मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार १२ शनिबार ०८:२५:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोनाको मारमा थारू ‘होमस्टे’

Read Time : > 1 मिनेट
२०७८ असार १२ शनिबार ०८:२५:००

थारू समुदायको मात्रै बसोवास, गाउँभरि काठले बनेका एकैनासका परम्परागत घर । कुनै वेला नामै नसुनिने भादागाउँ थारू ‘होमस्टे’ सञ्चालन भएपछि चर्चित बन्यो । दशकअघि सुरु भएर यहाँको प्रमुख पर्यटन गन्तव्य बनेको थारू होमस्टे करिब एक वर्षयता भने पर्यटकविहीन बनेको छ । कोरोना महामारीको त्रास र कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले भादामा पर्यटक पुग्न सकेका छैनन् । कोरोना महामारीअघि आन्तरिक र बाह्य पर्यटकको चहलपहल भइरहने भादा अहिले भने सुनसानजस्तै छ । 

होमस्टे सञ्चालन गरिरहेका स्थानीय बासिन्दा कोरोना महामारी सुरु भएदेखि पर्यटक आउन छाडेको बताउँछन् । स्थानीयका अनुसार गत वर्ष कोरोना महामारीको अवस्था सामान्य बनेर लकडाउन खुलेपछि धनगढी आसपासका पर्यटक छिटपुट आउन थालेका थिए, तर कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि पर्यटकको आवागमन पुनः ठप्प भएको छ । 

होमस्टे सञ्चालन गरिरहेका पुनाराम चौधरी कोरोना संक्रमण सुरु भएको करिब २७ महिनायता गाउँमा पर्यटक नआएको बताउँछन् । पुनाराम भन्छन्, ‘गत वर्षको लकडाउनअघि होमस्टे रामै्र चलेको थियो । लकडाउनपछि पर्यटक आएनन्,’ उनी थप्छन्, ‘कोरोनाले बर्बाद बनायो । लामो समयसम्म होमस्टे बन्दजस्तै छन् ।’

ठेट थारू समुदायको बसोवास रहेको भादागाउँ थारू कला, संस्कृति र जीवनशैलीको अवलोकनका लागि प्रख्यात छ । भादाका २० वटा घरमा होमस्टे सञ्चालन छ । भादा होमस्टेमा थारू संस्कृतिसँगै थारू समुदायका खानाका परिकारले पर्यटकको मन लोभ्याउँछ । लामो समय होमस्टे बन्द हुँदा स्थानीयको आयस्रोत पनि रोकिएको छ । होमस्टेमा पर्यटक आउँदा गाउँमा उत्पादित माछा, बंगुर, तरकारीलगायत स्थानीय उत्पादन खपत हुने गरेको थियो । तर, पर्यटक आवागमन बन्द भएपछि अहिले गाउँमा उत्पादित माछा–मासु, तरकारीजन्य उपजले बजार पाउन मुस्किल भएको स्थानीयको भनाइ छ ।

पर्यटकको पर्खाइ
होमस्टे सञ्चालन गरिरहेका स्थानीय बासिन्दा कोरोना महामारीको अवस्था सामान्य बन्दै गएकाले पर्यटक आउलान् भन्ने आशामा छन् । पर्यटक आए स्वास्थ्य सतर्कताका साथ सेवा दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ । स्थानीय जगत चौधरीले कोरोना महामारीको अवस्था सामान्य बन्दै गएमा होमस्टे सञ्चालन गर्ने आफूहरूको तयारी रहेको बताए । होमस्टे सञ्चालनमा आए यहाँको पर्यटन प्रवद्र्धनमा यसको प्रचार–प्रसारमा सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

भादा थारू होमस्टे १७ पुस ०६७ बाट सञ्चालनमा आएको थियो । सुदूरपश्चिममा सञ्चालनमा आएको यो पहिलो होमस्टे हो । भादामा थारू परिकार खुवाएर पाहुनाको स्वागत गरिन्छ । पाहुनाको रोजाइअनुसार ढिक्री, बरिया, खिरिया, अन्डीको चामलको भातलगायत खानाका परिकार उपलब्ध हुन्छन् । लोकल कुखुराको मासु, माछा आदि पनि खान सकिन्छ । गोरुगाडामा बसेर थारू गाउँको अवलोकन पनि गर्न पाइने सुविधा छ । चारैतिर जंगलले घेरिएको रमणीय स्थल भादा पुग्ने पर्यटकले गाउँनजिकै रहेको प्रसिद्ध पर्यटकीय स्थल बेहडाबाबा मन्दिर, जोगिने ताल आदिको अवलोकन गर्न सक्छन् ।

भादा थारू होमस्टेमा थारू सांस्कृतिक नृत्यहरूको अवलोकनबाट आनन्द लिन सकिन्छ । सखिया, मघौटा, झुम्रा, लठौवालगायत थारू सांस्कृतिक नृत्यहरू देखाउन युवती र महिलाहरूका सांस्कृतिक समूहहरू गठन गरिएका छन् । पाहुनाको रोजाइअनुसार नृत्यहरू देखाउने गरेको अध्यक्ष चौधरी बताउँछन् । गाउँमा आउने पाहुनालाई थारू युवायुवतीले परम्परागत नृत्य र वेशभूषाले स्वागत गर्छन् । 

डगौरा थारू समुदायका २ सय ६५ घरधुरी रहेको भादामा अन्य समुदायको एउटा पनि घर छैन । गाउँका भल्मन्साले थारूबाहेक अन्य समुदायका व्यक्तिलाई घरजग्गा बिक्री–वितरणमा रोक लगाएको स्थानीय बताउँछन् । भादाको पर्यटन प्रवद्र्धनका लागि हरेक वर्ष पुसमा भादा थारू सांस्कृतिक महोत्सव पनि सञ्चालन गर्ने गरिएको छ ।