मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Sunday, 08 December, 2024
लक्ष्मी विजयकुमार
२o८o चैत २९ बिहीबार १o:२७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतमा बढ्दो युवा आत्महत्या 

Read Time : > 2 मिनेट
लक्ष्मी विजयकुमार
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार १o:२७:oo

दिनमा दुई घन्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर–किशोरीले आत्महत्या गर्ने गरेका छन् 

त्महत्या मानव जीवनको दुःखद एवं अकालको क्षति हो । यो सबैभन्दा विनाशकारी र अन्योलजनक छ किनभने आत्महत्या एक सचेत स्वेच्छिक कार्य हो ।

विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्नेको दुर्भाग्यपूर्ण तथ्यांक भारतमा छ । राष्ट्रिय अपराध अभिलेख ब्युरो (एनसिआरबी) ले सन् २०२२ मा एक लाख ७१ हजारले आत्महत्या गरेको जनाएको छ । यो दर बढेर प्रतिएक लाखमा १२.४ जना पुगेको छ, जुन भारतमा अहिलेसम्मकै उच्च दर हो । तर, अपर्याप्त दर्ता प्रणाली, मृत्युको चिकित्सा प्रमाणपत्रको अभाव, सामाजिक लाञ्छना आदिका कारण यो तथ्यांक यथार्थभन्दा कम हुन सक्छ । दुर्भाग्य, कुलमध्ये ४१ प्रतिशत आत्महत्या ३० वर्षभन्दा कम उमेरका युवाले गर्छन् । भारतमा युवतीको मृत्युको प्रमुख कारण आत्महत्या हो । प्रत्येक आठ मिनेटमा एक युवाले आत्महत्या गरेर ज्यान गुमाएका छन्, जुन परिवार, समाज, अर्थतन्त्र र देशको भविष्यका लागि क्षति हो । युवाको आत्महत्या भारतमा एक प्रमुख सार्वजनिक स्वास्थ्य समस्या हो ।

एक मात्रै कारक छैन ः आत्महत्या एक जटिल मानव व्यवहार हो र यसको एकल कारण पत्ता लगाउन सकिन्न । युवामा हुने आत्महत्यालाई बहुनिर्धारित र जैविक, मनोवैज्ञानिक, पारिवारिक एवं सामाजिक–सांस्कृतिक कारकबीच अन्तरक्रियाको परिणामका रूपमा बुझ्न सकिन्छ ।

भारतमा किशोर आत्महत्याको हालैको एक विश्लेषणले प्रमुख जोखिम कारक पहिचान गरेको छ । जसमा मानसिक स्वास्थ्य समस्या (५४ प्रतिशत), पारिवारिक समस्या (३६ प्रतिशत), शैक्षिक तनाव (२३ प्रतिशत), सामाजिक एवं जीवनशैली (२० प्रतिशत), हिंसा (२२ प्रतिशत), आर्थिक संकट (९.१ प्रतिशत) र सम्बन्धमा समस्या (नौ प्रतिशत) रहेका छन् । अन्य कारकमा शारीरिक र यौन दुव्र्यवहार, परीक्षामा असफलता, अन्तरपुस्ताको द्वन्द्व, आमाबाबुको दबाब र जातीय भेदभाव समावेश छन् ।

युवा–युवती र महिलामा आत्महत्याका पछाडि विशिष्ट सामाजिक सांस्कृतिक कारक छन् । मागी विवाह र कम उमेरमा विवाह, कम उमेरको मातृत्व, न्यून सामाजिक स्थिति, घरेलु हिंसा र आर्थिक निर्भरता केही अभिलिखित कारक हुन् । कठोर लैंगिक भूमिका र विभेदलाई पनि कारकमा समावेश गरिएको छ । सन् २०२२ मा दुई हजार ९५ आत्महत्याका पछाडि परीक्षा असफल हुनु रहेको थियो । एउटै परीक्षामा अंक ल्याउने शिक्षा प्रणालीको जोड र अभिभावकीय एवं स्वदबाबका सन्दर्भमा पनि आत्महत्या हुने गर्छ । कलेज भर्नाका लागि तीव्र प्रतिस्पर्धा, नतिजाको वरिपरि मिडियाको सनसनी खोज चर्चा र सामाजिक लाञ्छनाले भावनात्मक तनाव बढाउँछ । प्रतिष्ठित कलेजमा हुने प्रतिस्पर्धात्मक परीक्षा र मौजुदा शैक्षिक दबाबले यी समस्यालाई थप जटिल बनाउँछन्, जसले दुःखद परिणाम निम्त्याउँछ ।

