१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ७ शुक्रबार
  • Wednesday, 23 October, 2024
२o७८ जेठ ७ शुक्रबार १o:१३:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

सुदूरपश्चिममा निषधाज्ञामै संक्रमण तीव्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ७ शुक्रबार १o:१३:oo

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञामै सुदूरपश्चिम प्रदेशमा संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । निषेधाज्ञायता संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ । संक्रमण बढ्दा संक्रमितले खचाखच भरिएपछि अस्पतालहरूमा शय्या र अक्सिजनको चरम अभाव भएको छ ।

निषेधाज्ञा लागू हुँदा गत १६ वैशाखमा संक्रमण दर ४२.०५ प्रतिशत रहेको सुदूरपश्चिममा बिहीबार संक्रमण दर ४४.६५ प्रतिशत छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुुसार १६ वैशाखमा प्रदेशभर पाँच सय ८५ नमुना जाँच गर्दा दुई सय ४६ मा संक्रमण पुष्टि भएको थियो । बिहीबार मात्रै प्रदेशभरि एक हजार सात सय ७६ नमुना परीक्षण गर्दा सात सय ९३ जनामा संक्रमण पुष्टि छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले अहिले कुनै दिन संक्रमण दर ६० प्रतिशतसम्म पुग्ने गरेको बताए । लकडाउनमा संक्रमण र मृत्युदर दुवै बढेको उनले स्विकारे । ‘पहिलो संक्रमण दर ३०–४० प्रतिशतसम्म थियो । अहिले ६० प्रतिशतसम्म पुग्छ,’ उनले भने, ‘संक्रमण भयावह रूपले फैलिसकेको छ ।’

सुदूरपश्चिममा सबैभन्दा पहिले निषेधाज्ञा जारी भएका कैलाली–कञ्चनपुरमा पनि संक्रमण दर घटेको छैन । यी दुई जिल्लामा निषेधाज्ञाको सुरुवातमा भन्दा अहिले संक्रमण दर उच्च रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । बिहीबार मात्र कैलालीमा आठ सय ४६ नमुना परीक्षण गर्दा चार सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा पहिलो दिन यहाँ परीक्षण गरिएका दुई सय ७८ मध्ये एक सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

१६ वैशाखमा परीक्षण गरिएका ६१ मध्ये ३६ जनामा संक्रमण देखिएको कञ्चनपुरमा बिहीबार ९४ मध्ये ६१ जनामा संक्रमण पुष्टि भएको छ । लकडाउनको सुरुमा पनि कुनै दिन भने संक्रमण दर उच्च देखिएको थियो । संक्रमण बढेपछि यहाँका अन्य जिल्लामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका थिए । अहिले सबै जिल्लामा संक्रमण दर बढ्दो छ । स्वास्थ्य सावधानी नअपनाउँदा निषेधाज्ञामा पनि संक्रमण दर बढेको चिकित्सकले बताएका छन् ।

अधिकांश संक्रमित होम आइसोलेसनमा
प्रदेशमा अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । प्रदेशभरि अहिले १० हजार पाँच सय ८० जना सक्रिय संक्रमित रहेको निर्देशनालयले बिहीबार जारी गरेको बुलेटिनमा उल्लेख छ । तीन सय सातजना विभिन्न अस्पतालमा उपचाररत छन् । बाँकी होम आइसोलेसनमा रहेका निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले बताए ।

सुदूरपश्चिमका प्रमुख सहर धनगढी र महेन्द्रनगर संक्रमणको हटस्पट बनेका छन् । धनगढीमा मात्रै एक हजार पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका धनगढी उपमहानगरका स्वास्थ्य संयोजक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा रहेका र उनीहरूले स्वास्थ्य सावधानी नअपाउँदा पनि संक्रमण तीव्र बनेको उपाध्यायले बताए । होम आइसोलेसनमा बसेकाबाट सर्र्दा धनगढीमा एकै परिवारमा धेरैजना संक्रमित देखिने क्रम बढेको उनले बताए ।

संक्रमितको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका डा. नीराजनदत्त शर्माले अहिले देखिएको नयाँ संक्रमण चाँडो फैलने खालको भएकाले पनि संक्रमितको संख्या बढिरहेको बताए । ‘धेरैजसो संक्रमित होम आइसोलेसनमा छन् । नयाँ संक्रमण सजिलै फैलने खालको भएकाले कतिपयले घरमा सावधानी अपनाउँदा–अपनाउँदै पनि सरेको देखिन्छ,’ उनले भने । अस्पतालमा उपचाररत बिरामीका कुरुवाबाट पनि केही मात्रामा संक्रमण फैलिएको डा. शर्माले बताए ।