मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ १२ बुधबार १७:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपुरथिमिका उपप्रमुखसहित ६ वडाध्यक्षले भने– अक्सिजनसहितको आइसोलेसन बनाउन प्रमुखले असहयोग गरे

Read Time : > 1 मिनेट
२०७८ जेठ १२ बुधबार १७:४७:००

भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिकाका जनप्रतिनिधिहरूले नगरप्रमुखको असहयोगका कारण अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाउन नसकिएको भन्दै भत्र्सना गरेका छन् । नगरपालिकाका उपप्रमुखसहित ६ जना वडाध्यक्षले बुधबार सामूहिक विज्ञप्ति जारी गरी कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने वडाको विकास बजेट कटाएर कृषि तालिम केन्द्र बोडेमा आइसोलेसन केन्द्र बनाउने निर्णय गरे पनि नगरप्रमुखले असहयोग गरेको कारण बनाउन नसकिएको बताएका छन् । 

नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. १ का अध्यक्ष सुरज खड्का, २ का अध्यक्ष राम थापामगर, ३ का अध्यक्ष प्रेमबहादुर कुटु, ४ का अध्यक्ष कुमार श्रेष्ठ, ५ का अध्यक्ष इन्द्रबहादुर प्रजापति र ६ का अध्यक्ष रामकाजी चक्रधरले संयुक्त विज्ञप्ति जारी गर्दै नगरप्रमुखबाट गरिएको मानवीय कार्यविपरीतको कदमको भत्र्सना गरेका हुन् । ‘बढ्दो संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरप्रमुखबाट बैठक नबोलाइएको अवस्थामा मिति ०७८ वैैशाख २७ गते हामी ६ जना वडाध्यक्षले संयुक्त हस्ताक्षर गरी आगामी दिनमा सम्पूर्ण जनप्रतिनिधिहरूको सहमति लिने गरी कृषि विकास बैंक तालिम केन्द्र बोडेमा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रमा कोरोना संक्रमित नागरिकहरूलाई विज्ञसहित आवश्यक स्वास्थ्यकर्मीहरू र औषधि साथै अक्सिजनसहितको प्राथमिक उपचार सेवा सञ्चालनका लागि नगरप्रमुखसमक्ष प्रस्ताव पेस गरेका थियौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, यस्तो विषम परिस्थितिमा नगरप्रमुखले उक्त प्रस्ताव अस्वीकृत गरी असहयोग गरेका कारण सो मानवीय कार्य गर्न नसकेकोमा सम्पूर्ण नगरवासीमा क्षमाप्रार्थी छौँ ।’ 

विज्ञप्तिमार्फत कोरोनाबाट सबै नगरवासीलाई बच्न र बचाउन आग्रह गरिएको छ । नगरपालिकामा भिन्नभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरूबीच निरन्तर विवाद हुँदै आएको छ । प्रमुख मदनसुन्दर श्रेष्ठ एमालेबाट निर्वाचित हुन् । उपप्रमुख मधिकर्मीसहित वडाध्यक्षहरू कांग्रेसबाट निर्वाचित हुन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आइसोलेसन केन्द्र बनाउने पहल गरे पनि प्रमुखले राजनीतिक प्रतिसोध राखेर केन्द्रका लागि सहमति नदिएको वडाध्यक्ष रामबहादुर थापामगरले बताए । ‘हामीले पहल ग¥यौँ, प्रशासकीय अधिकृतज्यूले बजेट पनि दिने भन्नुभयो । तर, मेयरज्यूको असहयोगका कारण तत्काल गर्न सकिएन,’ उनले भने ।