गण्डकी प्रदेश क्षेत्रमा बनेको स्थानीय वायु सक्रिय बन्दा काठमाडौं उपत्यकामा २३ दिनपछि वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट काठमाडौंका विभिन्न क्षेत्रमा वर्षा भइरहेको हो। तर, उपत्यकाभरका सबै ठाउँमा भने वर्षा भएको देखिँदैन।
महाशाखाका अनुसार काठमाडौंमा २३ दिनपछि वर्षा भएको हो। यसअघि गत ३० चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा २.५ मिमि वर्षा भएको थियो।
त्यसयता लगातार खडेरी र डढेलोका कारण काठमाडौंमा प्रदूषण बढेकामा वर्षाले केही राहत हुने देखिन्छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौंलगायत क्षेत्रमा आइतबार हल्का वर्षा मात्र हुनेछ।
‘गण्डकी क्षेत्रमा बनेको स्थानीय वायुको बादल कोशीसम्म विस्तार भएको छ, यसले पहाडी क्षेत्रमा वर्षा गराइरहेको छ,’ उनले भने, ‘राति गण्डकी, बागमती र कोशीमा वर्षा हुने देखिन्छ।’
पश्चिमी वायु पनि भित्रिएकाले मंगलबारसम्म मुलुकका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।