१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रासस काठमाडाैं
२o८१ जेठ ५ शनिबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:२६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको भ्रमणमा रहेकी जापानी विदेशमन्त्री कामीकावा योकोले शिष्टाचार भेट गरेकी छिन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिए।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताए। उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे।

‘नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु।’  

सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्द्रपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन्। उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सो अवसरमा परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताका, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटालगायत उच्च अधिकारीको सहभागिता थियो।

ad
ad