१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रामनारायण बिडारी
२o८१ बैशाख २३ आइतबार o९:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बेठीक व्यवहार नै नगर्ने रूपचन्द्र

Read Time : > 3 मिनेट
रामनारायण बिडारी
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:३७:oo

जननेता, दार्शनिक अनि चुनावी अभ्याससहित ‘थाहा’ फैलाउने सुकरातजस्ता विलक्षण हिम्मत र इमान भएका नेपाली व्यक्तित्व रुदाने अर्थात् रूपचन्द्र विष्ट दामन, नेपालसँगको सहकार्यले जीवनमा गौरव बोध भयो । रुदानेका केही राजनीतिक स्मरणहरू :

रुदानेलाई राजा वीरेन्द्रको जन्मोत्सव मूल समारोह समितिमा पदेन सदस्य रहेको चिठी आयो । उहाँले सो चिठी ल्याउने व्यक्तिलाई सोही चिठीको पृष्ठभागमा ‘आयोजक ! जिउँदो मान्छे अदालतमा लडिरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ । रापसरू’ (राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र) लेखेर चिठीको भर्पाइ गरिदिनुभयो । र, भन्नुभयो, ‘त्यसैले मैले आफ्नो जन्मोत्सव मनाउने गरेको छैन । जसले आफ्नो जन्मोत्सव मनाउँदैन, उसलाई अरूको जन्मोत्सव मनाउने हक हुँदैन ।’

यसलाई लिएर तत्कालीन पञ्चहरूले रुदानेलाई कारबाही गरिनुपर्छ भनी पञ्चायत नीति तथा जाँचबुझ समिति (पनिजाबुस)मा उजुरी हाले । जन्मोत्सव सामारोहमा कारबाहीको माग गरी भाषण गरे । पनिजाबुसको अध्यक्ष नवराज सुवेदीले रुदानेलाई स्पष्टीकरण सोधे । तर, रुदानेले सो पत्रको पृष्ठ भागमा जे लेखेको छ, त्यो नै स्पष्टीकरण हो भनी जवाफ दिए ।

यसभित्र ठूलै सैद्धान्तिक, दार्शनिक र राजनीतिक कुरा छन् । कुनै मान्छे जन्मेको कारण समाज र मानव जातिलाई कति सकारात्मक प्रभाव पर्‍यो ? त्यसअनुसार पो उत्सव मनाउने हो । नकारात्मक प्रभाव परेमा त शोक पो मनाउनुपर्छ । यो प्रश्नको उत्तर अहिलेका जन्मोत्सव मनाउन केक काटेर प्रचार गर्नेले दिन सक्छन् ? बुजु्रकले बलपूर्वक व्याख्या गर्न खोज्लान्, तर औचित्य पुष्टि गर्न सक्दैनन् । निरंकुश राजतन्त्रमा चलेको कालोे व्यवस्थामा त्यसका नायकलाई रुदानेले दिएको उत्तर तत्कालीन शासकलाई कडा चुनौती थियो । तर, आजको परिवर्तित समयमा पनि यो बेथिति घटाउन सकिएको छैन ।

यसैगरी, बडामहारानीको जन्मोत्सवमा पनि रुदानेको नाममा एक चिठी आयो । स्मारिका प्रकाशन गर्न लागेकोले बडामहारानीको बारेमा रुदानेसँग एक लेख मागियो । उहाँले एक कागजमा लेखिदिनुभयो, ‘ऐराल एक ठूलीबढी आइमाई हुन्, किनकि उनले राजासँग विवाह गरिन् । — रुदाने ।’

हलकारा सो कागज लिएर गयो । यसमा लरतरो आँट छैन । मै हुँ भन्ने हालका नेताले पनि यो साहस गर्न सक्दैनथे । यसमा पञ्चले कराउन हिम्मत गरेनन्, किनकि ऐरालको अर्थ (ऐश्वर्य राज्यलक्ष्मी ) लगाउनुपथ्र्यो । अनि राजासँग विवाह भनेको कुन राजासँग ? बडामहाराजधिराज श्री ५ पो संवैधानिक राजा, अरू त सयौँ राजा हुन्छन् नि आदि तर्क–वितर्क हुन सक्थ्यो । चार राजा त देशमा आधिकारी पालेर राखेकै थिए । यस विषयमा पञ्चहरू हाकाहाकी आउन सकेनन् । 

एकपटक दरबारको विरुद्धमा रुदानेले राष्ट्रिय पञ्चायतभित्र भाषणै गर्नुभयो, ‘सरकार दरबारमा बसेकाहरूले अपराध, अन्याय गरे, जनता आपत्मा परे ।’ पञ्च रापसले तत्काल नियमापत्ति गरे, कारबाहीको माग राखे । अध्यक्षले राष्ट्रिय पञ्चायत सदस्य रुदानेलाई स्पष्टीकरण दिन आदेश दिए । रुदानेले मैले भनेको सत्य छ, स्पष्टीकरण त सरकार, दरबारमा बस्नेले दिनुपर्ने हो भनी जवाफ दिनुभयो । सदनमा हंगामा नै भयो । केही मण्डले प्रवृत्तिकाले रुदानेले यो राजदरबारलाई भनेको हो, यस्तो भन्नेलाई कडा कारबाही गर्नुपर्‍यो भने । फेरि अध्यक्षबाट आदेश भयो, ‘मान्य रूपचन्द्र विष्ट, प्रस्ट भन्नुप¥यो, यो के भन्न खोज्नुभएको ?’ रुदानेले जवाफ दिनुभयो, ‘दरबार त मुलुकमा धेरै छन् ।

रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नुहुन्थ्यो, ‘जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उसको प्रतिनिधि माननीय हुँदैनन् । जब जनता जाननीय हुन्छन्, तब उसको प्रतिनिधि माननीय हुन्छन् ।’

सिंहदरबार, बागदरबार, सेतोदरबार, लालदरबार । श्री ५ महाराजधिराजको दरबार वा राजदरबारलाई त राजप्रासाद पो भनिन्छ त । यति नबुझ्नेहरू चाकरी गर्न व्यस्त छन् । केही कारबाही हुन्छ भने जसले राजदरबार भन्ने शब्द जोडे, उतै होस् ।’ सदनमा हाँसोको पर्रा छुट्यो । फेरि यसमा आपत्ति गर्ने आँट कसैले गरेनन् । वास्तवमा दरबार भनेको जनताले राजदरबार नै बुझ्ने हो । कर्मचारी पनि दरबार नै भन्थे । यसको मतलब राजदरबार नै थियो ।

उनका भनाइ जनताले बुझ्ने तर कानुनले नसमात्ने हुन्थे । यो क्षमता पनि इतिहासमा स्मरणीय छ । अहिले आफैँले आफैँलाई माननीय भन्न रुचाउनेको हुल बढ्दो छ । अझ सामन्ती सोच भएका केही त सम्माननीय किन नभनेको भनी संसद्मा आपत्ति नै गर्छन् । सम्माननीय शब्द राजतन्त्रसँग, सामन्त प्रथासँग सम्बन्धित छ । अधिराज्य भन्ने शब्द राजतन्त्रसँग सम्बन्धित छ । बेलायतले राइट अनरेवल भन्ने चलन चलायो, अपर हाउस, लर्ड हाउस भन्ने शब्द प्रयोग गर्‍यो । यी सबै सामन्ती सोचयुक्त हुन् । रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नुहुन्थ्यो, ‘जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उसको प्रतिनिधि माननीय हुँदैनन् । जब जनता जाननीय हुन्छन्, तब उसको प्रतिनिधि माननीय हुन्छन् ।’

यो जनतन्त्रसँग सम्बन्धित छ । भारतमा प्रधानमन्त्रीलाई सम्माननीय भनिदैन । राष्ट्रपतिलाई पनि सम्माननीय भनिदैन । चीनमा पनि भनिदैन, अमेरिकामा पनि भनिदैन । तर, बेलायतमा भनिन्छ, किन ? जवाफ सामान्य छ– किनकि त्यहाँ राजतन्त्र छ । तर, नेपालमा किन यस्तो भनिन्छ ? किनकि, नेपालमा राजतन्त्र थियो, बेलायतको जस्तै प्रिभिकाउन्सिलको सट्टामा राजपरिषद् वा राजसभा थियो ।

तिनका सदस्यलाई सम्माननीय भन्ने प्रचलन राजाले बेलायतलाई हेरेर गरेका थिए । त्यसैले रुदानेले सदनमा कहिल्यै पनि सम्माननीय शब्द प्रयोग गर्ने काम गर्नुभएन । यस विषयमा पनि एकपटक रुदानेले अध्यक्षलाई सम्माननीय भनी सम्बोधन नगरेकोमा नियमापत्ति भयो । रुदानेले आफैँले अध्यक्षसँग तत्काल समय माग्नुभयो र भन्नुभयो, ‘माननीय अध्यक्ष महोदय ! यो सदनभित्र कोही पनि सम्माननीय छैनन् । सबै माननीयको हैसियतमा छन् । यदि कसैलाई सम्माननीय चाहिएको हो भने राजसभातिर खोज्न जानुपर्छ कि ?’ यसलाई लोकेन्द्रबहादुर चन्दसहितका माननीयले टेबल ठटाएर समर्थन गरेका थिए ।

रातो युगधारा साप्ताहिकमा एउटा समाचार आयो । ‘यो बौलाहा व्यवस्था हो – रापसरू’ । यसलाई लिएर संसद्मा पत्रिकासहित सुशीला थापालगायतका एक दर्जन रापसले नियमापत्ति गरे, कारबाहीको माग गरे । उहाँ आफैँले समय माग्नुभयो र भन्नुभयो– त्यो सामाचारमा मेरो नाम जोडिएको रहेछ । त्यो सामाचारमा जे लेखेको छ, त्यो अक्षरशः ठीक छ । त्यसपछि दर्जनौँ सदस्यले तत्काल कारबाहीको माग गरे ।

रूपचन्द्रले फेरि जवाफ दिए, ‘यहाँ अनेक व्यवस्था छन्– मनपरीतन्त्रको व्यवस्था, भ्रष्टाचारको व्यवस्था । यीह सदनमा अनेक व्यवस्था छन् । मैले पत्रिकाको समाचारमा उल्लेख व्यवस्था बौलाहा व्यवस्था भनेको हुँ । त्यस पत्रिकामा लेखेको यस्तो छ : जनताभन्दा जनप्रतिनिधि ठूला, जनप्रतिनिधिभन्दा कर्मचारी ठूला, कर्मचारीभन्दा प्रहरी ठूला, प्रहरीभन्दा अपराधी ठूला हुने यो व्यवस्था बौलाहा व्यवस्था हो ।’ त्यसपछि अब त साबिती नै भएकोले पनि जाबुसले कारबाही गरोस् भन्दै होहल्ला मच्चियो । पञ्चहरूले यो पञ्चायत व्यवस्थालाई भनेको हो भने । रूपचन्द्रको जवाफ भयो, ‘मैले भनेको कुरा पत्रिकामा नै छ । पञ्चायत भन्ने शब्द जसले थपे, उतै जे हुनुपर्ने हो, होस् ।’
(वरिष्ठ अधिवक्ता बिडारी संघीय सांसद हुन्)

ad
ad