणकाल त कहिले पार्टीभित्रको चरम विवाद । यी सबै कारणले देश विकास र जनताका शिक्षा, स्वास्थ्य आदि जस्ता आधारभूत आवश्यकताका मूल मुद्दा धेरैजसो ओझेलमा परे र परिरहेका छन् । २०४६ सालको जनआन्दोलनपछि जन्मिएको पुस्ता ३५ नाघिसक्दा र निष्कर्षमा पुगेको गणतान्त्रिक आन्दोलनताका जन्मेका नेपालीले झन्डैझन्डै मतदान गर्ने वेला भइसक्दा पनि रोग र भोकको स्थितिमा खासै परिवर्तन आएको देखिन्न । चलिरहेको कोभिड लकडाउनका वेला विभिन्न संघसंस्थाले ठाउँ–ठाउँमा पाल टाँगेर गरिबलाई खाना खुवाउँदै गरेका दृश्य देख्दा ‘लोकतन्त्रले हामीलाई के दियो ?’ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
२०४६ सालदेखि हालसम्म आइपुग्दा नेपालको राजनीति धेरै वर्ष दुईवटा र हालका वर्षमा तीनवटा दलको वरिपरि घुम्यो । नेताका कुरा गर्ने हो भने मृत्यु भएका केहीलाई छाडेर त्यो वेलादेखि अहिलेसम्म उनै नेता वा तिनै नेताबाट शिक्षित र दीक्षित नेताका वरिपरि घुमिरहेका छौँ हामी । अहिलेको छाँटकाँट हेर्दा अझै केही वर्ष वा दशक यही चक्र चल्नेमा द्विविधा छैन । युवापुस्ता आफ्नो भविष्यप्रति निश्चिन्त हुन सकिरहेको देखिन्न ।
एकातिर देशको राजनीति वर्तमान सरकारका संविधानविरोधी गतिविधिले गर्दा फेरि एकपटक विकास र जनताका एजेन्डाबाट पर धकेलिँदै छ भने अर्कातर्फ लोकतान्त्रिक शक्तिहरू एकपटक फेरि आन्दोलन गर्नुपर्ने हो कि भनी सोच्दै छन् । साथै, भएका यिनै दल र यिनै नेताले मात्रै विकासका एजेन्डा कति सम्बोधन गर्न सक्छन् भन्ने प्रश्न पनि टड्कारो रूपमा छँदै छ । नेपाली जनता फेरि अर्को ३० वर्ष यही भुमरीमा रुमल्लिने कि अरू कुनै समाधानको बाटो खोज्ने ?
अब यो समस्याको समाधान खोज्नुपर्ने वेला आएको छ । जसरी कुनै औजार बिग्रियो भने हामी फेर्छौं या मर्मत गर्छौं, त्यसैगरी अब हाम्रो राजनीति पनि फेर्ने या मर्मत गर्ने वेला आएको छ । पञ्चायत फेरियो, राजतन्त्र फेरियो । व्यवस्था फेरियो, तर शैली फेरिएन । अब हामीले व्यवस्था होइन, त्यो व्यवस्था चलाउने मानिस फेर्नुपर्छ । नयाँ सोच र विचारका साथ विभिन्न पेसा र तप्काका व्यक्तिलाई राजनीतिमा स्वागत गर्नु नै आजको आवश्यकता हो, अपरिहार्यता हो ।
के हाम्रा नेतामा विकासको दृष्टिकोण नै नभएको हो ? पक्कै होइन । योजना बनाउन र भविष्यको सपना बुन्नमा उनीहरू अब्बल छन् । त्यसो हो भने समस्या के हो त ? विकासको सपनालाई यथार्थमा बदल्न सक्ने शक्ति नहुनु नै अहिलेको मूल समस्या हो । प्राथमिकता तोक्न नसक्ने, समयमै आयोजना पूरा नहुने, आयोजनाको लागतसँगै प्रतिफलको हिसाब नगर्ने र हचुवाका भरमा काम गर्ने प्रवृत्ति नै जनआकांक्षाअनुरूप काम हुन नसक्नुका कारक हुन् । साथै हरेकपटक सरकार र मन्त्री परिवर्तन हुँदा, अझ आफूलाई मन नपर्दा कर्मचारीतन्त्र गिजोल्ने प्रवृत्तिले विकासको ढोकामा चुकुल लगाएको छ । पाँचवर्षे कार्यकालमा एउटा सचिव यदि एघार ठाउँमा सरुवा हुन्छ भने ऊबाट के अपेक्षा गर्ने ? यसको कारण केही नेताहरूको व्यक्तिगत स्वार्थमा कर्मचारीले काम नगरेकोबाहेक अरू केही होइन ।
