मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार ०६:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भिसा पाएका १२ हजारभन्दा बढी श्रमिक नेपालमै रोकिए

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार ०६:५२:००

दोस्रो चरणको कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १२ हजारभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा जानबाट रोकिएका छन् । वैदेशिक रोजगार व्यवसाय संघका अनुसार रोजगारीका लागि मध्यपूर्वका विभिन्न मुलुक जान तयार भएका र बिदामा आई फर्कन तयार भएका श्रमिक रोकिएका छन् । साउदी अरबको भिसा लागेर जान तयार भएका ३ हजार १ सयभन्दा बढी श्रमिक नेपालमा नै रोकिएका छन् । त्यस्तै, कतारको भिसा लागेका २ हजार ६ सयभन्दा बढी छन् । दुबईको भिसा लागेर बसेका २ हजार ३ सय, ओमानको भिसा लागेका ३५० र बहराइनको भिसा लागेर १५० भन्दा बढी श्रमिक नेपालमा नै रोकिएका छन् । त्यस्तै, बिदामा आई पुनः श्रम स्वीकृति लिएर बसेका करिब ४ हजार श्रमिक फर्कन नपाएको संघका सचिव मेघनाथ भुर्तेलले बताए । 

मध्यपूर्वमा नेपाली श्रमिकलाई खुला
मध्यपूर्वका मुलुकमा नेपाली श्रमिकलाई रोजगारीमा जान खुला गरिएको छ । नेपालमा कोरोना संक्रमण बढे पनि सम्बन्धित मुलुकले तोकेको स्वास्थ्य मादपण्ड पालना गरी नेपाली श्रमिक जान पाउँछन् । कतार जाने नेपाली श्रमिकले पिसिआर परीक्षण गरी १५ दिन होटेल क्वारेन्टिन बसेपछि काममा जान पाउँछन् । त्यसैले कतार पुग्नुअघि नेपालबाट नै होटेल बुकिङ गर्नुपर्ने संघका सचिव मेघनाथ भुर्तेलले बताए । त्यस्तै, साउदी, दुबई, ओमान र बहराइनले पनि पिसिआर परीक्षण र १५ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड तोकेको छन् । 

तर, नेपाल सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि गत वैशाख २३ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । समयमा नै गन्तव्य मुलुकमा जान नपाउँदा कतार जाने कतिपय श्रमिकको भिसाको अवधि नै सकिएको संघका सचिव भुर्तेलले बताए । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । 

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोजगारीमा गएर भिसा अवधि सकिएका श्रमिकसमेत नेपाल फर्कन पाएका छन् । भिसा अवधि समाप्त भएका, आममाफी पाएका, बिरामी र भिजिटका लागि गएका नेपाली नागरिक नेपाल फर्कन पाएका छैनन् । त्यसैले रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन नसकिएको संघले जनाएको छ । 

२५ हजारको टिकटलाई १ लाख ६० हजारमा बिक्री गरिँदै
साउदी अरबको हवाई टिकट ६ गुणाले बढाइएको वैदेशिक रोजगारी व्यवसायीहरूले बताएका छन् । सरकारले साउदी अरब उडानको अनुमति दिएका एयरलाइन्सको टिकटलाई ट्राभल एजेन्टहरूले बढाएर बिक्री गरेको व्यवसायीहरूको भनाइ छ । 

व्यवसायीका अनुसार भारतीय श्रमिकले साउदी अरबका लागि भारतीय १ लाख रुपैयाँसम्म भुक्तानी गरेका छन् । सामान्य अवस्थामा काठमाडौंदेखि साउदी अरबको उडानका लागि २२ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने गरेको व्यवसायीहरू बताउँछन् । तर, लकडाउनको फाइदा उठाउँदै ट्राभल एजेन्टहरूले टिकटमा कालोबजारी गरेको उनीहरूको आरोप छ । सरकारले भारतीय श्रमिकलाई साउदी उडानका लागि अनुमति दिएकै दिन २ हजार ४ सयवटा टिकट बिक्री भएको संघले बताएको छ ।