१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डेभिड मेड्निकोफ
२०७८ असार ८ मंगलबार ०६:५७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेतन्याहु गए, उनको कठोर नीति भने कायम रहनेछ

Read Time : > 2 मिनेट
डेभिड मेड्निकोफ
२०७८ असार ८ मंगलबार ०६:५७:००

नेतन्याहुले प्यालेस्टाइनसँगको विवादलाई सैन्यबलमार्फत समाधान गर्न जोड दिँदा इजरायलप्रतिको विश्वव्यापी समर्थन खस्किएको छ

दुई वर्षको राजनीतिक अस्थिरतापछि इजरायलमा नयाँ गठबन्धन सरकार निर्माण भएको छ । गठबन्धनले बेन्जामिन नेतन्याहुको लामो शासनलाई अन्त्य गरेको छ । तर, सत्तामा नरहे पनि नेतन्याहुले बिरासतमा छाडेर गएको कठोर नीति आगामी दिनमा पनि यथावत् रहने सम्भावना छ । मध्यपूर्वी राजनीतिको जानकार भएकाले म नेतन्याहुले छाडेर गएका बिरासतको चर्चा गर्दै छु । 

विशेषत नेतन्याहुलाई तीन कामका लागि अन्तर्राष्ट्रिय रूपमा सम्झना गरिनेछ । तिनमा प्यालेस्टाइन राज्यको उदयलाई रोक्ने, इजरायली सेनालाई थप सशक्त बनाउने र मध्यपूर्वमा इरानको प्रभावको प्रतिरोध गर्ने काम पर्छन् । अधिकांश इजरायलीमाझ ‘बिबी’ भनेर चिनिएका नेतन्याहु पहिलोपटक सन् १९९६ देखि सन् १९९९ बीच प्रधानमन्त्री बनेका थिए । त्यसको एक दशकपछि पुनः उनी सत्तामा फर्किए । पहिलोपटक प्रधानमन्त्री हुँदा नेतन्याहुको परिचय थियो, अमेरिकासम्बन्धी व्यापक अनुभव भएको नेता र सुरक्षाविज्ञको । पहिलो परिचयको अर्थ हुन्थ्यो, उनले अमेरिकी राजनीति र स्वार्थ समूहलाई राम्ररी चिनेका छन् । यसकारण उनी अमेरिकाबाट इजरालयप्रति बलियो समर्थन हासिल गर्न सक्षम छन् भन्ने विश्वास थियो । दोस्रो परिचयले उनलाई आफ्नै देशमा सफल बनाउन सघायो । इजरायलमा सेनालाई निकै सम्मान गरिन्छ र यसलाई प्रमुख राष्ट्रिय संस्थान मानिन्छ । नेतन्याहु सन् १९६७ देखि इजरायली सेनाको नियन्त्रणमा रहेको प्यालेस्टाइन भूभागमा सम्झौता नगरिने वाचा गरेर सत्तामा आएका थिए र प्रधानमन्त्री भएपछि वेस्ट बैंकमा तीव्रतासाथ यहुदी बसोबास विस्तार गरे । यी दुई नीतिमा उनी सधैँ अडिग रहे । 

भविष्यमा नेतन्याहुलाई प्यालेस्टाइनी राज्यको उदयलाई रोक्ने, इजरायली सेनालाई थप सशक्त बनाउने र मध्यपूर्वमा इरानको प्रभावको प्रतिरोध गर्ने नेताका रूपमा अन्तर्राष्ट्रिय जगत्ले सम्झनेछ
 

नेतन्यहुको सबैभन्दा ठोस बिरासत इजरायललाई वेस्ट बैंकबाट अलग गर्न बनाइएको भौतिक अवरोध हो । जसका कारण इजरायली अधिकारी वेस्ट बैंकमा बसोबास गर्ने प्यालेस्टाइनीको इजरायल प्रवेशलाई नियन्त्रण गर्न सम्भव भएको छ । भौतिक अवरोधका कारण इजरायली यहुदी र प्यालेस्टाइनीको सम्पर्क टुटेको छ । भौतिक विभाजन र बलियो सैन्य उपस्थितिले इजरायलमा प्यालेस्टाइनीबाट आक्रमण कम भएको छ तर प्यालेस्टाइनमा बस्ने सामान्यजनको जीवन निकै कष्टकर बनेको छ । यहुदीमाथिको आक्रमण कम भएकाले इजरायलले बृहत्तर शान्तिको बदलामा नियन्त्रित जमिन छाड्नुपर्ने स्थिति अन्त्य भएको छ । यसले प्यालेस्टाइनीलाई आधारभूत स्वतन्त्रता र अवसरबाट विमुख बनाएको छ । 