यो समस्याको दीर्घकालीन समाधानका लागि अब राजनीतिमा अरू क्षेत्रका सफल व्यक्तिको प्रवेश अनिवार्य भएको छ । राजनीतिमा अन्य क्षेत्रका विज्ञ प्रवेशको प्रयोग भारतजस्ता देशमा अत्यन्त सफल भएको छ । केही देशमा नकारात्मक भए पनि राम्रोको अनुपात उच्च छ ।
अरू क्षेत्रका सफल व्यक्ति भनेका विचारका उत्पादन र विक्रेता हुन् । यी दुवै पेसामा अब्बल भएकाले नै उनीहरू सफल हुन्छन् । समयको व्यवस्थापन, ठीक समयमा ठीक निर्णय लिने क्षमता र प्रभावकारी अनुगमन उनीहरूको सफलताका मापक हुन् । अझ त्योभन्दा पनि महत्वपूर्ण भनेको उनीहरू लगानी र प्रतिफलको हिसाब राख्न सक्छन् । उदाहरणका लागि– एक खर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्ता सीधै नगद वितरण गर्ने कि अर्को कोणबाट त्योभन्दा बढी र आवश्यक मानिसले मात्रै पाउने गरी वितरण गर्ने भनी हिसाब गर्ने क्षमता र निर्णय शैली अर्को क्षेत्रबाट आएका विज्ञको पक्कै राम्रो हुन्थ्यो ।
कुन आयोजनामा कति खर्च गर्ने, कति वर्ष लगाएर गर्ने र त्यसको प्रतिफल कति हुन्छ भन्ने हिसाब गर्न नजान्दा हामी खर्बौंका आयोजनामा वार्षिक केही अर्ब छट्याएर बसेका छौँ । यस्तो परिस्थितिको अन्त्य हुनैपर्छ र यसका लागि विद्यमान राजनीतिक सोचमा व्यापक परिवर्तनको खाँचो छ । यदि विकासलाई प्रतिफलका आधारमा हेर्ने नेता भएको भए दुई अंकको वृद्धिको छलाङ लगाउने वेलामा हामी राज्यको ठूलो ढुकुटी भ्युटावरमा पक्कै खर्च गर्ने थिएनौँ । यदि हिसाब राख्न जान्ने नेताले देश चलाइरहेको भए सरकारी ढुकुटीमा पैसाको अभाव नहुँदा, कुनै बन्द–हड्ताल नहुँदा पनि विकास खर्चको आधाभन्दा कम खर्च भएको देख्नुपर्ने थिएन । जनता कोरोनाबाट मरिरहँदा सरकारी निवासमा पार्टीको झगडा मिलाउन मन्त्रीहरू खटिनुपर्ने कारण राजनीतिले जनतालाई नछोएकाले नै सिर्जना भएको हो ।
विकासलाई प्रतिफलका आधारमा हेर्न सक्ने व्यावसायिक नेता भइदिएको भए दुई अंकको वृद्धिको छलाङ लगाउने वेलामा हामीले राज्यको ठूलो ढुकुटी भ्युटावरमा पक्कै खर्च गर्ने थिएनौँ
एउटा सफल व्यवसायीले आफ्नो व्यवसायभित्र संस्था निर्माण गर्छ र त्यसैबाट लगानीको दायरा बढाउँदै रोजगारी सिर्जना गर्छ । वस्तु तथा सेवा उत्पादन गर्छ, बजार विकास गर्छ, बिक्री गर्छ र नाफा आर्जन गर्छ । उसको पुँजीको विकासक्रम यसैगरी चलिरहन्छ । उसले आफ्नो नाफा र बिक्रीबाट सरकारलाई कर तिर्छ, उसका हरेक व्यवसायले सरकारी सेवाको उपभोग गर्छन् । आज हामीलाई चाहिएको राजनीतिक नेता पनि त्यस्तै हो, जसले पुँजीको विकास गरोस्, रोजगारीको अवसर सिर्जना गरोस्, बजार विकास गरोस्, स्वदेशमै वस्तु तथा सेवाको उत्पादन बढाउने नीति ल्याओस् । उद्योगका लागि बिजुली चाहियो, कच्चा पदार्थ चाहियो, बजारका लागि बाटो, पुल चाहियो, कमाइ भएपछि जनताका छोराछोरी पढ्न जान्छन्, स्कुल चाहियो, स्कुलमा शिक्षक चाहियो । यही हो विकासको चक्र र यही हो आधुनिक समाजवाद । यो चक्र एउटा सफल व्यवसायीले राम्रोसँग बुझेको हुन्छ । बुझेको मात्र हैन उसले त्यसलाई व्यवहारमा लागू पनि गरेको हुन्छ । यही कुरा राजनीति र विकास नीतिमा लागू गर्न सक्ने नेता नै आजको आवश्यकता हो ।
