ब्रान्ड नै स्थापित नभएका र विश्वसँग कुनै सम्पर्क नभएको कम्पनी आएर अर्थ नरहने सरकारी बुझाइ
अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन उत्पादन तथा एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट १० कम्पनीलाई नेपालमा उद्योग स्थापना गर्न आकर्षित गर्ने घोषणा गरेका छन् । उनले विद्युतीय गाडी आयातमा अन्तःशुल्क खारेजीदेखि भन्सारदर घटाएर वातावरणमैत्री सवारीलाई बढावा दिन खोजेका छन् ।
विश्वका धेरै मुलुकले समयावधि तोकेरै पेट्रोलियम गाडीलाई विद्युतीय भर्सनले प्रतिस्थापन गर्ने घोषणा गरिसकेका छन् । विद्युतीय सवारीको भविष्य देखेरै धेरै कम्पनी विद्युतीय गाडी उत्पादनमा केन्द्रित भइरहेका छन् । यही मौकामा सरकारले विद्युतीय गाडी उत्पादकलाई नेपालमा आकर्षित गर्ने योजना सार्वजनिक गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत रूपमै कर सहुलियत र नि:शुल्क जग्गा उपलब्ध गराउने सरकारको घोषणालाई स्वागत गरेको छ । घोषणालाई कार्यान्वयनमा लैजान सकेमा बाह्य लगानी आकर्षणमा सहयोग पुग्ने महासंघको विश्वास छ ।
सरकारले १० उत्कृष्ट कम्पनी ल्याउने घोषणा गरे पनि त्यस्ता कम्पनीको विषयमा सरकारले खुलाएको छैन । विश्वका विश्वसनीय गाडी उत्पादक ल्याउन सकिन्छ कि भनेर बजेटमा राखिएको अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए । ‘हामीले यही नै ब्रान्ड ल्याउने भनेर तोकेका छैनौँ, कम्तीमा अटो बजारमा बलियो उपस्थिति जनाइसकेका कम्पनीहरू आउनुपर्छ भन्ने हो,’ उनले भने । विश्वसनीय ब्रान्ड आएमा नेपालमा गाडी उत्पादन गरेर निर्यात गर्न पनि सकिने उनको भनाइ छ ।
अहिलेसम्म कोरियन कम्पनी मोट्रेक्सले गाडी एसेम्बलका लागि लगानी बोर्डमार्फत प्रस्ताव अगाडि बढाएको छ । केही चिनियाँ कम्पनीहरूले विद्युतीय स्कुटर, बाइक तथा तीनपांग्रे सवारीसाधन एसेम्बलका लागि उद्योग विभागमा प्रस्ताव पेस गरेका छन् । तर, विश्वका चर्चित विद्युतीय सवारी निर्माता कम्पनीहरू टेस्ला, किया, हुन्डाई, अउडी, मर्सिडिज बेन्ज, टोयोटा, लुसिड, फोर्ड, बिएमडब्लू, टाटा मोटर्सलगायतले नेपालमा एसेम्बल प्लान्ट राख्ने सम्भावना नरहेको अटो व्यवसायीहरू बताउँछन् ।
सरकारले उत्कृष्ट कम्पनी आइहाल्छन् कि भन्ने आसमा बजेटमार्फत छुट तथा अनुदान सुविधा घोषणा गरेको एक व्यवसायी बताउँछन् । तत्कालै कुनै प्रतिष्ठित ब्रान्ड आएर नेपालमा गाडी उत्पादन थालिहाल्ने सम्भावना नरहेको कोरियन किया गाडी विक्रेता सुहृद घिमिरे बताउँछन् । भारत, चीनलगायत मुलुकमा निर्यात गर्न सके मात्र नेपालमा एसेम्बल उद्योग स्थापना सम्भव रहेको उनको भनाइ छ । स्वदेशी बजारमा कुनै पार्टपुर्जा नभएकाले शतप्रतिशत पार्टपुर्जा आयात गरेर गाडी एसेम्बल गर्नुपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं लक्ष्मी हुन्डाईका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले बजेटमार्फत घोषणा गरेर मात्र उत्कृष्ट कम्पनी नआउने बताउँछन् । बजेटमा विद्युतीय सवारी उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरिए पनि आर्थिक अध्यादेशमा केही नभएको उनले बताए ।