रक्सी र लागुपदार्थ युवा आत्महत्याका जोखिमपूर्ण कारक हुन् । पछिल्ला दुई दशकमा युवामा इन्टरनेट प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । भारतका १९ राज्यको मेटा–विश्लेषणअनुसार कलेजका लगभग २० प्रतिशत विद्यार्थी दुव्र्यसनमा छन् । एकतिहाइ युवा साइबर–बुलिङको सिकार भएका छन् । र, यो एकतिहाइको एकतिहाइले आत्महत्या गर्छन् । त्यसैगरी दिनमा दुई घन्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर–किशोरीले आत्महत्या गर्ने गरेका छन् ।

जोखिममा रहेका युवामा मिडियाको बलियो प्रभाव छ । आत्महत्याको सनसनीपूर्ण रिपोर्टिङ विशेषतः सेलिब्रेटीको बढ्दो आत्महत्यापछि हुने रिपोर्टिङले पनि गम्भीर प्रभाव पार्ने गरेको छ । भारतमा एक लोकप्रिय युवा पुरुष अभिनेताको आत्महत्यापछि गुगलमा ‘कसरी आत्महत्या गर्ने’ भन्ने खोजमा उल्लेखनीय वृद्धि भएको थियो । 

समाधानका उपाय : आत्महत्या एक व्यक्तिगत छनोट हो, यसलाई रोक्न सकिँदैन भन्ने मानिन्छ । अथवा यो सामाजिक–आर्थिक कारणले हुने हो, जुन आत्महत्या गर्ने व्यक्तिको नियन्त्रणबाहिर छ भन्ने बुझाइ पनि छ । अधिकांश आत्महत्या प्रयास गर्ने युवाका समस्याको वैकल्पिक एवं उपयुक्त समाधान हुन्छन् । युवाले समस्या समाधान, आवेग नियन्त्रण, र भावनात्मक नियमनको सीप सिक्न सक्छन् र मद्दत खोज्ने व्यवहारमा सुधार गर्न सक्छन् । मानसिक समस्याको प्रारम्भिक पहिचान र युवाअनुकूल हेरचाह आवश्यक छ । राम्रो आहार, नियमित व्यायाम, मध्यम इन्टरनेट प्रयोग, सहयोगी मित्रता, र योग÷ध्यानसहितको स्वस्थ जीवनशैली अपनाउनाले मानसिक स्वास्थ्यलाई प्रोत्साहन गर्छ र युवाको आत्महत्या कम गर्छ ।

घरेलु हिंसा र मदिरा सेवन घटाएर पारिवारिक वातावरणमा सुधार ल्याउने र खाँचोमा परेकालाई आर्थिक सहायता प्रदान गर्दा आत्महत्या गर्ने प्रवृत्तिमा कमी आएको देखिन्छ । वैकल्पिक मूल्यांकन विधि र युवाको क्षमता अन्वेषण गर्ने प्रावधानजस्ता शैक्षिक सुधार आवश्यक छन् । जात, धर्म र लैंगिकतामा आधारित लाञ्छना र विभेद सम्बोधन गर्न आवश्यक छ । राजनीतिक इच्छाशक्ति, अन्तरक्षेत्रीय सहयोग एवं प्रतिबद्धता र समुदायको सहभागिता पनि आवश्यक छ ।

प्रचार हुनुपर्ने रणनीति : स्वास्थ्य मन्त्रालयले नोभेम्बर २०१९ मा भारतका लागि राष्ट्रिय आत्महत्या रोकथाम रणनीति विकास गर्न कार्यदल गठन गरेको थियो । सन् २०३० सम्ममा आत्महत्यालाई १० प्रतिशतले घटाउने लक्ष्यसाथ २१ नोभेम्बर २०२२ मा अन्तिम रणनीति सुरु गरिएको थियो ।

रणनीतिले स्वास्थ्य, शिक्षा, सूचना तथा प्रसारण र समाज कल्याण मन्त्रालयबीचको सहकार्य आवश्यक रहेको जनाएको छ । रणनीतिले विद्यालय स्वास्थ्य दूत र युवा क्लबमार्फत मानसिक स्वास्थ्य प्रवद्र्धन गर्न र लागुपदार्थ एवं व्यवहारसम्बन्धी लत कम गर्न शैक्षिक संस्था र युवा संगठनलाई लाभान्वित गर्न सक्नुपर्छ । यो रणनीतिलाई सबै भारतीय राज्य र सरोकारवालामाझ तुरुन्तै प्रचार गर्न आवश्यक छ । प्रदेश, जिल्ला र सामुदायिक तहमा तत्काल कार्यान्वयनका लागि बजेट विनियोजन जरुरी छ ।

(प्राध्यापक विजयकुमार स्नेहा आत्महत्या रोकथाम केन्द्रकी संस्थापक हुन्) 
द हिन्दूबाट