विगत केही समयदेखि नेपाली राजनीतिमा देखिएको बिकराल समस्या भनेको नेताकेन्द्रित विकासको अवधारणा पनि हो । प्रधानमन्त्रीदेखि प्रभावशाली मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा ठूलो रकम ल्याउने र देशको समानुपातिक विकासमा ध्यान नदिने प्रवृत्तिको अन्त्यका लागि पनि राजनीतिमा यस्ता मानिस आउनुपर्छ, जो निर्वाचन क्षेत्रको राजनीतिबाट परै रहोस्, पूरै देश उसको निर्वाचन क्षेत्र होस् ।
यदाकदा अरू क्षेत्रका व्यक्ति राजनीतिमा आउँदा उनीहरू आफ्नो व्यक्तिगत वा संस्थागत फाइदाका लागि अनावश्यक ‘लबी’ गर्छन् भन्ने आरोप लाग्छ, जुन सरासर गलत हो । उनीहरूको त्यस्तो ‘लबी’ राजनीतिमा प्रवेश गरेपछि भन्दा बाहिर बस्दा बढी प्रभावकारी हुन्छ । के अहिले उनीहरूले लबी गरिरहेका छैनन् ? पक्कै छन् । र, उनीहरूले बाहिर बसेर लबी गर्दा के हुन्छ, त्यो पनि हामीले देखिरहेका छौँ ।
राजनीतिकर्मीले अरू क्षेत्रका मानिस पनि देशका नागरिक नै हुन् र उनीहरू परिवर्तनका संवाहक हुन सक्छन् भन्ने बुझ्न जरुरी छ । परिवर्तनका लागि सोच र त्यो सोचलाई व्यवहारमा उतार्न हालका राजनीतिक दलका नेता, कार्यकर्ता तथा अरू क्षेत्रबाट आएका र आउने दुवैको मिश्रण जरुरी हुन्छ ।
त्यसैगरी अरू क्षेत्रमा मानिस राजनीतिक रूपमा कडा निर्णय लिन डराउँछन् भन्ने आरोप पनि सुनिन्छ । नियम, कानुन र विधिसम्मत निर्णय लिने बानी भएकामा यो लक्षण देखिनु स्वाभाविक हो । तर, उनीहरू परेका वेला जस्तोसुकै निर्णय लिन पनि पछि पर्दैनन् । आफ्नो संस्थाका पोख्त कर्मचारीलाई नेतृत्व गरेर सफल हुनेहरू संस्थाबाहिरका नागरिकलाई पनि उत्तिकै सबल तरिकाले नेतृत्व गर्न सक्छन् ।
व्यवसायमा थोरै मानिससँग मात्र जुधे पुग्ने, राजनीतिमा विभिन्न प्रकारका मानिससँग जुध्नुपर्ने चुनौती हुन्छ । आफ्नो निर्णय आफ्नै व्यवसायमा झैँ लागू गराउँछु भन्न पनि पूर्णतः सकिँदैन । यो चुनौतीसँग जुध्न नसक्ने व्यक्ति राजनीतिमा सफल हुन कठिन छ । यदाकदा अरू क्षेत्रका विज्ञहरू राजनीतिमा असफल हुनुको एउटा कारण यो पनि हो । साथै, अरू क्षेत्रका सफल व्यक्तिहरू अरूको कुरा सुन्न रुचाउँदैनन् भन्ने आरोप पनि लाग्छ, योचाहिँ साँच्चिकै प्रत्युत्पादक हुन सक्छ । साथै बाहिरको तापक्रमको पर्वाह नगरी आफ्नो २४ डिग्रीको वातानुकूलित कक्षका दशजना आफैँले छानेका पढेलेखेका र काममा पोख्त कर्मचारीलाई आफ्नो सोच बुझाउनु र बाहिरको ४२ डिग्रीको तापक्रममा नपढेका जनतालाई स्टेजबाट यो कारणले मलाई भोट हाल भन्नु एउटै कुरा भने पक्कै होइन । यो कुरामा अरू क्षेत्रबाट राजनीतिमा आउन चाहनेले हेक्का राख्नैपर्छ ।
राजनीतिमा आफ्नो मात्रै प्रभुत्व हुनुपर्छ र नेतृत्वमा वर्षौंदेखि राजनीति गरेको व्यक्ति मात्रै हुनुपर्छ भन्ने सोचले हामीलाई अगाडि बढ्न दिँदैन । अहिलेसम्मका ठूला राजनीतिक परिवर्तनमा राजनीतिकर्मीको मात्रै उपस्थिति थिएन । त्यसमा हरेक तह र तप्का, समुदाय र वर्गका मानिस थिए । ठूला परिवर्तनमा हातेमालो गर्नेहरूले मौका पाए देश परिवर्तन पनि गर्न सक्छन् ।
अन्य क्षेत्रका सफल व्यक्ति राजनीतिमा आउँदा मेरो भाग खान आयो भन्ने मानसिकता आजको अर्को समस्या हो । यो मानसिकता त्यागौँ, देश विकासको काममा सबै मिलौँ । नसके छाडौँ, पद ओगटेर इतिहासको धब्बा नबनौँ । मैले नसके अरूले गर्छ भन्ने भावना विकास गरौँ ।
(लेखक कांग्रेसका प्रशिक्षक हुन्)