यसअघि भारतीय टाटा मोटर्सले पनि बारामा एसेम्बल प्लान्ट लगाउन अध्ययन गरेको थियो । तर, नेपालमा एसेम्बल कम्पनी स्थापना गर्न सम्भव छैन भन्ने निष्कर्ष निकालेर टाटा बाहिरियो । गोल्छा समूहको हुलास मोटर्सले मुस्ताङ म्याक्स उत्पादन गरिरहेको थियो । तर, प्रतिस्पर्धा गर्न नसकेर बन्द भयो । अहिले गोल्छा समूहले बजाज र शंकर समूहले टिभिएस बाइक एसेम्बल सुरु गरेका छन् । तर, सरकारले स्वदेशमा गाडी उत्पादन गर्न प्रोत्साहन गर्ने बताए पनि कार्यान्वयनमा कन्जुस्याइँ गर्ने व्यवसायीहरू बताउँछन् ।
स्वदेशमै सवारीसाधन उत्पादन गर्नेलाई मागेजति सेवा–सुविधा दिन सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक भनेका छन् । तर, व्यवहारमा लागू भएको देखिँदैन । जसले गर्दा स्वदेशमा एसेम्बलभन्दा आयातीत बाइक तथा स्कुटर सस्तो पर्ने उनीहरू बताउँछन् ।
विदेशबाट पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गरेर विदेशमा नै निर्यात गर्न सम्भव नभएको जानकारहरू बताउँछन् । उत्पादन लागत र बजारीकरणका दृष्टिकोणले तत्काल विद्युतीय कार एसेम्बल गर्न नेपालमा सम्भव नभएको एक व्यवसायीले बताए । नेपालमा गाडीको बिक्री संख्या, निर्यात सम्भावनालगायतका विषयमा अध्ययन नगरी कुनै पनि कम्पनी नआउने गोल्छा अर्गनाइजेसनका राजकुमार गोल्छाले बताए । ‘नेपालमा ठूला कम्पनीलाई ल्याउन कोसिस गर्नुपर्छ,’ उनले भने, ‘गाडी कम्पनीसँगै २० अरू उद्योग पनि सञ्चालनमा आउँछन् ।’
तर, सरकारले विद्युतीय गाडी उत्पादकलाई नेपालमा स्वागत गर्ने सन्देश दिन खोजेको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘सरकारले बजेटमार्फत सन्देश प्रवाह गरेको छ, अब ठोस कार्यक्रम ल्याएर गाडी एसेम्बलका लागि यसैलाई प्रस्थान बिन्दु बनाउनुपर्छ ।’ अहिले सबै पार्टपुर्जा आयात गर्नुपर्ने भए पनि निश्चित समय तोकेर यति प्रतिशत पार्टपुर्जा स्वदेशमै उत्पादन गर्ने भनेर भिजन पेपर बनाउनुपर्ने उनले बताए ।
‘भारतमा सन् १९८०/८५ मा जापानिज कम्पनी सुजुकी आएर मारुती गाडी बनाउँदा शतप्रतिशत पार्टस् बाहिरबाट ल्याउँथ्यो, बिस्तारै भारतमै पार्टपुर्जा उत्पादन हुन थाल्यो, अहिले भारतमा धेरै पार्टपुर्जा उत्पादन हुन थालिसकेको छ,’ श्रेष्ठले भने ।
यी हुन् विश्वका प्रमुख विद्युतीय कार उत्पादक कम्पनी
पछिल्लो समय विश्वका धेरैजसो गाडी कम्पनीहरूको ध्यान विद्युतीय कार उत्पादनमा केन्द्रित देखिन्छ । विद्युतीय कार उत्पादक कम्पनीमा टेस्ला पहिलो नम्बरमा पर्छ । टोयोटा, किया, हुन्डाई, अउडी, मर्सिडिज बेन्ज, टोयोटा, लुसिड, फोर्ड, बिएमडब्लू, फक्सवागन, ज्यागुअर, पोल्स्टार, रेनो, पोर्सलगायत कम्पनीहरू विश्वकै उत्कृष्ट गाडी उत्पादक कम्पनीमा पर्छन् ।
खतिवडाको निर्णय उल्टियो
सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीय भर्सनमा परिवर्तन गर्न चाहेमा पाँच वर्षसम्म नवीकरण र सडक मर्मत शुल्क छुट गर्ने घोषणा गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायत केही युवा उद्यमीहरू पेट्रोलियम गाडीलाई विद्युतीय भर्सनमा परिवर्तन गर्ने काम गर्दै छन् । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी आयातमा लगाएको अन्तःशुल्क र भन्सार शुल्क अर्थमन्त्री पौडेलले हटाइदिएका छन् । अर्थमन्त्री पौडेलले सवारीअनुसार १० देखि ४० प्रतिशतसम्म भन्सारदर कायम गरेका छन् । डा. खतिवडाले ०७७/७८ को बजेटमार्फत विद्युतीय सवारी आयातमा ४० प्रतिशत भन्सार शुल्क र ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएका थिए ।