लामो समयदेखि अमेरिकाले दिएको विशाल वैदेशिक अनुदान तथा सैन्य सहयोग र नेतन्याहुको समर्थनले इजरायली सेना निकै शक्तिशाली बनेको छ । इजरायली सेना छिमेकी देशका सेनाभन्दा हातहतियारयुक्त बनेको छ । जसलाई नेतन्याहुले आवश्यक पर्दा गाजामाथि भीषण आक्रमण गर्न प्रयोग गरे । गाजामा इजरायलविरुद्ध सैन्य कारबाहीको वकालत गर्ने हमासको शासन छ । नेतन्याहु इजरायलमा बढ्दो दक्षिणपन्थी विचारअनुरूप नै प्यालेस्टाइनीले जेरुसेलम राजधानीसहित इजरायललाई यहुदी राज्यका रूप स्विकार्नुपर्छ भन्ने तर्क गर्छन् । उनका अनुसार प्यालेस्टाइनीले अबका दिनमा सन् १९४८ अघि इजरायलमा रहेका तिनका घरजग्गामाथि दाबी गर्न सक्दैनन् । धेरै प्यालेस्टाइनीहरू वार्ताअघि नै यी सर्त मान्नुपर्ने इजरायली मागलाई अन्यायपूर्ण मान्छन् । इजरायलले नेतन्याहुको शासनकालमा वेस्ट बैंकको ठूलो भागमा यहुदी बसोबास विस्तार गरिसकेको छ । पछिल्लो महिना गाजा, इजरायलभित्र र वेस्ट बैंकमा फैलिएको द्वन्द्वले अझै पनि द्वन्द्वको सम्भावना देखाएको छ ।

नेतन्याहुले मध्यपूर्वमा प्रभाव विस्तार गर्ने इरानी योजनालाई निस्तेज पार्न भरमग्दुर प्रयास गरे । नेतन्याहु ट्रम्पलाई प्रभावमा पारेर सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेको दाबी गर्छन् । उनले प्यालेस्टाइनीहरूको राज्य स्थापनाको सपना कमजोर बनाउँदा, सेनालाई बलशाली बनाउँदा र इरानी जोखिमलाई प्रतिरोध गर्दा तीन परिणाम उत्पन्न भएका छन् । पहिलो, इजरायलका यहुदी र अमेरिकामा बस्ने यहुदीबीच प्यालेस्टाइनी स्वायत्तताबारेको बुझाइमा फाटो देखिन थालेको छ । दोस्रो, लामो समय प्रधानमन्त्री रहेर पक्षपाती नीति उचालेकाले नेतन्याहु विश्वका अधिनायकवादी नेताहरू भ्लादिमिर पुटिन, भिक्टर आर्बान र ट्रम्पका प्रिय बने । तेस्रो, इरानप्रतिको समान शत्रुभावका कारण इरानबाट आफ्नो शासनमा खतरा महसुस गर्ने केही अरबी नेता नेतन्याहुसँग नजिकिए । तिनमा इजिप्ट, साउदी अरब र संयुक्त अबर एमिरेट रहेका छन् । 

नेतन्याहुको लामो शासनमा इजरायल र समग्र मध्यपूर्वमा महत्वपूर्ण परिवर्तन देखियो । मध्यपूर्वका धनी अरबी राज्यसँग सहकार्य बढेको छ । तर, प्यालेस्टाइनसँगको विवादलाई सैन्य बलमार्फत समाधान गर्न जोड दिँदा इजरायलप्रतिको विश्वव्यापी समर्थन खस्किएको छ । तर, नेतन्याहु गए पनि उनले स्थापित गरेका नीति परिवर्तन हुने अवस्था छैन ।

(लेखक युनिभर्सिटी अफ म्यासाचुसेट एमहस्र्टका मध्यपूर्वी अध्ययन तथा सार्वजनिक नीतिका सह–प्राध्यापक हुन्)
द कन्भरसेसनबाट